कान्ती राजमार्गको काम तिब्र गतिमा अघि बढाउँछौँः मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार त्था यातायातमन्त्री प्रकाश ज्वालाले कान्ती राजमार्गलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन सरकारले तिब्र गतिमा काम अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।
शुक्रवार कान्ती राजमार्गको पछिल्लो अवस्थाका बारेमा स्थलगत अवलोकन गर्दै उनले सरकारले संघीय राजधानी काठमाडौं जोड्ने महत्वपूर्ण राजमार्गका रुपमा सडक निर्माणलाई तिब्र गतिमा अघि बढाउने प्रतिवद्धता जनाएका हुन् ।
उनले तिब्र गतिमा सडक निर्माण गर्न नसक्दा वैकल्पिक राजमार्गको रुपमा राम्रोसँग प्रयोग हुन नसकेको स्वीकार गरे । उनले नारायणघाट–मुग्लिन सडक खण्ड अवरुद्ध भइरहने अवस्थामा छोटो दुरीको कान्ती राजमार्ग महत्वपूर्ण सावित हुने बताए । उनले हेटौँडाबाट काठमाडौं पुग्नका लागि ७९ किलोमिटर रहेको राजमार्गलाई सहज बनाउनसके र स्तरोन्नति गर्नसके धेरै नै फलदायी हुने बताए ।
ठेक्कापट्टाका काम छिटो सम्पन्न गर्ने, बजेट सुनिश्चितता गराएर बाँकी ठेक्कापट्टा गर्ने र सडक नियमित सञ्चालन गरी सहज रुपमा यातायातको आवागमन हुने वातावरणका लागि मन्त्रालय लागिपर्ने प्रतिवद्धता जनाए ।
आगामी भदौबाट स्थायी रुपमा नै सहज रुपमा यातायात सञ्चालन हुनेगरी वैकल्पिक राजमार्गको रुपमा प्रयोग गर्ने र दीर्घकालीन रुपमा यातायात सञ्चालन गर्नेगरी अघि बढ्ने बताए ।
उनले भने, ‘कान्ती राजपथ २०१३ सालदेखि शुरु भएको ऐतिहासिक राजमार्ग हो । यो संघीय राजधानी काठमाडौं जोड्ने महत्वपूर्ण राजमार्ग हो । यसको निर्माण जसरी तिब्र रुपमा हुनुपर्दथ्यो, त्यसरी तिब्र रुपमा हुन नसक्दा हामीले वैकल्पिक राजमार्गको रुपमा त्यति राम्रोसँग प्रयोग गर्न सकेका छैनौँ । हाम्रो नारायणघाट–मुग्लिन सडक खण्ड अवरुद्ध भइरहने, पहिरो गइरहने, त्यस्तो अवस्थामा छोटो दुरीको हेटौँडाबाट काठमाडौं पुग्नका लागि ७९ किलोमिटर मात्रै छ, यसलाई सहज बनाउनसके, यसको स्तरोन्नति गर्नसके र यसलाई १२ महिना नै नियमित सञ्चालन गर्ने अवस्थामा पु¥याउनसके धेरै नै फलदायी छ । हामी कान्ती राजपथको अवस्था के छ ? विभिन्न ठाउँमा पहिरोको समस्या छ, यसको रोकथाम कसरी गर्न सकिन्छ त्यसको अनुगमनका लागि आएका हौँ । तत्कालिक रुपमा कहिलेकाहीँ नारायणघाट–मुग्लिन सडकखण्ड बन्द भए साना गाडीहरु यहाँबाट चलाउन सकियोस् भनेर यसका लागि हामी केही दिनभित्रै यो बाटोको सुधार र मर्मतको काम गर्नेछौँ । यो राजमार्गलाई दीर्घकालिन रुपमा ६६ करोडको बजेट सुनिश्चिततालाई अर्थ मन्त्रालयमा पठाइसकेको छ । त्यो फाइललाई समेत अघि बढाउने र विभिन्न ठाउँमा स्लोभ स्टाबिलिटी लगायतका कुरामा हामीले व्यवस्थित गर्नसके नियमित रुपमा चल्नसक्छ । यो काठमाडौंको सहज र छोटो रुपमा यो राजमार्ग हुनसक्छ । ठेक्कापट्टाका काम छिटो सम्पन्न गर्ने, बजेट सुनिश्चितता गराएर बाँकी ठेक्कापट्टा गर्ने र यसलाई नियमित, सहज रुपमा यातायातको आवागमनमा लैजाने गरी लागि पर्नेछौँ । भोलिदेखि नै सक्रियताको साथ यसको मर्मतसम्भारमा लाग्नेछौँ । सम्पूर्ण सडकलाई कालोपत्रे बनाउने काममा अघि बढ्नेछौँ । तत्काल बाटो अवरुद्ध नहुनेगरी हामी यातायात सहज बनाउन मर्मत सम्भारमा लाग्नेछौँ । बाटो अवरुद्ध भए तत्काल खुलाउन मेसिन तयारी रुपमा राखेका छौँ । भदौबाट स्थायी रुपमा नै सहज रुपमा यातायात सञ्चालन हुनेगरी वैकल्पिक राजमार्गको रुपमा प्रयोग गर्ने दीर्घकालीन रुपमा यातायात सञ्चालन गर्नेगरी अघि बढ्नेछौँ ।’
त्यस्तै कान्ती राजमार्ग सडक योजना कार्यालयका योजना प्रमुख सुरेश न्यौपानेले ७९ किलोमिटरको राजमार्गमा अहिलेसम्म लगभग ७ किलोमिटर सडकखण्ड भने कच्ची रहेको बताए ।
उनले त्यसमध्ये २ किलोमिटर सडक ठेक्कापट्टामा गइसकेको र बाँकी ५ किलोमिटरमा पहिरो र चट्टानको समस्या रहेकाले छिटै नै ठेक्कापट्टामा गएर काम अघि बढाउने बताए ।
उनले भने, ‘यो ७९ किलोमिटरको राजमार्गमा आजको मितिमा ७ किलोमिटर कच्ची छ, त्यसमा दुई किलोमिटर ठेक्कापट्टामा गइसकेको छ । वर्षा शुरु भइसकेर केही रोकिएको छ । ५ किलोमिटर चाहीँ, पहिरो क्षेत्र र कडा चट्टानको भूभाग छ, जसमा पहिरो क्षेत्र बाहेक कटिङ बाँकी काम गर्नलाई ८० करोडको लागत अनुमान गरेका छौँ । त्यसको लागि अर्थ मन्त्रालय लगेका छौँ । त्यसका लागि चुनौति छ, आगामी आर्थिक वर्षका लागि २४ करोड छ, त्यसमा केही सहज भए अर्को आ.व.देखि शुरु गर्नसक्छौँ ।’
काठमाडौं उपत्यकालाई तराई मधेससँग जोड्ने पुरानो राजमार्ग भएपनि हालसम्म कान्ती राजमार्ग प्रभावकारी रुपमा सञ्चालन एवं पुनःनिर्माण कार्यले गति लिन सकेको छैन ।
सरकारले सो आयोजनाका लागि सडक चौडा तथा सुधार गरी कालोपत्रमा स्तरोन्नतकिा लागि तीन अर्ब ७८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।
कुल ७९ किलोमिटर लामो सो राजमार्गमध्ये सात किलोमिटर सडकमा पुनःनिर्माण र कालोपत्र गर्न बाँकी छ । त्यसमध्ये पाँच किलोमिटर ललितपुरमा र दुई किलोमिटर मकवानपुरतर्फ स्तरोन्नति गर्न बाँकी छ । कुल ७२ किलोमिटर सडक चौडा तथा सुधार भइसकेको छ ।








