विश्वविद्यालयमा गैरप्राज्ञिक गतिविधि स्वीकार्य हुँदैन : मन्त्री राई
२०८० असार १२ गते

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयलाई समयसापेक्ष सक्षम, समृद्ध बनाउँदै राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
मङ्गलवार त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्वविद्यालयलाई समयसापेक्ष बनाउन भौतिक संरचना, निर्माण, प्रयोगशाला, पुस्तकालय जस्ता सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको बताए । उनले केही वर्ष अघिदेखि त्रिवि व्यवस्थापन र पदाधिकारीकाबिरुद्ध सभ्य र प्राज्ञिक क्षेत्रका लागि अस्वीकार्य गतिविधि भइरहेको कुरालाई आफूले नियाली रहेको र सरकारबाट सबै पक्षलाई आफ्ना माग पूरा गराउने नाममा यस्ता गतिविधि नगर्न र समस्याको समाधान वार्ताको माध्यमबाट गर्नसमेत ध्यानाकर्षण गराए ।
उनले अराजक, गैरप्राज्ञिक, तथा अराजनीतिक गतिविधि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारलाई मात्रै नभई सभ्य समाजलाई नै स्वीकार्य हुन नसक्ने बताए ।
उनले भने ‘विश्वविद्यालयलाई समयसापेक्ष रूपमा सक्षम, समृद्ध बनाउँदै राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न निरन्तर क्रियाशील तुल्याउनु, आजको आवश्यकता हो । यसका लागि भौतिक संरचना, निर्माण, प्रयोगशाला, पुस्तकालय जस्ता सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता त्यत्तिकै महत्वपूर्ण छ । केही वर्ष अघिदेखि त्रिवि व्यवस्थापन र पदाधिकारीकाबिरुद्ध सभ्य र प्राज्ञिक क्षेत्रका लागि अस्वीकार्य गतिविधि भइरहेको नजिकबाट नियाली रहेको छु । सरकारबाट सबै पक्षलाई आफ्ना माग पूरा गराउने नाममा यस्ता गतिविधि नगर्न र समस्याको समाधान वार्ताको माध्यमबाट गर्नसमेत ध्यानाकर्षण गराउन चाहन्छु, त्यस्ता अराजक, गैरप्राज्ञिक, तथा अराजनीतिक गतिविधि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारलाई मात्रै होइन, सम्पूर्ण सभ्य समाजलाई नै स्वीकार्य हुन सक्दैन ।’
मन्त्री राईले पदाधिकारी, शिक्षक, कर्मचारी र विद्यार्थी सबैले संयुक्त रूपमा विश्वविद्यालय सुधारको प्रयास गर्न जरुरी रहेको बताए । उनले विश्वविद्यालयको पुनः संरचनाको विषय पुराना पाठ्यक्रमहरू समयसापेक्ष परिमार्जन गर्ने विषय, विश्वविद्यालयको अध्ययन, अनुसन्धानलाई प्रविधिमैत्री बनाउने विषय र ठूलो संख्यामा उच्च शिक्ष लागि विदेशीने क्रमलाई देशमै अवसर प्रदान गरी रोक्नुपर्ने विषय अहिलेका ज्वलन्त विषय रहेको बताए ।
२०८० असार १२ गते
प्रतिक्रिया
सम्बन्धित








