शुक्लाफाँटा आरक्ष पीडितलाई व्यवस्थापन गरियोस् : सांसद महरा

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद महेशकुमार महराले कञ्चनपुरको शुक्लाफाँटा आरक्ष पीडितहरूको उचित व्यवस्थापन गर्न माग गरेका छन् ।
मङ्गलवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले कञ्चनपुरको शुक्लाफाँटा आरक्षबाट २०५८ सालमा त्यहाँका नागरिकहरूलाई निकालिएको भएपनि हालसम्म उचित व्यवस्थापन नगरिएको बताए । उनले विस्थापित आरक्ष पीडितहरूलाई व्यवस्थित गर्न माग गरे । आरक्ष पीडितहरू हालसम्म शिविर, जङ्गल र नदीका किनारामा बस्न बाध्य भएको भन्दै उनीहरूलाई जमिन दिएर व्यवस्थापन गर्नुपर्ने उनले बताए । आफ्नो जमिन आरक्षलाई छोडेको भएपनि त्यहाँका नागरिकलाई हालसम्म मुआब्जा नदिइएको उनको भनाई छ ।
उनले भने ‘सुदूरपश्चिम जिल्लाको कञ्चनपुर जिल्लाको शुक्लाफाँटा आरक्ष भित्र आरक्ष पीडित छन् । २०५८ सालमा नागरिकलाई सूचना बिना हटाइयो र मुआब्जा पनि दिइएन । विस्थापित आरक्ष पीडितहरूलाई व्यवस्थित गरियोस् । आरक्ष पीडितहरू २२ वर्षदेखि शिविर, जङ्गल र नदीका किनारमा बसिरहेका छन् । ती सुकुम्वासी होइनन् । तिनले आफ्नो भएको जमिन नेपाल सरकारलाई बुझाए तर उनीहरूलाई सट्टा जमिन दिएन । शिविरमा बस्न बाध्य बनाएको छ । आरक्ष पीडितलाई जमिनको साटो जमिन दिएर व्यवस्थित गर्नुपर्छ । यो सरकारले बुझ्नुपर्छ । ३२ वटा आयोग बन्दा पनि समस्या समाधान भएन । आरक्ष पीडितलाई राजनीतिक रूपमा लियो । राजनीतिक दलहरूले राजनीति गर्ने थलोको रूपमा लियो राजनीतिक दलहरूले तर यस पटक म भन्न चाहन्छु अब राजनीति गर्ने थलोको रूपमा होइन । उहाँहरूको वास्तविक पीडा बुझेर न्याय दिनुपर्छ म जोडदार सरकारको ध्यानाकर्षण गराउँदछु ।’
उनले बजेटमा भूमिहीनलाई कसरी र कहाँ जग्गा दिने भन्ने उल्लेख नगरिएको बताए । त्यस्तै बजेट सङ्घीयताको पक्षमा नरहेको उल्लेख गरे ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *