सुर्तीजन्य सेवनको कुलतले क्यान्सर निम्त्याउँछ : डा. पुरु कोइराला (अन्तर्वार्ता)

राज्यको नीति प्रभावकारी देखिएन 

विराटनगर । सुर्ती जन्य पदार्थहरू चुरोट, बिँडी र सुर्तीजन्य सेवनले हुने हानिको बारेमा कतिपयलाई थाहा नभएपनि धेरैले थाहा पाईपाई यसको प्रयोग गरेको पाइन्छ । कुलतमा परेका व्यक्तिहरूले सहजै सुर्तीजन्य बस्तुको प्रयोगलाई छाड्न सकेको देखिँदैन । सुर्ती तथा सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने हानी, मुटु सम्बन्धी समस्या, छाती दुख्ने, घ्यारघ्यार हुने, दम खोकी तथा क्यान्सर मुख्य हुन्  । हाम्रो समाजमा धूम्रपान धुवाँवाला र धुवाँ नभएको कुलतको लत देखिन्छ । चुरोट, बिडी, सिगरेट र हुक्काहरू भनेको धुवाँवाला कुलत हो । यो जहाँ पनि सहजै पाउने भएकोले यसको प्रयोग बढी देखिन्छ । यो हानिकारक छ यसले हानी गर्छ भन्ने यो सबैलाई थाहा छ । यसको असर, नकारात्मक कुराहरू र गर्ने हानिका विषयमा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका छाती रोग विशेषज्ञ डाक्टर पुरु कोइरालासँग मकालुखबरका लागि प्रदेश संयोजक सुमन सुस्केराले गरेको कुराकानीको सम्पादित अंश :-

फोक्सोको क्यान्सर हुन्छ, हानी हुन्छ भन्दाभन्दै पनि धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन किन हट्न सकेको छैन ?
हामीले प्रयोग गर्ने धूम्रपानले शरीरलाई हानी गर्छ, भनेर राज्यले उत्पादन गर्ने कम्पप्नीहरुको त्यस्ता चुरोटका बट्टाहरूमा हानिकारक फोटोहरू राखिदिएको छ । त्यसरी बाहिर राखिएका फोटामा फोक्सोमा  क्यान्सर लागिसकेको खालका पनि हुन्छन् । यसरी फोटो राख्नुको कारण भनेको धूम्रपानको प्रयोग नहोस् र यसले नागरिकको स्वास्थ्यमा असर नगरोस् भनेर  जनचेतनाको रूपमा राखिएको हुन्छ । शरिरका लागि हानिकारक छ, यसलाई सेवन नगरौँ भनेर पनि  चुरोट, खैनीका बाहिरी भागमा त्यस्ता चिन्हहरू राखिएको हुन्छन् । यो राख्ने काम कम्पनीहरू आफैँले गरेका हुँदैनन् । यो राज्यको नीति अनुसार नै बनाइएका हुन्, तर कानुन अनुसार कार्यान्वयन भएको छ की छैन भन्ने कुरा मुख्य कुरा हो । बट्टाको बाहिरी भागमा क्यान्सर लागेको तस्बिरहरू राखिएको भएपनि त्यसलाई त्यति ध्यान दिएको पाइँदैन  ।  कतिपयले यस्ता तस्बिरहरूलाई त ख्याल नै गरेको पनि देखिँदैन । कतिपयले चैँ  चुरोटका खिल्लीहरू किनेको अवस्थामा यस्ता सन्देश मूलक तस्बिरहरूको बारेमा थाहै पाउँदैनन्  । जसले बट्टा किन्छ उसले यस्तो बट्टाको बाहिरको तस्बिर नै हेर्दैन । त्यस्ता व्यक्तिमा कुलतको समस्या धेरै हुने गरेको छ। एउटा चुरोट कागजमा बेरिएको हुन्छ, फ्याक्टीमा बनाएको हुन्छ । चुरोटमा धेरै केमिकलहरू हालेर सिगरेट बनाएको हुन्छ ।

सरकारको मापदण्ड अनुसारको फिल्टर पनि लगाएको हुन्छ । त्यो पहेँलो रंगको हुन्छ । नीति निर्माताले के भन्यो भन्दा हामीले सेवनमा रोक लगाउन सक्दैनौँ तर सचेतना जगाउने हो भनेको देखिन्छ । सेवन गरेको अवस्थामा भरसक गाह्रो नहोस् भनेर नकारात्मक असर एकदमै कम आयोस् भनेर त्यस्ता खालको उद्योगबाट नै बनाएको हुन्छ । राज्यले  सचेतना जगाउने खालको भएपनि नीति निर्माणमा खासै राम्रो भएको देखिँदैन ।

दैनिक धेरै चुरोट तान्नेहरुपनि त यही समाजमा छन् नि ?
यो भनेको कुलतको समस्या हो, एउटा चुरोटले नपुग्दा दुई वटा पनि लिएको हुन्छन्  । २० वटा सिगरेट पनि लिने मान्छे हामीले पाएका छौँ । हाम्रो दृष्टिकोणबाट एउटा चुरोट सेवन गर्ने र २० वटा चुरोट  सेवन गर्नेमा केही फरक छैन । एउटा चुरोट सेवन गर्दा जति समस्या फोक्सोमा श्वासप्रश्वासमा हुनसक्छ त्यो धेरै खानै पर्दैन  । एउटा चुरोट तान्दा त्यसमा ७ हजार बढी केमिकल मिसिएर आएको हुन्छ । ७० भन्दा बढी क्यान्सर गराउने बस्तु त्यो भित्र रहेको हुन्छ । अब तपाईँले दिनमा कति चुरोट सेवन गर्ने,  कति वर्षदेखि सेवन भईरहेको छ, र त्यो चुरोट सेवन कसरी गर्नु हुन्छ ? भन्ने कुरा भोलीका दिनमा स्वास्थ्य समस्या आउँछ की आउँदैन, क्यान्सर हुन्छ की हुँदैन भन्ने हुन्छ । यसरी गरिने धूम्रपान सेवनले कसैलाई दमको बिरामी हुन्छ । कसैलाई खोकी मात्र लाग्ने बिरामी सुरु हुन्छ । जनचेतना भएको हुँदैन र चुरोटको सेवन चलिरहेकै हुन्छ । कतिपय बिरामी भने क्यान्सरको सङ्क्रमण भइसकेपछि मात्र अस्पताल वा स्वाथ्यकर्मीकोमा जाने गरेको पनि पाएका छौँ । जब त्यस्ता बिरामीहरू उपचारको लागि अस्पताल आउनु हुन्छ अनि मात्र धूम्रपान तथा चुरोटका कारणले गर्दा यस्तो समस्या आएको हो भन्ने थाहा हुन्छ ।

चुरोटमा हामीले भन्यौँ ७ हजार भन्दा धेरै केमिकल हुन्छ । त्यो हामीले धुवाँमा लिन्छौँ । धुवाँ श्वासको नली भित्र जाने भयो । त्यो धुवाँ तपाईँले श्वास नलीमा कतिबेर राख्नु हुन्छ त्यसमा पनि फरक पर्छ। घाँटीमा राखेर निकाल्नु हुन्छ की, धुवाँलाई फोक्सोको नलीमा नै लग्नु हुन्छ । त्यहाँ कति समय राख्नु हुन्छ, १५ सेकेण्ड, २० सेकेण्ड राखेर हावा बाहिर फाल्दै हुनुहुन्छ की ? यसमा चैँ रोग अनुसारको लक्षण सुरु हुन्छ । यदि तपाईँले धुवाँलाई घाँटीमा राखेर मात्र फाल्दै हुनुहुन्छ भने घाँटीको मात्र क्यान्सर सुरु हुने हो । लेरिङ्सको क्यान्सर, भोकलको क्यान्सर हुनसक्छ । मुखमा घाउ कसरी आयो भन्दा यसैगरि धूम्रपानको सेवनले आउने हो ।  अर्को भनेको भित्रैसम्म धुवाँ तानेर फाल्दा फोक्सोको क्यान्सर हुनसक्छ र त्यसले दम खोकी पनि सुरु हुन्छ। यसको असरका बारेमा हामीले जानकारी गराउँदा त्यति धेरै प्रभाव परेको नदेखिएपनि यो अभियान विद्यालय तहका बालबालिकाबाट नै जानुपर्छ ।

जसले धूम्रपान सेवन गर्छ उसको नजिक रहेकाहरूलाई यसको असर कस्तो हुन्छ ?
घरपरिवारमा कोही मान्छे सिगरेट बिँडी खाने हुनुहुन्छ भने उहाँले जुन धुवाँ उडाउनु हुन्छ त्यो बाहिर निस्किएको धुवाँले घरको अन्य परिवारलाई पनि उत्तिकै असर पुर्‍याउने हुन्छ । कोही एउटै कोठामा हुनुहुन्छ, कोही नखाने हुनुहुन्छ, भनेपनि उसलाई कसरी दम,क्यान्सर, खोकीको बिरामी आयो होलाभन्दा तपाईँको घरमा कोही धूम्रपान सेवन गर्ने हुनुहुन्छ भने त्यसैको असरले देखिएको हो । त्यसको धुवाँ सुगेँर र त्यसको सेवनको असरले गर्दा भएको हुनसक्छ ।

धूम्रपानको सेवनले यसको प्रयोगका आधारमा कुन तहसम्म कति असर गर्छ ?
वैज्ञानिक तरिकाले हेर्दा, उहाँले चुरोट बिडी कति समयदेखि खाँदैहुनुहुन्छ । दिनको कतिवटा खाँदैहुनुहुन्छ, त्यसको तथ्याङ्क निकालेर जोखिमको बारेमा हामीले जनचेतनाको रूपमा बिरामीलाई भन्न सक्छौँ । तपाईँले दिनको १० प्याकेट खाँदै हुनुहुन्छ की, दिनको एक प्याकेट खाँदै हुनुहुन्छ या कति वर्षसम्म खाँदैहुनुहुन्छ त्यही अनुसारको जोखिम बढ्दै जानेहुन्छ । यो चुरोट र बिडी सेवनको कुरा भयो । अर्को भनेको धुवाँ विनाको सुर्ती सेवन पनि जोखिमपूर्ण हुन्छ ।

पान परागहरू भयो, भोला भन्नेहुन्छ, गुट्खाका धेरै पदार्थहरु छन् । यिनीहरूको सेवन गर्ने गरिएका विभिन्न खालको हुन्छ । कतिपयले चपाएर खान्छन्, कतिले गिजा र दाँतको बिचमा हाल्छन् । यो सबै तम्बाकुलाई घटाउने र तम्बाकुको निकोटिनलाई लिने भन्ने हुन्छ । निकोटिनलाई सेवन गर्नका लागि विभिन्न पदार्थहरु बनेका हुन् । धुवाँ खाँदा मेरोलागि हानिकारक हुन्छ म पान पराग खान्छु भन्ने एउटाको बुझाई हुन्छ । उ सुपारीजन्य पदार्थहरु तिर जान्छ । चुरोट चैँ मैले छाडे मलाई गाह्रो हुने भयो, तर कुलत चैँ रही रहेकोले कुलतलाई सामान्य राख्नका लागि सेवन गर्ने व्यक्तिहरू भोला वा अर्को कुनै कुलत तिर लाग्छ । यो सेवन गर्दा मलाई केही असर गर्दैन, यसमा कुनै नकारात्मक समस्या नआएकोले मैले गुट्खा, भोला तथा सुर्ती प्रयोग गरेको भन्ने सामाजिक बुझाई कमजोर हो । जनचेतनाको अभावका कारण हानी गर्दैन भनिएको सुर्ती तथा सुर्ती जन्य पदार्थले स्वास्थ्यमा गम्भीर खालका नकारात्मक असरहरू पारेको हुन्छ । यस्ता सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवनले मुखको क्यान्सर, जिब्रोको क्यान्सर उच्च जोखिम हुन्छ । यसबाट गिजा र जिब्रोको बिचमा राखेर गरिने सेवन झन् हानिकारक हुन्छ । गिजा र जिब्रोको बिचमा राखेर सुर्तीको सेवन गरे चुस्दा त्यसको रस सिधै रक्तनलीमा जानेहुन्छ । यसरी रगतको सिस्टममा जाने हुँदा उच्च रक्तचाप, मुटुको बिरामी, मतिष्कघातको जोखिम पनि हुन्छ । यति मात्र हैन, मुख र जिब्रो सम्बन्धी क्यान्सर हुनसक्छ । यसरी सरल रूपमा कुरा गर्दा सुर्ती तथा सुर्तीजन्य पदार्थको नियमित सेवन गर्नु भनेको आफ्नो शरीरमा रोग निम्त्याउनु हो ।

धुवाँ निलेर गरिने र चुनामा सुर्ती मोलेर गरिने धूम्रपानलाई हामीले कसरी लिने ?
दुवै एउटै पदार्थ हो भनेर बुझ्नु पर्छ । आफ्नो बुझाइको समस्या हो । धुवाँजन्य लिँदा मलाई क्यान्सर हुने रहेछ बरु म यो मोलेर खाने वा सुपारी जन्य चपाएर खाने खान्छु, कम हानी हुन्छ राम्रै हुन्छ भन्नु गलत हो । हाम्रो शरीरमा रहेको निकोटिन केही समय घट्दै गएपछि छट्पटिपन सुरु हुन्छ । त्यस्तो अवस्थामा कहाँ ध्यान दिइएको थियो त्यो ध्यान बिग्रँदै गएको हुन्छ । यसरी धूम्रपान गर्ने व्यक्तिको शरीरले ब्रेनको सिग्नल मार्फत निकोटिन भन्ने पदार्थ मागिरहेको हुन्छ । धुवाँ नै उडाउन नदिने ठाउँमा त बरु सुपारी वा  खैनी खान्छु भन्नेपनि हुनसक्छ त्यस्तो भनेको खैनी, चुरोट या भोला गुट्खाका केही फरक छैन । दुवै पद्धार्थको सेवनले जोखिम उत्तिकै हुन्छ  ।

विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा धूम्रपान सेवन गरेर बिरामी भएका व्यक्तिहरू उपचार गर्न आउने दर कस्तो छ ?
हाम्रो अस्पतालमा धूम्रपान गरेर यस्तो समस्या भने भनेर आउने बिरामीको सङ्ख्या धेरै नै छ । क्यान्सर मात्र हैन दम, खोकीका बिरामीको सङ्ख्या धेरै नै छ । हाम्रोमा उपचार गर्नका लागि आउनेहरू मध्ये ७० प्रतिशत ओपिडीमा आउनु भएकाहरूमा छाती, मुख, श्वासप्रश्वासमा समस्या भएको पाएका छौँ । हामीले उपचार गर्दा पत्ता लगाएको दम, खोकी, सिओपिडीका बिरामी छ भनेर के कारणले भयो भनेर त्यसको कारणहरू पत्ता लगाउँदै जाँदा सुर्तीजन्य पदार्थहरु नै भेटिएको छ। कसैले ३० वर्षसम्म खाइरहेको कसैले १० वर्षसम्म खाइरहेको र अरू वातावरणले गर्दा जोखिममा परेको, अरूले चुरोट खाने आफू नखाने, अरूले सेवन गरेको सुँघेर आफै बिरामी भएका बिरामीहरू पनि हामीले भेटेका छौँ । खासमा फोक्सोको क्यान्सर सम्बन्धी बिरामीहरू भने उच्च जोखिममा रहेको छन् । जतिपनि क्यान्सर भएका बिरामी अस्पतालसम्म आउँछन् फोक्सोको क्यान्सर लिएर आउनु भएको छ ।

सुर्तीजन्य पदार्थ सेवनले क्यान्सरका कस्ता लक्षणहरू देखिन्छन् ? 
सुर्तीजन्य पदार्थले शरीरको प्रतिरोधी क्षमतालाई घटाइरहेको हुन्छ । सुर्तीजन्य पदार्थले कुन अंगमा बढी असर गरेको छ त्यो अंगको लक्षणहरू आउँछ । खासगरि श्वास प्रश्वास सम्बन्धी समस्याहरू कसैलाई खोकी मात्र लाग्ने हुन्छ, आवाज आउने गरी खकार निकाल्ने हुन्छ, दम केही पनि नहुने तर खोकी लागिरहने हुन्छ । स्वाँ स्वाँ गर्ने, घ्यार घ्यार गर्ने, क्यान्सर हुन लागेको अवस्थामा सुर्ती तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने जो कोहीमा आलस्यपन हुन र थकान महसुस हुन्छ ।  खकारमा रगत जाने लक्षणहरू आउने, खानाको रुचि भएपनि वजन घट्ने, कसैको आवाजमा परिवर्तन आउनसक्छ । आवाज भासिँदै जानुको कारण भनेको घाउको कारण हो ।

यसको रोकथामका लागि अब के गर्न सकिन्छ ?
यस्ता खालको समस्याको बारेमा जानकारी दिन जनचेतनाका विषयहरू समाजमा लैजानु पर्ने हुन्छ । यस्ता कुरा सामाजिक रूपमा त्यो पनि विद्यालय स्तरका बालबालिकामा लग्न सकियो भने त्यसको प्रभाव हरेक घरसम्म पुग्न सक्छ। बालबालिकामा गरिएका गतिविधिहरू प्रभावकारी हुनसक्छ  । कसैको घरमा धूम्रपान सेवन गर्ने अभिभावक हुनुहुन्छ भने बालबालिका मार्फत खबरदारी गर्ने खालका कामहरू हुनसक्छन्  ।

नियमन तथा नियन्त्रण गर्नको लागि सरकारले के गरेको छ त भन्ने प्रश्नहरुपनि उठ्न सक्छन् । विराटनगर महानगरपालिकाले केही सकारात्मक कामहरू सुरु गरेको पनि छ  । सेवन बाट वञ्चित गराउनभन्दा पनि पसलहरूमा नै नपाउने खालको रणनीति बनाएको कुरा राम्रो हो । अन्तिम उपाय भनेको जसले सेवन गर्छ, उसले जहाँ पाउँछ त्यहीँबाट ल्याएर सेवन गर्छ नै । राज्यले यसलाई प्रतिबन्ध नलगाउँदासम्म यसको सेवन भई नै रहेको हुन्छ । कुलत छुटाउनको लागि रोग नै लाग्नुपर्ने भन्दापनि हामीले जनचेतना राम्रोसँग जगाउन सक्यौँभने सुरुदेखि नै हामीले रोकथाम गर्न सक्छौँ । सुरुबाट नै हामीले यसलाई रोक्न सक्यौँ भने रोगको त कुरा नै आउँदैन नि त ।

सरकारले बनाउने कानुन बलियो बनाउनु पर्छ । सुर्तीजन्य पदार्थको प्रयोग हुने हानी बारेको सचेतना र जानकारी हुँदा हुँदैपनि कुलतको कारण यसलाई छाडेको पाइँदैन । सरकारले प्याकेटमा नै क्यान्सर हुन्छ भन्ने खालका फोटो लगाउँदा पनि सेवनकर्ताको ध्यान गएको देखिँदैन । कतिबेला हुन्छ चुरोट खोलेर तानिहाल्नु पर्ने खालको लत बसेको हामीले पाएका छौँ । कुलतमा फसेका लत लागेकाहरुको लागि थेरापी गरेर जानु पर्छ । १० वटा चुरोट सेवन गर्नेलाई २ वटामा झार्न सकिन्छ, दुईवटा सेवन गर्नेलाई  लत हटाउन सहज हुन्छ । मानसिक रूपमा म सुर्ती चुरोट छाड्छु भन्ने खालको प्रतिबद्धता चाहिन्छ । यदि प्रतिबद्धताले पनि काम गरेन भने औषधीहरु पनि हुन्छन् तर यसकोलागि प्रयोग गरिने औषधी अत्यन्त महँगो हुन्छ । हाम्रो समाजको आर्थिक कमजोरीका कारण हाम्रो समाजमा औषधी किनेर खान सक्ने खालको हुँदैन ।  उपचार गर्न आउनेहरू मध्ये हरेकलाई १५ मिनेट समय दिएर यसका असरको बारेमा बुझाउने हो भने १० जनामा ८ जनाले छाड्न सक्नुहुन्छ । कोही कोही मान्दै नमानेको पनि हामीले पाएका छौँ । कतिपयलाई कुलतबाट हटाउन खोज्दा मान्दै नमानेको अवस्था पनि छ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *