मकालु फिचर

कुकुरसँगै ६३ जिल्ला घुमिसकेका कुशल भन्छन्– ‘ऊ नभए मेरो संसार रित्तिन्छ’

कोरोनाले काठमाडौँ सहर सुनसान थियो । कुशल बिष्ट घरैमा थन्किएका थिए ।

भारतमा फेसन फोटोग्राफीको डिप्लोमा गरी नेपालमा बेडिङ, इभेन्ट र ट्राभल फोटोग्राफी गर्दै आइरहेका उनको व्यवसायलाई कोभिडले ठप्प पारिदिएको थियो । सबै एक–अर्कासँग त्रसित भइरहेका बेला तत्कालै व्यवसाय सुरु हुने आशा थिएन ।

उनी व्यवसायबाहेक नियमित यात्रा पनि गर्थे । एकपल्ट ‘इन्टु द वाइल्ड’ फिल्म हेरेपछि त्यसको चरित्रले गरेको बेपर्बाह यात्राबाट प्रभावित बनेका थिए । सन् २००७ तिरको कुरा हो यो । उनी त्यसपछि घुम्न निस्किएका थिए । एक्लै । अन्नपूर्ण पदमार्ग उनको गन्तव्य बनेको थियो ।

एउटा गन्तव्यले अर्को गन्तव्यलाई बोलाए थिए । उनी निरन्तर यात्रा गरिरहे । सन् २०१२ सम्ममा लगभग पूरै नेपाल घुमिसकेका थिए । बेलाबेला समय मिलेसम्म निस्किरहेका थिए । कतिपल्ट गइसकेका ठाउँ दोहोर्‍याइरहेका थिए ।

कोभिड नियन्त्रणका लागि गरिएको लकडाउनले उनको यात्राको रफ्तारलाई पनि रोकिदिएको थियो । आफ्नै घरका सदस्यसँग पनि डराउनुपर्ने कहाली लाग्दो समयले उनको दुवै विकल्पमा ब्रेक लगाइदिएको थियो ।

क्यामेरासँग काम गरिरहने अनि यात्रा गरिरहने एउटा रचनात्मक मान्छेको दैनिकी ठ्याक्क रोकियो भने के हुन्छ ? केही गर्न नपाउँदाको आन्तरिक पीडाले उनलाई भित्रभित्रै खाइरहेको थियो । अनिश्चयको बादल आँखैअगाडि थियो । उही एक्लोपन्, उही मौनता, अनि उही घुटन ।

त्यसबाट निक्लने एउटै विकल्प थियो– बाहिरी संसारमा पुग्नु ।

लकडाउनको एक महिना पछितिर उनी घरबाहिर निस्किए । प्रेस पास र क्यामेरा साथमा थियो । बाहिरको हावा फरक त थियो तर बिरानो लाग्थ्यो । सडक निदाएको थियो । पर परसम्म पनि अरू बेलाको चलायमान शहरको नामोनिसाना थिएन ।

अवस्था यस्तो थियो कि उनलाई प्यास लाग्दा पानी किन्ने ठाउँ पनि थिएन ।

घर आयो फेरि उही कोठा । उही चार भित्ता । दिउँसोभर अन्तै हराएको डर फर्किएर आउने घर । उनलाई कोही साथी भए हुन्थ्यो जस्तो भयो । तर त्यस्तो अवस्थामा को साथी भइदेला ?

उनी ट्राभल भिडियोहरू हेर्न थाले । कुकुरसँग फोटो वा भिडियो बनाएका यात्रीहरू देखे ।

एक दिन सोचे ‘यति बेला एउटा कुकुर भयो भने सायद सजिलो हुन्छ ।’

उनले कुकुरबारे रिसर्च गरे । त्यसले के के फाइदा पुर्‍याउन सक्छ खोजे । ती फाइदामा उनलाई चाहिएको जस्तो साथ दिने भन्ने पनि थियो । तनाव भोगिरहेको उनको जस्तो जीवनलाई आवश्यक मोटिभेसन कुकुरले प्रदान गर्ने भन्ने पनि थियो ।

उनले मनमनै सोचे ‘मलाई यो अवस्थाबाट यदि कसैले निकाल्छ भने अब कुकुरले निकाल्छ ।’

‘म कुकुर किन्छु ।’

उनलाई साइबेरियन हस्की जातको कुकुर खुब मन परेको थियो ।

त्यसैलाई किन्न खोजी सुरु भयो । उनले फोन घुमाए । चिनाजानेका मान्छेसँग भनसुन गरे ।

खोज्दै गर्दा एउटा साथीले कुकुर भेट्टाइदिए । लैजाने बन्दोबस्त गरेर लिन आइज भनेर बोलाए । उनी हतासिँदै पुगे । दुई महिना मात्र पुगेको हस्की कुकुरको बच्चालाई देखे । कुकुर ठिकै थियो तर त्यसको सुन्दर आँखा मनैमा बस्यो ।

‘यसको कति पर्छ ?’

उनीसँग त्यतिबेला धेरै पैसा थिएन । कुकुरको दाम उनीसँग त्यो बेला भएजति रकमको छेउछाउ आयो । तर धेरै समय पेट्रोल हाल्ने पैसा समेत नहुने भयो । तै पनि लोभ गरेनन् । पैसा बुझाएर कुकुर घर लिएर आए ।

कोभिडको समयमा किनेको भएर कुकुरको नाम ‘कोभिड’ राखे ।

उनलाई पहिला कुकुर खासै मनपर्दैनथ्यो ।

कुकुर पालेको घरमा भात खान पनि अप्ठ्यारो मान्थे । तर त्यसबेला परिस्थिति फरक भएकाले जे हुन्छ हुन्छ सोचेर ल्याए । कुकुरलाई आफूले भनेको बुझ्ने गरी तालिम दिने अनि सँगै लिएर हिँड्ने योजना बनाए ।

तर सोचेको जस्तो भएन । कुकुरले उनले सोचेको भन्दा फोहोर गर्‍यो । भुक्न पनि असाध्यै भुक्यो । अरू कुकुरभन्दा फरक तरिकाले भुक्ने भएकाले छिमेकीहरूले पनि ‘के पाल्नुभएको छ तपाईँले’ भनी भ्याए । कुकुरले उनले भनेको पनि बुझिहालेन ।

उनलाई आफूले कुकुर किन्ने निर्णय गलत भएको जस्तो लाग्यो ।

उनले कोभिड फर्काउने निर्णय लिए । साथीलाई म्यासेज गरे र भने ‘म यसलाई पाल्न सक्दिनँ । फर्काइदिन्छु ।’

भोलिपल्ट कोभिडलाई फिर्ता गर्न भनेर साथीको घर पुगे । तर जाँदै गर्दा बाटोमा माया लाग्यो । केहीदिन सहेको भए सिकिहाल्थ्यो कि जस्तो भयो । त्यस्तो अठोट र इच्छाले ल्याएको कुकुर । मनले तर्कना गर्‍यो ।

उनलाई कुकुर ल्याउने कुरा गर्दा धेरैले ‘तँ कुकुर पाल्न सक्दैनस्’ भनेर भनेका थिए ।

उनको जीवनको लय व्यवस्थित थिएन । कहिले कहाँ कहिले कहाँ पुगिरहेका हुन्थे । बस्ने खाने टुङ्गो थिएन । त्यसैले पनि कुकुर ल्याएर कसरी पाल्ला भन्ने सबैले सोचेका थिए । उनीहरू उनलाई जिस्काउँदै भन्थे ‘आफूलाई त गतिलोगरी पालेको छैन ।’

उनले किन्नुभन्दा पहिला गरेको अनुसन्धानमा कुकुरले मानिसको नकारात्मक विचारलाई हटाउने मात्र नभई, बाहिरी नकारात्मक ऊर्जालाई पनि रोक्ने काम गर्छ भनी पढेका थिए ।

बिस्तारै त्यो कुरा पुग्दै जान थाल्यो । कुकुरले उनको नराम्रो बानीलाई पनि तह लगाइदिन थाल्यो । उनी कुकरकै लागि बिहान चाँडो उठ्न थाले । उसकै लागि आफ्नो सेड्युअललाई पनि यताउता पार्न थाले ।

कुकरले माया गरेको बुझ्छ । माया पनि उस्तै गरी फर्काउँछ । कोभिडले पनि उनले गरेको माया फर्कायो । उनको जीवनमा आएपछि कोभिडले उनको सबै डर र नकारात्मक सोचहरू पनि मेटाइदियो ।

उनीहरू अझै घुलमिल हुँदै गए । एक अर्काको कुरा अझै बुझ्न थाले । सँगै हिँड्न थाले । बानेश्वरका  गल्ली गल्ली उनको चालमा कोभिडलाई हिँडाउन थाले ।

लकडाउन थोरै खुकुलियो । उनीहरूको हिँड्ने अभ्यास पनि पूरा भयो । कोभिड ल्याएको पनि सात महिना भइसकेको थियो । उनीहरू पहिलो यात्राको तयारीमा लागे ।

९ महिनाको कुकुर लिएर जाने गन्तव्य रोजे बाजुराको बडीमालिका ।

एउटा जिप लिए । त्यहाँ बाइक र ट्रेकिङका सामान हाले । अनि उनकै भाषामा ‘बाबा–छोरा’ बाजुरातिर हान्निए ।

बाजुराको सदरमुकाम मार्तडीबाट तीनदेखि चार दिनसम्मको पैदल यात्रापछि उनीहरू ४४०० मिटर उचाइको बडीमालिका पुगे ।

बडीमालिका जाने बाटोमा

कोभिडको पहिले यात्रा भएकोले कुशलको मनमा अलिक डर पनि थियो । हस्की जातको कुकुर उचाइमा नै बस्ने भए पनि लामो यात्राको धपेडीलाई कोभिडले कसरी सहन्छ भन्नेमा शंका थियो । कतै बाटोमा केही भइहाल्ने हो कि भन्ने त्रास पनि थियो ।

तर यात्राभरि कोभिडको ऊर्जा देखेर उनी दङ्ग परे । उसको ऊर्जाको कुनै सीमा थिएन । ऊ उनीभन्दा धेरै रमायो । बरु उल्टै अघिअघि लागेर उनलाई पछ्याउने बनाइरह्यो । उनको थकानलाई ऊर्जा बनाइरह्यो ।

यात्रामा एउटा मात्र हैन धेरै ठुलो समस्या र सङ्कटमा बचायो ।

एउटा घटना उनी अझै पनि सम्झिन्छन् । बडीमालिकाबाट फर्किँदै गर्दा उनीहरूले बाटो हराए । बाटो देखाइदिन्छु भन्ने भाइले पनि बाटो देखाउन सकेनन् । जंगलको बाटो । रात छिप्पिइसकेको । उनीहरू ओरालो झर्दा झर्दा विशाल झरनाको छेउ पुगेछन् । धन्न कोभिडले बाटो देखायो र उनीहरू सकुशल फर्किन पाए ।

कोभिडसँग यात्रा गर्दा त्यसैले पनि उनलाई अर्कै तरिकाले सुरक्षित भएको महसुस हुन्छ ।

उनले त्यो यात्रामा धेरै नयाँ अनुभव बटुले । मान्छेसँग हिँड्नुभन्दा कुकुरसँग हिँड्नुको मजालाई महसुस गरे । उसले कतै पनि हतार गरेन । उसले आफ्नो तरिकाले यात्राको मजा बटुल्यो । उनलाई आफ्नो तरिकाले यात्रालाई महसुस गर्न दियो ।

कोभिडसँग फोटो खिच्दा उनलाई आफ्नो नजिकको मान्छेसँग फोटो खिचिरहेको छु जस्तै भयो । उसको छेउमा बस्दैमा पनि आफू सुन्दर भइरहेको छु जस्तो लाग्यो ।

बडीमालिकाबाट फर्किएको सात दिनपछि उनीहरूले तिलिचो तालको यात्रा गरे ।

४९१९ मिटरको उचाइमा ताल भएकाले त्यो यात्रा पनि चुनौतीपूर्ण नै थियो । उनले गाडीमा हालेर कुकुरलाई लगेको देखेर धेरै मान्छेहरूले हाँस्दै हेरे । जजसले उसलाई हेरे सबै मुस्कुराए । मनाङ गाउँमा केहीदिन बस्दा कोभिड सबैको प्यारो भैसकेको थियो ।

‘यो कुकुर त यतै छोडेर जानु ।’ मान्छेहरू उनलाई जिस्काए पनि ।

‘मलाई पनि कुकुर पाल्न राख्ने भए हुन्छ’ उनले पनि ठट्टा फर्काए ।

कुकुरको कारण मानिसहरूसँग उनले गर्ने कुराकानी पनि फरक भएको छ ।

सबैले कोभिडलाई कुकुर, कुकुर भन्छन् । तर उनको लागि कोभिड कुकुर मात्र हैन । उनकै शब्दमा भन्ने हो भने उनी कोभिडलाई एउटा अर्को कुशल बनाउन चाहन्थे । अहिलेसम्मको सहकार्यमा त्यसको नजिकै पुगेको जस्तो उनलाई लाग्छ ।

पहिला पहिला उनको कारण कोभिडलाई चिन्नेहरू थिए । उनको इन्स्टाग्राममा गर्ने फलोअर्सहरू उनको कन्टेन्टमा ध्यान दिन्थे ।

बडीमालिकाको त्रिवेणी

अहिले कुशल विष्टभन्दा विरलैले चिन्लान् तर कोभिडको हजारै शुभचिन्तक छन् । इन्स्टाग्राममा उनी एक्लैको फोटो र भिडियो हाले भने ‘कोभिड खै त दाइ’ भन्दै कमेन्ट र म्यासेज आउन थालिहाल्छ । उनी मात्र हैन उनलाई पछ्याउनेहरू पनि कुकुरसँग नजिकिएका छन् ।

कतिले त ‘कोभिड गएको ठाउँमा म पनि गएँ नि’ भन्दै म्यासेज पनि गर्छन् । आफ्नो यात्रामार्फत अरूलाई पनि घुम्ने प्रेरणा दिन सकेकोमा उनलाई खुसी लाग्छ ।

अहिले उनले कोभिडलाई घुमाउनेभन्दा नि कोभिडले उनलाई घुमाइरहेको छ । उनले कुनै बेला अब सकिँदैन भनेर हार मान्न खोज्दा कोभिडले नै उनलाई डोर्याउँछ । त्यही कारणले उनीहरूको नयाँ नयाँ यात्रा सफल भइरहेको छ । कुशल भन्छन्, ‘सबैले यो मान्छेले कुकुर लाई कहाँ(कहाँ लग्यो भन्छन् तर वास्तवमा कोभिडले चाहिँ मलाई यहाँसम्म ल्याएको हो भन्ने महसुस तिलिचो जाँदा मलाई भयो ।’

तिलिचोपछि कोभिडको मकालु बेस क्याम्पको यात्रा थियो । मकालु हिमाल धेरै राम्रो ठाउँ भएतापनि भौतिक पूर्वाधार धेरै छैन भन्ने उनले सुनेका थिए । चार वर्ष अगाडिदेखि त्यहाँ जाने योजना उनले बनाएका थिए । तर यात्रा सहज नहुने भएकाले आँट भने गर्न सकेका थिएनन् ।

कोभिडलाई पनि साथमा लग्ने अनि राम्रो राम्रो भिडियो बनाउने योजनासहित उनीहरूको यात्रा सुरु भयो । यात्रा गरेको दुई दिनपछि फोनमा नेटवर्क आउन छोड्यो । फोन चार्ज पनि गर्न नसकिने बिकट ठाउँमा पुग्दा उनलाई डर लाग्न थाल्यो । त्यो बेलाको डर पनि कोभिडले नै टारिदियो ।

पाँच घण्टाको उकाली र ओरालीको बाटो अनि त्योमाथि अरुण नदी किनारको गर्मीले गर्दा कोभिड पनि थकित भइसकेको थियो । कोभिडले नै हार मानेपछि ‘ल अब सकिँदैन’ भनेर फर्किने तयारी उनी गर्दै थिए । तर त्यही समयमा एक बुढा बाजेले, ‘अबको चारदेखि पाँच घण्टामा चिसो ठाउँ आउँछ, यत्रो दुख खेर नफाल्नु’ भनिदिए । उनीहरू फेरि निरन्तर उकालो चढ्न लागे । जति जति माथि चढ्यो उति चिसो हुन थाल्यो । कोभिड पनि रमाउन लाग्यो ।

त्यसरी हार मानिसकेको मकालुको यात्रा पनि अन्तस्त सफल गरेरै छाडे ।

मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्ने शिवधारा जाने बाटोमा

कोभिडसँग लामो समय सँगै बिताएका कुशले मानव र जनावरबिचको सम्बन्धलाई फरक तरिकाले बुझेका छन् । उनको बिचारमा घरपालुवा जनावरहरूले मानव जीवनमा स्थिरता प्रदान गर्दछ । विनाकुनै स्वार्थ साथ दिन्छ । कतै पनि अल्छी नमानी पर्खिन्छ ।

जब उनी कोभिडसँग घुम्न जान्छु तब उ ठाउँमा पुगेपछि खेल्न थाल्छ । घरी पानी पिउन लाग्छ त घरी किराहरू खोज्न थाल्छ । यता उता कुदेर उसले गरेको रमाइलो हेर्दै उनी पनि प्रकृतिसँग भिज्न थाल्छन् । त्यो नहुने हो त उनी केहीबेर गन्तव्य हेरेर मात्रै फर्किन्थे होलान् । वा कोही अर्को साथीले हतार गरेर उठिहाल्नुपर्थ्यो होला ।

कोभिडले उनलाई आफ्नो मनले चाहेजस्तो सजिलो साथी दिएको छ । उनी स्वयंलाई फरक तरिकाले बुझ्न मद्दत गरिरहेको छ ।

कुशल भन्छन्– ‘योसँग सङ्गत गर्न थालेपछि म पनि असल भएको छु ।’

घरमा जनावर पालेपछि त्यसलाई हुर्काउने तरिकाले मान्छे कस्तो हो पनि छर्लङ्ग पारिदिन्छ । मान्छे जस्तो छ उसले पालेको जवावर पनि उ जस्तै बन्दै जान्छ । यो कुरा कुशलले अझै बुझेका छन् ।

उनको पहिला जीवन धेरै अस्तव्यस्त थियो । कोभिड आएपछि उनकै लागि पनि बिहानै उठेर शङ्खमूल पार्क जाने गरेका छन् । उसलाई खुवाउँदा, उसलाई सरसफाइ गर्दा उनको पनि सेड्युअल सुध्रिएको छ ।

अनि जनावरलाई गर्ने मायाको उचाइ नै अर्कै बनाइदिएको छ ।

पृष्ठभूमिमा रारा ताल

कोभिडसँग हिमालदेखि पहाड सबै घुमिसकेपछिको कुरा हो । उनले कोभिडलाई गर्मी महिनामा आफ्नो घर सुनसरी लगेका थिए ।

त्यहाँ गएको केही दिन त घरमा रौनक आयो । घरमा अर्को पनि कुकर भएकाले कोभिड पनि खुसी थियो । तर केही दिनपछि सेलाउँदै गयो । त्यस्तो फुर्तिलो उसलाई अकस्मात् झोक्राएको देखेर घरपरिवार चकित थिए । पानी र खाना केही नखाई सुतेको सुत्यै गर्न लाग्यो।

सात दिनपछि त आँखा नै खोलेन । कुशलले आत्तिँदै डाक्टरलाई फोन गरे ।

‘कोभिडलाई गर्मीले गाह्रो गरेको हो, सकेसम्म चाँडोभन्दा चाँडो काठमाडौँ लिएर आउनु भएमा मात्रै बाच्ने सम्भावना छ, नभए भन्न सकिँदैन ।’ डाक्टरले त्यस्तो भन्नासाथ रातारात काठमाडौँ लिएर आए ।  अस्पताल भर्ना गरे । डाक्टरको रेखदेखमा तीन दिनसम्म राखेर स्लाइन पानी दिँदा पनि होस आएन ।

कुशल असहाय भए । उनको हरेक प्रयास असफल हुँदै थियो । कोभिड कहिले कुदेर अङ्गालो हाल्ला भनेर उसको नजिकै नै बसेर पर्खिरहे ।

पाँच दिनको दिन कोभिडले आँखा खोल्यो । कुशलको पनि सास फर्कियो ।

त्यो बेला उनलाई थाहा भयो ‘यो भएन भने म के गर्छु होला भनेर कल्पना पनि गर्न नसक्ने रहेछु ।’

अहिले पनि त्यो कुरा सोच्यो भने उनको मन चिसो हुन्छ ।

किनभने कोभिड नै उनको संसार हो ।

‘मसँग कोही नभए पनि कोभिड त छ भन्ने सोचेर मात्रै पनि बेलाबेला मलाई रुन आउँछ,’ कुशल भावुक भए ।

कुशलले कोभिडसँग लागेर अहिले सम्म ६३ वटा जिल्लाको भ्रमण गरिसकेका छन् । रारा देखि खप्तड हुँदै तिलिचो, ढोरपाटन, बाटोमा पर्ने अनगिन्ती ठाउँ पुगिसकेका छन् । सयौँ नदी र झरनाको पानी कोभिडले खाइसकेको छ ।

‘यदि यो कुकर भएन भने के हुन्छ ?’

यो प्रश्नको जवाफ उनले सोचेका नै रहेनछन् । हामीसँगको कुराकानी टुङ्ग्याउने बेला यति मात्र भने,

‘ऊ नभए मेरो संसार रित्तिन्छ ।’

खप्डत जाने बाटोमा
ढोरपाटनको पाटन
तीनजुरे मिल्केमा
ढोरपाटन जाने बाटोमा
ढोरपाटनमा
मुग्लिङको लामोझरनामा

सबै फोटोः कुशलको कलेक्सन

 

 

प्रतिक्रिया

One thought on “कुकुरसँगै ६३ जिल्ला घुमिसकेका कुशल भन्छन्– ‘ऊ नभए मेरो संसार रित्तिन्छ’

  1. पशु भनेर के गर्ने एकाघरको भएपछि सवैलाई सवैको माया हुन्छ, प्रेम हुन्छ पशुलाई समेत आफ्नो मालिक नहुँदा त्यतिनै पीडा हुन्छ त्यति नै निस्ताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *