कुरिलो खेतीप्रति आकर्षण बढ्दो

गल्याङ । पछिल्लो समय स्याङ्जाका किसान कुरिलो खेतीप्रति आकर्षित हुँदै गएका छन् । औषधीय गुण भएको कुरिलोको बजार मूल्य राम्रो भएपछि यहाँका किसान कुरिलो खेतीतर्फ आकर्षित हुँदै गएका हुन् ।
जिल्लाको पुतलीबजार, भीरकोट, वालिङ, चापकोट र गल्याङ नगरपालिका, फेदिखोला, आँधीखोला, बिरुवा, अर्जुनचौपारी, हरिनास र कालीगण्डकी गाउँपालिकामा कुरिलोको व्यावसायिक तथा निर्वाहमुखी खेती हुँदै आएको छ । यसमध्ये कालीगण्डकी र हरिनासमा कम खेती हुने गरेको छ ।
भीरकोट नगरपालिका–४ गैराथोकका रामचन्द्र रेग्मीले एकवर्ष अघि छायाछेत्र एग्रो एण्ड फार्म हाउस प्रालि दर्ता गरेर कुरिलो खेती सुरु गरेका थिए । उनले खेती अहिले फस्टाउँदै गएको छ । नौ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा कुरिलोसँगै स्टावेरी, मेवालगायत फलफूल पनि लगाउँदै आएका छन् ।
रेग्मीले दैनिक १० किलोभन्दा बढी कुरिलो बिक्री गर्ने गरेको बताए । ‘सिजन अनुसार कुरिलोको मूल्यप्रति किलो तीन सयदेखि तीन हजारसम्म पर्ने गर्दछ’ उनले भने ‘अहिलेसम्म साँढे तीन लाखको कुरिलो बिक्री गरिसकेको छु, अर्को वर्ष सात रोपनीमा खेती विस्तार गर्ने योजना बनाएको छु ।’
रेग्मीले जमिन भाडामा लिएर घेराबार, बिरुवा, बीउ, मल, उपकरणलगायतमा रू ८० लाख बराबर खर्च गरिसकेको जानकारी दिए । ‘चितवनमा साथीले कुरिलो खेतीबाट मनग्ये आम्दानी गरेको देखेपछि यहाँ व्यावसायिक खेती सुरु गरेको छु’ उनले भने ‘उत्पादन राम्रो भइरहेको छ, बजार पनि फराकिलो बन्दै गएकाले अर्को वर्ष दैनिक ४० किलो उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको छु ।’
हाल रेग्मीको फार्ममा सात जनाले दैनिक रोजगारी पाएका छन् । कुरिलोले मात्र काम नपुग्ने भएपछि स्टावेरी, मेवा, उखु, सुन कागती, खरबुजा, स्याउ, बयर, सुकमेललगायत फलफूल परीक्षणका लागि लगाएको रेग्मीको भनाइ थियो । ‘उत्पादनको क्षेत्रमा काम गरेर राज्यलाई योगदान दिनुपर्छ भनेर कृषि कर्ममा लागेको हुँ’ उनले थपे ‘कृषिको विकास र समृद्धिको लागि यन्त्रिकरणमा जोड दिनुपर्छ, कृषियन्त्र चलाउन सक्ने जनशक्तिको अभाव छ ।’
दश जनाले गर्ने काम एकै जनाले गर्न सक्ने प्रविधि भित्रिए मात्र नेपालमा कृषि क्रान्ति सम्भव हुने रेग्मीले जिकिर गरे ।
पुतलीबजार नगरपालिका–१४ की सारदादेवी ढकालले पनि चार वर्षदेखि कुरिलोको व्यावसायिक खेतीगर्दै आएकी छन् । नगरपालिकाले दिएको कुरिलो खेतीसम्बन्धी तालिम लिएपछि व्यावसायिक  खेती सुरु गरेको उनले बताइन् । ढकालले सारदा एकीकृत कृषि फार्म दर्ता गरेर साढे तीन सय बोट कुरिलो हुर्काइरहकी छन् । पहिलो र दोस्रो वर्ष आम्दानी लिन नसके पनि तेस्रो वर्षबाट मनग्ये आम्दानी लिन थालेको उनले बताइन् ।
‘खडेरीका कारण यस वर्ष उत्पादन ढिला भयो, हेरचाह पुराउन सक्दा उत्पादन पनि राम्रो भएको छ’ ढकालले भनिन् ‘स्थानीय बजारमा कुरिलोको महत्त्व नबुझेर अथवा महँगो भएर खासै बिक्री हुँदैन ।’ बजारिकणमा समस्या नभए अर्को वर्ष मकै लगाउन छोडेर कुरिलो खेती विस्तार गर्ने योजना रहेको उनको भनाइ थियो ।
गल्याङ नगरपालिका–७ स्थित मझुवा नमुना कृषि उत्पादन केन्द्रले पनि एक वर्षदेखि कुरिलो खेतीलाई जोड दिँदै आएको छ । केन्द्रले दुई रोपनी क्षेत्रफलमा करिब दुई हजार कुरिलोका बोट लगाएको छ । यस वर्षदेखि उत्पादन लिन सुरु गरिएको केन्द्रका अध्यक्ष ललित थापाले जानकारी दिए । उनले परीक्षणका लागि लगाएको भए पनि उत्पादन राम्रो देखिएकाले खेतीलाई विस्तार गर्दै लैजाने बताइन् । उनका अनुसार केन्द्रले कुरिलोसहित अन्य मौसम अनुसार विभिन्न तरकारीबाली उत्पादन गर्दै आएको छ ।
कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले जिल्लामा व्यावसायिक कुरिलो खेती गर्ने कम भए पनि घरमा खानका लागि कुरिलो लगाउने किसान धेरै भएको बताए । उनले तीन वर्षयता कुरिलो खेती गर्ने किसानको सङ्ख्या जिल्लामा नै बढ्दै गइरहेको बताए ।
‘कुरिलो औषधीय गुण भएको तरकारी भएकाले पछिल्लो समय माग बढेको छ’, प्रमुख हमालले भने ‘व्यावसायिक रूपमा कुरिलो खेती गर्ने किसानलाई कृषि ज्ञान केन्द्रमार्फत सहयोग गर्दै आएका छौँ ।’ नयाँ आर्थिक वर्षमा कुरिलो खेतीप्रति कृषकको आकर्षण बढाउने खालका उत्प्रेरणा मूलक कार्यक्रम गर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =