उपत्यकामा खानेपानीको वैकल्पिक व्यवस्थाबारे अध्ययन भइरहेको छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्र राय यादवले याङ्ग्री र लार्केबाट मेलम्ची खानेपानीको मुख्य सुरुङमा पानी जोडेपछि काठमाडौँमा बाह्रै महिना खानेपानी उपलब्ध हुने बताएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री यादवले याङ्ग्री र लार्के छिटोभन्दा छिटो सुरु गर्ने मन्त्रालयको योजना रहेको बताएका हुन् । उनले याङ्ग्री र लार्केबाट पथान्तर गर्ने पानी सिधै सुरुङबाट मेलम्चीमा जोड्नेगरी काम अगाडी बढीरहेको भन्दै यसो हुँदा काठमाडौँ उपत्यकामा बाह्रै महिना खानेपानीको उपलब्धता हुने बताए । उनले काठमाडौँ उपत्यकामा खानेपानीको वैकल्पिक व्यवस्थाका लागि ललितपुरको तोस्ने खोला र मकवानपुरको सिस्ने खोलामा अध्ययन भइरहेको बताए ।
उनले भने ‘याङ्ग्री र लार्के छिटोभन्दा छिटो सुरु गर्ने मन्त्रालयको योजना रहेको छ । मेलम्ची नदीको माथिल्लो भागमा धेरै जोखिम रहेकोले याङ्ग्री र लार्केबाट पथान्तर गर्ने पानी सिधै सुरुङबाट मेलम्चीमा जोड्नेगरी कन्सेप्ट अगाडी बढिरहेको अवस्थामा अन्तिम रूप दिइएको छ । सोही अनुसार याङ्ग्री र लार्केको योजना अन्तर्गत पानी मुख्य सुरुङमा जोडिएपछि मेलम्ची खानेपानी आयोजना पूर्ण रूपमा सञ्चालन भई काठमाडौँ उपत्यकाभित्र बाह्रै महिना, चौबिसै घण्टा पानी उपलब्ध हुने सुनिश्चितता हामी दिलाउन चाहन्छौँ । यसका साथै काठमाडौँ उपत्यकाका लागी खानेपानी वैकल्पिक व्यवस्थाको लागि ललितपुरको तोस्ने खोला र मकवानपुरको सिस्ने खोलाको अध्ययन कार्य भइरहेको छ । काठमाडौँ उपत्यकालाई मेलम्ची खानेपानी पूर्ण नयाँ वितरण लाइन प्रणालीबाट पानी वितरण गर्ने लक्ष्य रहेको छ । हाल परीक्षण भइरहेका नयाँ वितरण लाइनबाट केही स्थानमा पानी वितरण भए तापनि अधिकांश पुरानै वितरण सञ्जालबाट पानी वितरण रहेकोले पानी समस्या देखिएका छन् । नवनिर्मित सञ्जालबाट पानी वितरण भएपछि पानीको समस्या समाधान हुने र पानी सिधै उपयोग गर्न सकिने सबैमा जानकारी गराउँछु ।’
उनले मेलम्ची खानेपानी नयाँ वितरण लाइनबाट वितरण गर्ने लक्ष्य राखिएको पनि बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eight =