मुस्ताङको घरपझोङले पालिका प्रहरी भर्ति गर्ने

पोखरा । मुस्ताङको घरपझोङ गाउँपालिकाले आफ्नै प्रहरी नियुक्त गर्ने भएको छ ।
पालिकाको सुरक्षा व्यवस्थालाई चुस्त राख्न पालिकाकै प्रहरी आवश्यक रहेको अध्यक्ष मोहनसिंह लालचनले बताए । ‘पालिकाको सुरक्षाका लागि आफ्नै प्रहरी चाहिने रहेछ । आगामी वर्ष घरपझोङले प्रहरी राख्छ,’ उनले भने । तत्काल गाउँपालिकाले २ जना पालिका प्रहरी राख्ने तयारी गरेको उनले बताए ।
आगामी वर्षको नीति तथा कार्यक्रममा अध्यक्ष लालचनले पालिका प्रहरी राख्ने कार्यक्रम ल्याएका हुन् । पालिका प्रहरीको दरबन्दी पनि स्विकृत भैसकेको छ ।
जिल्लाभित्र बाहिरका सामान अनियन्त्रित रुपमा विक्री हुन थालेपछि अनुगमनका लागि प्रहरी खटाइने लालचनले बताए ।
‘खासगरी फोहोरमैलाको अनुगमन गर्ने हो । मनपरि विक्रि भैरहेको सामग्रीलाई नियमन गर्नुछ,’ उनी भन्छन्, ‘पर्यटक अलमलिए भने बाटो देखाइदिन्छन् ।’
आगामी वर्ष पालिकाले पर्यटक मेला गर्ने कार्यक्रम ल्याएको छ । आगामी वर्षको लागि २९ करोड ९६ लाखको बजेट उपाध्यक्ष जमुना थकालीले सार्वजनिक गरिन् ।
घरपझोङले देशभरमै सबैभन्दा पहिले नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो । ६ गते नीति तथा कार्यक्रम र ७ गते बजेट ल्याइएको हो ।








