फोहोर व्यवस्थित गर्न नसक्दा सहर अव्यवस्थित भयो : सीता गुरुङ

काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले सहरलाई व्यवस्थित बनाउन नसक्नुको प्रमुख कारण फोहोर व्यवस्थापन रहेको बताएकी छन् ।

बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सहर व्यवस्थित बनाउन सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापन भएको बताएकी हुन् । उनले सहर व्यवस्थित बनाउन नागरिकहरू आफैँ सचेत बन्नुपर्ने बताइन् । उनले स्थानीय तहसँग समन्वयकारी भूमिका निर्वाह हुन नसक्दा पनि सहर व्यवस्थापन चुनौती बनिरहेको बताइन् ।

उनले भनिन् ‘सहर एकदमै राम्रो होस् जहाँ तपाईँहरूले परिकल्पना गरेको भन्दा पनि आहा भन्ने सहर होस् भनेर लागेको छ । तर त्यो सहरलाई व्यवस्थित बनाउन सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापनको भइरहेको छ । हामी सबै जना कुरा गर्दा सहजै गर्छौँ । हामी विदेश जाँदा यहीँ देखि टिस्यु पेपर किनेर, फोहोर भएपछि राख्छौँ तर नेपालमा एयरपोर्टमा आउने बित्तिकै फालेर हिँड्न थाल्छौँ । यसमा नागरिक नै हामी सचेत हुनुपर्छ । स्थानीय तहसँग समन्वयकारी भूमिका निर्वाह हुन सकेको छैन ।’

मन्त्री गुरुङले उद्देश्य र थालनीको तादम्यता नमिल्दा विकास निर्माणका काम पूरा हुन नसकेको बताइन् । उनले अन्तरमन्त्रालयबीचको समन्वय प्रभावकारी बन्न नसकेको स्वीकार गरिन् । उनले अन्तरमन्त्रालय र अन्तर विभागबीचको समन्वय पारस्परिक बन्न नसक्दा विकास निर्माणले गति लिन नसकेको बताइन् ।
उनले भनिन् ‘हामी सबैको समस्या एउटा उद्देश्य अर्को थालनीको परम्परा छ, यसको अन्त्य गर्न नसके पूर्वाधार निर्माण गर्न सकिँदैन । भौतिक, खानेपानी, सहरी विकास, भूमि व्यवस्थापन लगायतका विभिन्न मन्त्रालयसँग सम्बन्धित हुन्छ, एकले अर्को मन्त्रालयसँग समन्वय गर्न नसक्दा विकास निर्माणका काम हुन सकेका छैनन् । काम गर्ने कुरामा एकले अर्को मन्त्रालय र विभागसँगको समन्वय, सहयोग पारस्परिक छैन । यसमा सुधार गरेर जानुपर्छ । यी मन्त्रालय र विभागमा तत्काल समस्याको समाधान गर्ने संयन्त्र अवधारणा बनाउनुपर्छ ।’

मन्त्री गुरुङले अन्तरमन्त्रालय समन्वयका लागि तत्काल समस्या समाधान गर्ने संयन्त्र बनाउन जरुरी रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *