मकालु ब्लग

तामाङको पनि यस्तो नाम हुन्छ ?

केहिदिनदेखि सोलुखुम्बुको नाम्चे बजारमा अन्धकार थियो । आकाशबाट फुसफुसे हिउँ बर्सिरहेका थिए । चिसो अत्यधिक बढेकाले मानिसहरू घरबाट बाहिर निस्कँदैनथे । आलुको तातो सुप र मकलको न्यानो आगो तापेर उनीहरू आफूलाई जीवित राखेका थिए ।

उता मेरी आमा एक्लै हिउँसँग लड्दै थिइन् । उनी सगरमाथाको उचाइमा पुग्न केही कदम मात्र बाँकी थियो । बिस्तारै मौसम र आफ्नै शरीर उनका लागि भारी हुँदै थियो । उनले आफ्नो थकित पाइलाहरूलाई एकपछि एक गर्दै अघि बढाई रहिन् । नभन्दै उनी सगरमाथाको उचाइमा पुगिन् । त्यही उचाइमा मेरो जन्म भयो । आमाले सगरमाथाको उचाइमा पुगेर मेरो नाम तेन्जिङ डोल्मा राखिदिइन् । हो, यस्तै अनुमान मेरो नाम पहिलोपटक सुनेका व्यक्तिहरूले लगाउँछन् । उनीहरू मेरो नाममा हिमाल र हिउँको कल्पना गर्छन् । तेन्जिङ नोर्गेको साहसिलो इतिहास देख्छन् क्यारे ।

‘तिमी शेर्पा हो ?’

‘होइन । तामाङ हो ।’

‘तिम्रो नाम त शेर्पाको जस्तै छ त । तामाङको पनि यस्तो नाम हुन्छ ?’

अक्सर मेरो नामलाई लिएर मानिसहरू यस्तै प्रश्न गर्नेगर्छन् । तर मेरो नामसँग जोडिएको ऊनीहरूको कल्पना एकदमै भिन्न छ । मेरो नाउँ हिउँ र हिमालभन्दा केही पर छ । धेरै पर ।

तामाङ जातिले तिब्बती भाषा परिवार अन्तर्गतको हिमाली भाषा बोल्ने भएकाले हिमाली नामहरू नै राख्छन् । त्यसकारण अन्य परिवेशमा भए पनि तामाङ संस्कारबाट राखिएका नामहरू हिमाली परिवेशका नै हुन्छन् ।

तेन्जिङ डोल्मा पनि हिमाली परिवेश कै नाम हो । मेरो नाममा हिमालको परिचय होला तर म आफै हिमालहरूबाट अपरिचित थिए । हिमालहरू मेरालागि एकादेशको कथा र रातमा आउने मिठो सपना मात्र हो जस्तो लाग्थ्यो ।

प्लस टु बाट कलेजले कालिन्चोक लादा मैले पहिलोपल्ट हिमालको दर्शन गरेको थिए । हिउँको स्पर्श गरेकी थिए । हिउँको स्पर्शले म रोमाञ्चक बन्दै थिए । हिउँ पनि मेरो छुवाइबाट पग्लँदै थियो । यद्यपि हिमालसँग त्यो मेरो पहिलो भेट भए पनि मानिसहरू सधैँ मलाई हिमाली नै सम्झने गर्थे ।

कलेजमा करिब ३/४ वर्षदेखि पत्रकारिता पढाउनु भएका पूर्ण सरलाई मेरो नाम कहिल्यै याद भएन । कक्षामा उहाँले मलाई तेन्जिङ नोर्गे, पासाङ ल्हामु, छिरिङ जस्ता हिमाली नामहरूले बोलाउनु हुन्थ्यो । म उहाँलाई सधैँ ‘मेरो नाम तेन्जिङ डोल्मा हो क्या सर’ भन्दै सम्झाउने प्रयत्न गर्थे । बिचरा त्यो प्रयत्न जसले सफलता चाख्नै पाएन ।

पूर्ण सरकै कक्षामा गोरो, ह्यान्डसम एउटा केटा थियो । लाक्पा ।

पढाइमा त्यत्ति राम्रो नभए पनि शिलस्वभाव उसको एकदमै राम्रो थियो । उसको र मेरो बोलचाल नभए पनि एकअर्काको परिचय राम्ररी थाहा भैसकेको थियो हामीलाई । उ देखि मलाई कुनै समस्या थिएन । तर उसको नामले मलाई समस्यामा पार्थ्यो । पूर्ण सरले जानेर हो या नजानेर कक्षाकोठामा मलाई लाक्पा भनेर बोलाउनु हुन्थ्यो । उपस्थित साथीहरू मेरो अनुहारमा हेरेर गललल हाँस्थे । केही लाज र प्रतिशोधको भावनाहरू मेरो अनुहारमा व्याप्त हुन्थे । कतिपल्ट नामकै विषयलाई लिएर शिक्षकसँग मेरो वादविवाद चल्थ्यो । तर तेन्जिङ डोल्मा नामले कहिल्यै न्याय पाउन सकेन । अदालतको मुद्दा जस्तो भयो मेरो नाम, विचाराधीन अवस्थाको ।

घरमा मलाई सबैले डोल्मा भनेर बोलाउँथे । बढ्न छाडेको मेरो हाइट बढ्दै गएको मेरो वजनका कारण ‘डोल्मा’ नामले मलाई गिज्याई रहेझैँ लाग्थ्यो । किनकि टेलिभिजनमा आउने हास्य कलाकार ‘डोल्मा’ले सबैको मानसिकता त्यस्तै बनाइदिएकी थिई ।

भरखरै एसइई परीक्षा सकेर ११ कक्षामा भर्ना हुँदाको कुराको हो । कलेजमा ड्रेसको नाप लिन मानिसहरू आएका थिए । अरूको जस्तै उनीहरूले मेरो पनि नाप राम्ररी लिए । लम्बाई, चौडाइ, उचाइ सबै ठिकठाक । केही हप्तापछि नयाँ पोसाक तयार भएर आयो । पोसाकमा पारदर्शी प्लास्टिकको खोल हालिएको थियो । खोलमा विद्यार्थीको नाम लेखिएको थियो । मेरो ड्रेसमा पनि नाम थियो ‘तेन्जिङ डोल्मा’ । तर ती मानिसहरूले मेरो अगाडिको नाम मात्र पढेर केटाको कोट सिलाइदिएछन् । केटाहरूको जस्तै मेरो कोटको बायाँ कुम तल पनि गोजी राखिएको थियो ।

यस्तै-यस्तै आफ्नो नामसँग मलाई धेरै गुनासोहरू थिए । अनि एकदिन आमाले मलाई कथा सुनाउनु भयो । मेरो न्वारनको कथा ।

वरपर डाँडाले घेरिएको, हिमालका  केही अवशेषहरू मात्र देखिने काठमाडौँको वनस्थलीमा मेरो जन्म भएको थियो अरे । तामाङ समाजमा नवजात शिशु ३ दिन बाँचेपछि उ आफ्नो कुलमा चढ्छ र थर प्राप्त गर्दछ भन्ने धारणा रही आएको आमा बताउनुहुन्छ । त्यसैअनुरूप जन्मेको ३ दिनमा मेरो थाप्साङ (न्वारन) गरिएको थियो । आमाले भन्नुभए अनुसार एउटा गुम्बाका लामाले मेरो नाम जुराइदिएका थिए अरे ।

थाप्साङको दिन एकाबिहानै बुबा (आप्पा) ले मलाई र आमालाई ट्याक्सीको सयर गराउनु भयो । ट्याक्सी स्वयम्भूको ठुलो गुम्बामा पुगेर रोकियो । गुम्बामा पहेँला र राता पहिरन लगाएका लामाहरू थिए । गुम्बामा एक किसिमको चिर शान्ति कायम थियो । त्यहाँ विभिन्न बुद्धका चित्र र मूर्तिहरू थिए । एकैछिन पछि बुबाले एकजना गुरु (लामा) आउनुभो । त्यसपछि मेरो थाप्साङ सुरु गरियो ।

तामाङ संस्कार अनुसार थाप्साङ भन्दा पहिले सर्गेम गरिन्छ । उनले पनि सर्गेमबाटै मेरो थाप्साङ आरम्भ गरे  । सर्गेम गर्दा उनले धुपौरोमा स्युक्पा, साल, गोकुल, टिबेटिन र गाइको घिउ हालेर पुरै गुम्बालाई धुवाले सुगन्धित बनाइदिए । त्यसपछि घण्टी बजाउँदै उनी छयोइ (मन्त्र) पढ्न थाले । उनले पढेको छयोइको आवाजले पुरै गुम्बा गुञ्जायमान भयो । मनमा शान्ति उत्पन्न गराउने उक्त ध्वनिहरू मेरो आगमनको वकालत गरिरहेका थिए ।

सर्गेम सकिएपछि गुम्बामा राखिएको गाइको दूध, अर्लावर्ला र मह मिश्रित भएका अभिषेक जलले छर्किएर मलाई शुद्ध पारियो । जन्मेको तिथि मिति पात्रोमा हेर्दे गुरुले मेरो नाम ‘तेन्जिङ डोल्मा लामा’ राखिदिए । तेन्जिङको अर्थ धनी, भाग्यमानी र डोल्माको अर्थ रानी हो । मलाई अर्थपूर्ण नाम दिँदै  खादा ओढाइदिएर मेरो थाप्साङ समापन गरिएको थियो अरे ।

अरूको भन्दा विशेष र भिन्न तरिकाले मेरो न्वारन गरिएको सुन्दा मलाई खुसी लाग्यो । त्यसपछि मलाई मेरो नाउँ राम्रो लाग्न थाले । मेरा सबै गुनासोहरू स्वतः हटेर गए । म जस्तै कतिपयलाई आफ्नो नाम मन नपर्न सक्छ । तर उक्त नामको पछाडि रहेको कथा पढ्न आवश्यक छ । आमा बुबाको रहर सपना बोकेका ती नामहरू वास्तवमै सुन्दर हुनेगर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *