समग्र अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी मौद्रिक नीति आउँछ : गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी आउने बताएका छन् ।
बिहीबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको तर्फबाट आयोजित आगामी मौद्रिक नीति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले राष्ट्र बैंक आफ्नो जिम्मेवारीबाट भाग्न नसक्ने भन्दै मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व, आर्थिक विकासमा केन्द्रित रहने बताए । उनले राष्ट्र बैंकले अहिले मौद्रिक नीतिका लागि सुझाव सङ्कलन गरिरहेको बताए ।
उनले भने ‘सबै उद्यमी व्यवसायीको प्रतिनिधित्व गर्ने संस्थाहरू हुनुहुन्छ, उद्यमी व्यवसायीका पिर, मर्का, अप्ठ्याराहरू एकै किसिमका नै हुनुपर्ने हो । त्यो फरक फरक किसिमले आउँदा हामीलाई पनि समावेश गर्न गाह्रो हुन्थ्यो, तर अहिले एकमुष्ट रूपमा आएका सुझावले कार्यान्वयन गर्न सहज हुनेछ । मौद्रिक नीतिका बारेमा हामी सुझाव नै सङ्कलन गरिरहेका छौँ । यस हिसाबमा हामीले प्रशस्त मात्रामा पृष्ठपोषण पाइरहेका छौँ । संस्थागत, व्यक्तिगत रूपमा पनि सुझावहरू पाइरहेका छौँ । यी सुझाव हाम्रा लागि महत्वपूर्ण र मूल्यवान छन् । राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व, आर्थिक विकासमा केन्द्रित रहन्छ । राष्ट्र बैंकको जिम्मेवारीबाट भाग्न सक्दैनौँ ।’
गभर्नर अधिकारीले मौद्रिक नीतिबारे दिइएका सुझावले राष्ट्र बैंकलाई प्रशस्त मात्रामा पृष्ठपोषण  भइरहेको बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 13 =