ललिता निवास जग्गा कीर्ते प्रकरणको पुरानो प्रतिवेदन डिसमिस

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सोमबारसम्म ९ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले यस प्रकरणमा नयाँ शिराबाट अनुसन्धान सुरु गरेको छ ।

नयाँ अनुसन्धान सुरु भएसँगै पुरानो अनुसन्धान स्वतः ढिसमिस भएको छ । सीआईबीका एसएसपी दिनेश आचार्यका अनुसार यही प्रकरणमा सीआईबीले ३ वर्ष लगाएर गरेको अनुसन्धान प्रतिवेदन २०७८ पुस २२ गते सरकारी वकिल कार्यालयमा बुझाएको थियो । उक्त अनुसन्धान पूरा नभएको र विभिन्न विषयमा पुनः अनुसन्धान गर्ने भन्दै १७ बुँदे निर्देशनसहित सरकारी वकिल कार्यालयले पुस २६ प्रतिवेदन सीआईबीमै फिर्ता पठाएको थियो ।

एसएसपी आचार्य भन्छन्, ‘अहिलेको अनुसन्धान नयाँ शिराबाट सुरु भएको छ । आरोपीहरू पक्राउ गर्ने, उनीहरूको बयान लिने र यसप्रकरणमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउनेलगायतका कार्य सुरु भएको छ । पुराना प्रतिवेदनमा भएका प्रमाणहरू हामीले मुद्दाको अनुसन्धानका क्रममा लिने गर्छौं । तर, अनुसन्धान नयाँ ढंगमा केन्द्रित हुनेछ ।’

ललिता निवास प्रकरणको अघिल्लो अनुसन्धानको क्रममा सीआईबीले आरोपित शोभाकान्त ढकाल र राजकुमार सुवेदीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो। अन्य आरोपीहरू फरार थिए । अहिलेको अनुसन्धान भाटभटेनीका अध्यक्ष व्यवसायी मीनबहादुर गुरुङसहित एकैदिन ७ जनालाई पक्राउ गरी सुरु गरेको छ ।

सोमबार मात्रै सीआईबीले २ जनालाई पक्राउ गरेको छ । समरगन्ज कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही बनेका देवनारायण महर्जन काठमाडौंबाट पक्राउ परेका हुन् । यस्तै आइतबार यही प्रकरणमा थप ३ जना पक्राउ परेका थिए । नक्कली मोही बाबुराजा महर्जन, नापी कार्यालयका तत्कालीन कर्मचारी घमनकुमार कार्की र तत्कालीन वडासचिव शिवजी भट्टराई प्रहरी नियन्त्रणमा छन् ।

सीआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार लामो समयदेखि सीआईबीले अनुसन्धान गरिरहेको यो मुद्दाका दोषीलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ पनि छन् । पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र गोपाल कार्की छन् ।

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले पुरानो प्रतिवेदनमा धेरै कुरा अपुग भएकाले अनुसन्धान नयाँ ढंगले सुरु गर्नुपरेको जानकारी दिइन् । -अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *