व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको निर्यात बढाउनुपर्छ : मन्त्री साउद
२०८० असार १५ गते

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले मुलुकको व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको निर्यात बढाउन आवश्यक रहेको बताएका छन् ।
शुक्रवार नेपाल निर्यात व्यवसायी महासङ्घसँगको भेटमा मन्त्री साउदले यस्तो बताएका हुन् । उनले स्वदेशी उत्पादनको निर्यात बढाउनका लागि सरकार सहयोग गर्न तयार रहेको भन्दै निजी क्षेत्रले तत्परता देखाउनुपर्ने बताए । उनले नेपालले विभिन्न देशबाट बस्तुहरू आयात गरे पनि त्यो अनुसार निर्यात गर्न नसक्दा व्यापार सन्तुलन हुन नसकेको बताए ।
नेपालको उत्पादित वस्तु विदेशमा निर्यात गर्नसके मात्रै मुलुकको अन्तर्राष्ट्रिय बजारमा स्तर वृद्धि हुने बताए । उनले नेपालका उद्योगी व्यवसायीहरूले विदेशबाट सामान आयात गर्ने मात्रै नभएर नेपाली उत्पादन पनि विदेश निर्यात गर्न आवश्यक रहेको बताए । मन्त्री साउदले नेपालको अन्तर्राष्ट्रिय बजारमा स्तर वृद्धि गर्नको लागि गुणस्तरीय वस्तु उत्पादन गरी निर्यातमा जोड दिनुपर्ने बताए ।
उनले अहिले नेपालले आयात गर्ने अधिकांश देशहरूमा व्यापार घाटा रहेको बताए । उनले निर्यात गर्ने वातावरणमा सरकार र निजी क्षेत्र दुवै लाग्न नसकेको स्वीकार गरे । मन्त्री साउदले निर्यात प्रवर्धन गर्ने निकायले मजबुद हुन नसकेको भन्दै निजी क्षेत्र आफैँ सक्रिय हुन आवश्यक रहेको बताए । उनले निजी क्षेत्रको अपेक्षा अनुसार परराष्ट्र मन्त्रालयले विभिन्न देशका राजदुतहरुलाई त्यो देशको आवश्यकता हरेर नेपाली उत्पादन निर्यातको सम्भावनाका बारेमा छलफल गरी नेपाली वस्तु निर्यातको वातावरण बनाउन निर्देशन दिनसक्ने बताए ।
उनले नेपालले निर्यात बढाउनको लागि मुलुकको प्रणाली परिचालन गर्न नसकिएको बताए । उनले नेपाल भूपरिवेष्ठत राष्ट्र भएकाले उत्पादित वस्तु महँगो हुने गरेको बताए ।
उनले भने ‘उद्योगी व्यवसायीहरूले सामान आयात गर्ने देशहरूसँग व्यापार सन्तुलन केकेमा छ । नेपालले निर्यात गर्नसक्ने सामानहरू के—के हुन् । आयात कसरी भइरहेको छ । आयात भइरहेको छ । सामान आयात गर्ने देशका व्यवसायीहरूलाई पनि नेपालको उत्पादन किन्नुपर्छ भनेर छलफल गर्नु आवश्यक छ । तर नेपालले प्राथमिकताका साथ त्यस्तो हुन सकिरहेको रहेको छैन । अधिकांश ठाउँको व्यापारमा हामी घाटामा छौँ । नेपालको वस्तु बिक्री गर्नको लागि आफ्नो सिस्टम परिचालन गर्न सकेका छैनौँ । नेपालको उत्पादन महँगो पनि छ । हाम्रो मुलुक भूपरिवेष्ठित अवस्थामा पनि रहेको छ । अन्य सरकारी संस्थाहरू मजबुत हुनुपर्ने हो त्यो पनि मजबुत छैनन् । निर्यात प्रवर्धन गर्ने निकायहरू मजबुत हुन सकेका छैन । निजी क्षेत्र आफैँ अगाडि बढ्नुपर्ने अवस्था छ । परराष्ट्र मन्त्रालयबाट अपेक्षा के हो । म विभिन्न दुतावासहरुलाई निर्देशन दिनसक्छु । नेपालका उत्पादनहरू गुणस्तरीय छन् । निर्यात हुनसक्छ । त्यो देशमा सम्भावना के छ भन्ने विषयमा नेपालको निर्यात प्रवर्धन गर्ने निकायसँग समन्वय गर्न निर्देशन दिनसक्छु । नेपालबाट जबसम्म नेपाली उत्पादन बेच्न सक्दैनौँ तबसम्म अन्तर्राष्ट्रिय स्तर वृद्धि हुन सक्दैन । यो विषयमा सरकार र निजी क्षेत्र सहकार्य गरौँ । नेपालको उत्पादन निर्यात हुन सक्ने युरोप,अमेरिका,अर्बमा समेत राजदूतहरूको भेला राख्न सक्छौँ । त्यसको लागि निर्यात व्यवसायीहरू अग्रसर हुनुपर्छ । नेपाली उत्पादकहरूले उनीहरूको माग अनुसार गुणस्तर कायम राख्ने र उत्पादन वृद्धि गर्नु पर्ने आवश्यक छ । परराष्ट्र मन्त्रालय गर्नुपर्ने कुराहरू गर्न तयार छ ।’
उनले परराष्ट्र मन्त्रालयले नेपाली वस्तु युरोप,अमेरिका,अरब लगायतका स्थानहरूमा निर्यातको लागि आवश्यक पहल गर्न तयार रहेको बताए । उनले निर्यात व्यवसायीहरूले विभिन्न दुतावासहरुसँग सहकार्य गरेर नेपाली वस्तु निर्यातको सम्भावनाको विषयमा छलफल अन्तरक्रिया गर्न आवश्यक रहेको बताए । उनले विदेशमा नेपाली वस्तु निर्यातको लागि उनीहरूको चाहना अनुसारको उत्पादन वृद्धि र गुणस्तरीय बनाउन आवश्यक रहेको पनि बताए ।
२०८० असार १५ गते
प्रतिक्रिया
सम्बन्धित








