जलहरीमा नाम कुँदिएकोबारे सचेतक बर्तौला : उद्घाटन गर्नेको नाम लेखिनु सामान्य 

काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेकपा एमालेको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि भ्रम छरिरहेको बताएका छन् ।
सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले पशुपतिमा राखिएको सुनको जलहरीमा अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही हुनुपर्ने र एमाले भ्रष्टाचारी जोगाउने पक्षमा नरहेको स्पष्ट पारे । उनले  पशुपतिमा सुनको जलहरीको जाँच गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग जानु/नजानु भन्नेकुरा एमालेको सरोकारको विषय नभएको र सरकारले आफ्नो ढङ्गले काम गर्न पाउने बताए ।
उनले नेकपा एमालेलाई बदनाम गराउन जनताको आँखामा छारो हाल्ने काम भइरहेको भन्दै एमाले नेताहरू जोडिएका घटनाहरू कुनै भए सबै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरे । उनले अख्तियारको पूर्ण रिपोर्ट नआइसकेको भन्दै जलहरीमा पूर्वराट्रपति, पूर्वप्रधानमन्त्रीको नाम रहेको भन्नेकुरा सामान्य विषय भएको बताए । उनले नेतृत्व लिएको हिसाबले नाम आएपनि ठूलो विषय नरहेको र उद्घाटन गरिएका ठाउँमा नेतृत्वको नाम आउनु स्वाभाविक भएको बताए ।
उनले भने ‘पशुपतिको जलहरीमा कहीँ कतै बदमासी भएको छ भने बदमासी गर्नेहरूलाई कारबाही गर्नुपर्छ । दोषीलाई कारबाही गर्नुपर्छ । कठघरामा ल्याउनुपर्छ । हामीसँग सरोकारको विषय होइन यो, सरकारले के रहेछ सत्यतथ्य त्यो बाहिर ल्याउनुपर्छ । एमाले यस्तो बदमासीमा कहिले  पनि मासिँदैन । अख्तियार कहाँ गएर के खोजी गर्छ, त्यो उसको विषय हो । नेकपा एमालेका नेता जोडिएका केही घटना, काण्डहरू छन्, भने त्यस्ता घटनाहरूमा छानबिन होस् । हामी हाम्रा कोही पनि नेताहरूलाई गलत काम गरेको भए बचाउन लाग्दैनौँ । कुनै गलत काम हामीबाट भएको छैन । पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वसंस्कृतिमन्त्रीको नाम लेखियो भन्नेकुरा पूर्वाग्रहपूर्ण हो, केपी ओलीको लोकप्रियता छ, राष्ट्रले भरोसा गरेको छ, त्यसको विरुद्धमा यो आएको हो । त्यही पनि यसको सत्यतथ्य रिपोर्ट आएपछि मात्रै यसबारेमा बोल्न सकिन्छ । उहाँको सरकारको पालामा, नेतृत्व रहेका बेलामा काम भएको कुरामा सामान्य कुरा हो । यस्तो सामान्य कुरामा पनि अल्झिएर बस्नु, टिप्पणी जोड्न थाल्छौँ । मेरा पनि कति स्थानमा नाम लेखिएका छन् । कतै ताम्रपत्र, फलाममा छ, कतै चाँदीकैमा नाम मेरैमा लेखिएको छ ।’
सचेतक बर्तौलाले देशको नेतृत्व गरिसकेको मानिसको नाम उद्घाटन गरिएको ठाउँमा लेखियो भनेर बस्नु तर्क गर्ने अर्को ठाउँ नपाएको बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *