जीवन जङ्गलमै बित्छ भेडा गोठालाको

ढोरपाटन । अघिअघि भेडाका बथान पछिपछि गोठाला । खाली पैतला, पसिनाले लुथु्रक्क भिजेका मैलिएका कपडा । काँधमा किलादाम्ला बोकेका केही बूढापाका मान्छेहरू यतिबेला सोलेडाँडा, देउराली, बागलुङ र पूर्वीरुकुमको सिमाना आसपासमा दैनिकजसो भेटिन्छन् । उनीहरू भेडीगोठाला हुन् ।

जेठ महिना लाग्नासाथ बेँसीबाट लेक चढेका उनीहरू अब असोज लागेपछि मात्रै गाउँ झर्छन् । ती ठाउँमा केही काठले त केही त्रिपालले बारेका स–साना गोठ पनि प्रशस्त देखिन्छन् । यही गोठमा बस्छन् ती गोठालेहरू । सहरबजारको कोलाहलभन्दा निकै टाढा रहेका उनीहरूलाई सुगम ठाउँको सेवा सुविधाले पटक्कै छुन सकेको छैन ।

हिउँद लागे बेँसी झर्ने, बर्खा लागे लेक चड्ने यी गोठालाको परम्पराजस्तै हो । एउटै परिवारले दुई सयदेखि बाह्र सयसम्म भेडा पाल्ने हुँदा उनीहरूलाई रङरमाइलोको कुनै मतलबै छैन । उनीहरू घुमफिर गर्ने भनेकै अग्ला–अग्ला पहाड, खोँच र बेँसी हो । देशमा जति ठूलो परिवर्तन आए पनि उनीहरूलाई त्यो परिवर्तनले कत्ति पनि छोएको छैन । उनीहरू आफ्नै संसारमा बाँचिरहेका छन् । बागलुङ, रोल्पा र रुकुमको सङ्गमस्थल पातीहाल्नेमा एक महिना अगाडि भेडा लिएर आउनुभएका पूर्वी रुकुमका सतबहादुर गुरुङ असारको १५ पछि त्यसभन्दा माथिल्लो क्षेत्र बुकी जाने योजनामा छन् ।

बैसठ्ठी वर्षीय गुरुङ ४७ वर्षदेखि भेडापालन गर्दै आएका छन् । बाउबाजेले गर्दै आएको पेसा आफूले अँगाल्दै आएको बताउने गुरुङले पढ्न, लेख्न पाएनन् । दुर्गम गाउँ सेवा सुविधाको पहुँचबाट टाढा हुँदा कृषि र पशुपालनको विकल्प नभएपछि भेडापालनमा लागेको उनि बताउँछन् । जमाना फेरिँदै गएसँगै मान्छेहरूले आफ्नो पेसासमेत फेर्दै आएको उनको भनाइ छ ।

पछिल्लो समय नयाँ पुस्ताले पशुपालनमा चासो नदिँदा भेडापालन व्यवसाय सङ्कटमा पर्न सक्ने गुरुङको आकलन छ । “गाउँमा मोटर गाडी आए, मान्छे पढ्न लेख्न थाले, जान्ने बुझ्ने भए । त्यही भएर होला, हामीहरूले जस्तो पशुचौपाया पाल्न छाडिसके, सहरबजार बस्ने, उतै कमाउने, उतै खाने गर्छन्, हाम्रो पालामा यस्तो सुविधा कहाँ थियो र ?” गुरुङले भने, “जुगजमानाअनुसार चल्नुपर्छ भन्छन् अहिलेका केटाकेटीहरू । गोठमा काम गर्न मान्दैनन्, उतिबेला पढाइ लेखाइको खासै महत्व नै थिए, पढ्ने उमेर लेकमा गाईभैँसी, भेडाबाख्रा चराउन हिँडियो, मर्ने बेलासम्म यो दुःखले छोडेन ।”

गुरुङका अहिले करिब पाँच सय हाराहारीमा भेडा छन् । अघिल्लो महिना बेमौसमी वर्षाका कारण चिसोले ४३ भेडा मरे । अहिले बथानमा रहेकामध्ये १९ वटा ब्याउने तयारी रहेको उनको भनाइ छ । दुई महिनालाई खर्च बोकेर लेक आएको भन्दै अब अर्को महिना गोठको रेखदेख गर्न लगाएर खर्चपर्च लिन बेँसी जाने गुरुङले बताए । भेडापालन साह्रै दुःखजिलो पेसा भए पनि यसमा आफू सन्तुष्ट रहेको उनि बताएँछन् ।

निसीखोला गाउँपालिका–६ का वीरबल घर्तीमगरले पनि पातीहाल्नेभन्दा केही माथिल्लोपट्टि रिगताल सेरोफेरोमै गोठ राखे । असार अन्तिम सातासम्म वीरबल यही क्षेत्रमै छन् । वीरबल गोठमा सयौँ काला, सेता र खैरा रङका भेडा पनि भेटिन्छन् । यिनै भेडाको गोठालो गर्नु उनको दैनिकी हो । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गभन्दा केही माथिपट्टि घर्तीमगरको गोठ हुँदा अहिले बेँसीबाट सामान ल्याउन गाह्रो छैन । सानै उमेरदेखि भेडा पाल्दै आएका वीरबल बुढ्यौली लाग्दै गए पनि उहाँमा त्यो जोस र जाँगर भने उस्तै छ ।

चौध वर्षको उमेरदेखि भेडापालन गर्दै आउनुभएका उहाँ अहिले ५३ वर्ष पार गरिसके । हातखुट्टा चल्दासम्म र शरीरमा शक्ति हुँदासम्म भेडा नै पाल्ने सोचमा वीरबल छन् । सामान्य लेखपढ गर्नुभएका उहाँले जीवनमा धेरै बाधा अवरोध पार गर्दै यहाँसम्म आइपुगेको बताए । अहिले निसीखोलाको रिग, पातीहाल्ने, रोल्पा र रुकुमको सिमाना तिलाचन क्षेत्रमा भेडा चराउने गर्दै आएका छन् । वीरबलका बाउबाजे र त्यस अगाडिका पुस्ताले पनि पशुपालन गर्दै आएका थिए । बाउबाजेले गर्दै आएको पशुपालनलाई आफूले निरन्तरता दिए पनि अहिलेका युवापुस्ताले पशुपालनमा चासो नदेखाएको वीरबल बताउँछन् । आफूले पनि कक्षा ३ पास गरेको सुनाउँदै शिक्षाको महत्त्व नबुझ्दा विद्यालय छोडेको र सानैदेखि भेडापालनमा लागेको उनको भनाइ छ ।

उनि बिहान बेलुकाको खाना पकाएर खान र रात बिताउनका लागि रिग क्षेत्रमै उनको काठ र त्रिपालले छाएको सानो छाप्रो छ । घर्तीले गोठै छेउमा बाँधेर राख्नुभएका तीनवटा कुकुर आफ्नो र भेडाको ‘सुरक्षा गार्ड’ हुन् । भेडा चोरी हुन र वन्यजन्तुबाट जोगाउनका लागि यी कुकुर काफी छन् । यो ठाउँ उच्च पहाडी क्षेत्रमा पर्छ । यो क्षेत्र करिब तीन हजार दुई सय मिटरको उचाइमा छ ।

वीरबल भेडा चराउँदै गर्दा २०५२ सालको जनयुद्धमा अपहरणमा पनि परेको सुनाए । अपहरणमा परेर फर्किएपछि पनि उहाँले त्यही पेसालाई अँगाले । उनलाई कहिल्यै पेसा बदल्ने सोच आएन । “पहिले अरुले क ख पढ्ने गर्थे, हामीहरूले भेडाबाख्रा हेर्न जङ्गल जान्थ्योँ, मैले सानैदेखि भेडा चराउन थालेको हुँ, स्कुलमा तीन पढ्दा–पढ्दै गाउँको दाइले लौ लाहुरतिर जाउँ भन्यो, अनि बटौलीतिर गएर केही काम गरियो, १३ महिनामा घर फर्किएँ, फेरि स्कुल गएँ, स्कुल गएर तीन पास गरेँ, त्यसपछि छाडेर भेडा गोठाले भएँ, भेडा गोठालो गर्दागर्दै बिहे गरँे”, उनले भने, “जिजूबाजेदेखि नै भेडा पाल्दै आएका रैछन्, हामीले पनि त्यही गरियो, जमानाले गर्दा अहिलेका मान्छेले यस्तो गर्दैनन्, म २७ सालको हो, म पछिकाले भेडा पाल्नै छोडे ।”

रोगले सयौँ भेडाबाख्रा मरेपछि उहाँले केही समय भेडा पाल्न छोड्नुभयो । वर्षौँदेखि भेडासँगै रमाउँदै आएको त्यो मन कहाँ यत्तिकै बस्न सक्थ्यो र ? घर्तीले केही समय भेडा पाल्न छोडे पनि पुनः आठ वर्ष अगाडिदेखि पुरानै पेसालाई निरन्तरता दिन थाले । उनले आफूहरूको परम्परागत पेसालाई अहिलेका युवापुस्ताले बेवास्ता गरेको गुनासो गरे ।

घर्तीले भेडासँगै लेक बेँसी गरेर जीविका चलाउँदै आएको भन्दै अहिलेका पुस्ताले आफ्नो परम्परागत पेसा व्यवसायमाथि घृणा गर्न थालेको बताए । उनले विकासले गर्दा परम्परागत कुरा धेरै लोप हुँदै गएको र भेडापालन पनि विस्तारै हट्दै जान थालेको बताए । घर्तीले अहिले गाउँका युवा विदेश जाने र सहरबजारमा बस्ने गर्दा पुराना परम्परागत पेसा–व्यवसाय पनि हराउँदै गएको उनको भनाइ छ ।

बागलुङको तमानखोला गाउँपालिका–५ खुङ्नीका रनबहादुर सिर्पाली उमेरले सात दशक पार गरे । उमेर घर्कँदै गए पनि उहाँमा काम गर्ने जोसजाँगर भने तन्नेरीको भन्दा कम छैन । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भेडाबाख्राको स्याहारसुसारमा लाग्ने सिर्पालीका दुई सय ५० बढी भेडाबाख्रा छन् । जाडो बढेपछि मङ्सिरमा बेँसी झर्नुभएका सिर्पाली गर्मीयाम सुरु भएपछि भेडाबाख्रा लिएर बुकी चढ्न थालेका छन् । सिपार्ली आफ्ना भाइ देवबहादुर सिर्पालीसँग बुकी चढ्ने तयारीमा छन् ।

देवबहादुरका डेढ सय र रनबहादुरका साढे दुई सय गरी चार सय भेडा बुकी लैजाने तयारी छ । तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानबाठ नर्जाखानी जाने सडक उनीहरूको भेडाले ढाकिएका छन् । ठूलो भेडाको बथानमा केही काला र केही खैरो रङका भेडा देखिन्छन् । यस क्षेत्रका अधिकांश स्थानीय पशुपालनमै निर्भर छन् । एकहत्तर वर्षीय रनबहादुर भेडापालनमा लागेको ६४ वर्ष भयो । सात वर्षदेखि भेडा गोठालो गर्दै आउनुभएका सिर्पालीको यात्रा अहिले पनि नडमगाई निरन्तर चलिरहेको छ ।

बाउबाजेको पेसालाई अँगाल्दै आउनुभएका रनबहादुर नयाँ पुस्ता भेडापालनमा नलाग्दा परम्परागत पेसा हराउना थालेकोप्रति चिन्तित छन् । भाइ देवबहादुरले पनि सानै उमेरदेखि यही पेसामा आबद्ध हुँदै आएका छन् । साठी वर्षीय देवबहादुर भेडापालनमा लागेको ५२ वर्ष भयो । आठ वर्षकै उमेरदेखि भेडा चराउन सुरु गर्नुभएका सिर्पाली अहिले दाइसँग सहकार्य गर्दै आएका छन् । उनिहरुले भेडा हुलमुलमा हराउने डरले सिङमा रातो, हरियोलगायतका रङ लगाइदिएका छन् । भेडापालन पुख्र्यौली पेसा भएको हुँदा यसको संरक्षण गर्नुपर्ने रनबहादुरको भनाइ छ ।

उनले आफ्ना पालामा अहिलेको जस्तो पढ्ने लेख्ने जमाना नभएको भन्दै जान्ने बुझ्ने भएदेखि नै गाईभैँसी र भेडाबाख्रा पाल्न थालेको बताए । रनबहादुरले समय परिवर्तनसँगै गाउँघरमा पेसा पनि फेरिँदै गएको बताए । आफ्ना बाउबाजेले कृषि र पशुपालन गर्न सिकाएको स्मरण गर्दै अहिलेका अभिभावकले पढ्न लेख्न र विदेश जान सिकाउने गरेको उनको भनाइ छ ।

“पहिले–पहिले एकै जनाको दुई–तीन हजार भेडा हुन्थे, अहिले त भेडापाल्ने मान्छे घट्दै गए, थोरैले मात्रै पाल्छन्, हामीहरूको जन्म नै भेडीगोठमा भयो, गोठमै जन्मेको, हुर्केको हुँदा हाम्रो पेसा भेडा पाल्ने भयो”, रनबहादुर भन्छन्, “हामीहरूले अरु केही गर्न जानिएन, जानेको यही पशुचौपायाको गोठाला गर्न हो, दुःख पाउनेको कोखमा जन्म भयो, दुःख पाउने पेसा नै गर्नुपर्यो, सहरबजार त हाम्रा लागि बिरानो लाग्छ, दुःख भए पनि गोठ नै रमाइलो हुन्छ ।”

पछिल्लो समय युवापुस्ताले यो पेसा अँगाल्न नचाँहदा परम्परागत भेडापालन विस्तारै हराउँदै गएको छ । केही समय अगाडिसम्म बागलुङको उच्च पहाडी क्षेत्रहरूमा भेडा गोठाले र भेडाहरू प्रशस्त मात्रामा भेट्टाउन सकिन्थ्यो । पहिले–पहिले भेडीगोठ जाँदा धेरै जिल्लाका धेरै ठाउँका भेडी गोठालेको जमघट हुने गरेको तर पछिल्लो समय गोठाले कम भएको रनबहादुर बताउँछन् ।

भेडापालनबाटै देवबहादुरकोे परिवार चलेको छ । उहाँले पाँच छोराछोरी यही पेसाबाटै हुर्काउने र पढाउने गरेको बताए । तीन छोरा र दुई छोरीको विवाहसमेत भेडा बेचेरै गरेको उनको भनाइ छ । आफूहरूले अहिलेसम्म भेडापालन गर्दै आए पनि छोराछोरीले यसतर्फ चासो नै नदिएकामा भने उनि चिन्तित छन् । बूढापाकाले भेडा पाल्न नसक्ने अवस्थामा पुगेको भन्दै अबको एक दशकमा वनपाखा सुनसान हुने उनको भनाइ छ ।–रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eleven =