भारतबाट घटेर आयो ग्यासको मूल्य, आयल निगम घाटामुक्त

खाना पकाउने एलपिजी ग्यासको मूल्य भारतबाट घटेर आएको छ।
इन्डियन आयल कर्पोरेसन आइओसीले नयाँ मूल्य सूचीमा प्रतिसिलिन्डर एक सय ६१ रूपैयाँ घटाएर पठाएको नेपाल आयल निगमले जनाएको छ।
नयाँ मूल्य सँगै ग्यासमा भइरहेको घाटाबाट मुक्त भएको पनि निगमले जनाएको छ। यस अघिसम्म निगमलाई ग्यासमा प्रतिसिलिन्डर एक सय ६० रूपैयाँ घाटा थियो।
आइओसीले पेट्रोल र मट्टीतेलमा पनि क्रमशः प्रतिलिटर १४ पैसा र प्रतिलिटर ५ पैसा घटाएर पठाएको छ।
त्यस्तै, डिजेलमा प्रतिलिटर दुई रूपैयाँ १६ पैसा र हवाई इन्धनमा ५७ पैसा बढाएर पठाएको छ।
नयाँ मूल्यअनुसार पन्ध्र दिनमा एक अर्ब ६० करोड रूपैयाँ नाफा हुने नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताए।
नेपाल आयल निगमले आइओसीसँग पेट्रोलियम पदार्थ किनेर यहाँ बिक्री वितरण गर्छ। आइओसीलाई नेपाल आयल निगमलाई पत्येक १५–१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य पठाउँछ।








