त्रिभुवन विश्वविद्यालयका समस्या छिटै समाधान हुनेछन् : प्रधानमन्त्री
२०८० असार १२ गते

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयका तत्कालका समस्या पहिचान गरी यथासम्भव समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।
मङ्गलबार त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा आबद्ध कर्मचारीका प्रतिनिधि, विद्यार्थी सङ्गठनका प्रतिनिधि तथा विश्वविद्यालयका पदाधिकारीहरूसँग भएका भेटघाट एवं छलफलका आधारमा त्रिभुवन विश्वविद्यालयको उन्नति र विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाई अगाडि बढ्नु आवश्यक रहेको बताए ।
उनले विद्यार्थीको रुचि अनुसार स्वदेशमै अध्ययन गर्नसक्ने अवस्था सिर्जना गर्न विश्वविद्यालयसँग आग्रह गरे । प्रधानमन्त्री दाहालले विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशन दिए ।
उनले भने ‘त्रिभुवन विश्वविद्यालयका तत्कालका समस्या पहिचान गरी यथासम्भव समाधान गर्ने प्रयत्न गरिरहेको कुरा यस गरिमामय सभामा उल्लेख गर्नु सान्दर्भिक नै ठानेको छु । त्रिभुवन विश्वविद्यालयमा आबद्ध शिक्षक, कर्मचारीका प्रतिनिधिहरू, विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधि तथा विश्वविद्यालयका पदाधिकारीहरूसँग भएका भेटघाट एवं छलफलका आधारमा प्राप्त सूचना र जनचाहनाअनुरूप त्रिभुवन विश्वविद्यालयको उन्नति र विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाई अगाडि बढ्नु अत्यावश्यक छ । यसका लागि विश्वविद्यालयबाट पेस हुने उपयुक्त योजना र कार्यक्रममा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छु । विश्वविद्यालयका समस्याहरूको समाधान संवाद एवं रचनात्मक सहयोगबाट गर्नुहुने सबै सरोकारवालासँग हार्दिक अपिल गर्दछु । हरेक वर्ष उच्च शिक्षाका लागि विद्यार्थीहरू विदेशिने क्रम किन बढिरहेको छ ?, विद्यार्थीलाई उनीहरूको रुचिअनुसारका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न पाउने कार्यक्रमहरू ल्याउन र विदेशिन नपर्ने अवस्था सिर्जना गर्न म देशको सबैभन्दा ठूलो विश्वविद्यालयको हैसियतमा विश्वविद्यालयलाई विशेष अनुरोध गर्दछु । विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु ।’
प्रधानमन्त्री दाहालले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व भएको उल्लेख गरे ।
२०८० असार १२ गते
प्रतिक्रिया
सम्बन्धित








