एसीसी मेन्स यु–१६ इस्ट जोन कप : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ । एसीसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त प्रतियोगिताको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८४ रनले हराएको हो ।

पहिले ब्याटिङ गरेको नेपालले जितका लागि मलेसियासामू १८४ रनको चुनौती दिएको थियो । लक्ष्य पछ्याएको मलेसिया ३३.५ ओभर खेलेर ९९ रन बनाउँदै अल आउट भयो ।

मलेसियाका मोहम्मद हैरिलले ५४ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २५ रन बनाए । मोहम्मद आलिफ ५२ बलमा २ चौकासहित १५ रन बनाए भने अन्यको प्रदर्शन राम्रो रहेन ।

नेपालका लागि स्पिनर अशोक धामीले ७ ओभरमा १४ रनको क्षतिमा ४ विकेट लिए । अभिषेक तिवारीले ४.५ ओभरमा २६ रनको क्षतिमा ३ विकेट लिए । सन्तोष यादवले ७ ओभरमा २ मेडनसहित १८ रन गुमाएर २ विकेट लिए । कृतिक कामतले एक विकेट लिए ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले नेपाल ३३.४ ओभरमा १ सय ८३ रनमा अल आउट भएको थियो । नेपालका लागि अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रन बनाउन सफल भए ।

अशोक र नरेन भट्टले आठौं विकेटका लागि ४५ रनको महत्वपूर्ण साझेदारी गरे । नरेन भट्ट ४३ बलमा १ चौकासहित २९ रनमा आउट भए । त्यस्तै, नवौं विकेटका लागि अशोकले कृतिक कामतसँग ३९ रनको साझेदारी गरे । कामत १७ बलमा १ चौकासहित १६ रनमा आउट भए ।

नेपालका निरज कुमार यादव ८, सूर्यांशु कोइराला २६ बलमा ५ चौकासहित २९, विकेटकिपर आषिश लुहार गोल्डेन डक, प्रतिक भट्टराई ४, दीपु कुमार १५ र सन्तोष यादव शून्यमा एलबीडब्लू आउट भए ।

यो खेलसँगै नेपाल समूह ‘ए’ बाट दुवै खेलमा जितका साथ समूह विजेता बनेको हो । यसअघि नेपालले थाईल्यान्डलाई २ सय २५ रनले हराएको थियो । अब नेपालले सेमिफाइनलमा समूहबीको उपविजेता सिंगापुरसँग खेल्नुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *