आगामी दुई वर्ष भित्र सबै नेपालीको पहुँचमा विद्युत  पुर्याइनेछ : ऊर्जामन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्ष भित्र सबै नेपालीको पहुँचमा विद्युत पुर्याउने घोषणा गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री बस्नेतले हालसम्म ९६ प्रतिशत नेपालीहरूको पहुँचमा विद्युत पुगेको उल्लेख गर्दै आगामी २ वर्ष भित्रै सबैले भरपर्दो र गुणस्तरीय विद्युत सेवा पाउनेगरी योजना बनाइएको र त्यसलाई कार्यान्वयनमा लगिने बताए ।
उनले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका आगामी दुई वर्ष भित्र विद्युतीकरण गरिसक्ने लक्ष्यका साथ सरकारले काम गरिरहेका दाबी समेत गरे । मन्त्री बस्नेतले विद्युत खपतका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउने र खाना पकाउने एलपी ग्यासको परनिर्भरता घटाउँदै लैजाने सरकारले नीति रहेको स्पष्ट पारे ।
उनले भने ‘देशमा हालसम्म विद्युत उत्पादनको जडित क्षमता यस आवमा ४६२ मेघावाटले थप भई २७३२ मेघावाट पुगेको छ । र, ९६ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको आजको अवस्था हो । आगामी २ वर्ष भित्रमा सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्ने गरी तयार गरिएको योजनालाई कार्यान्वयन गरिनेछ । अव त्यस मध्येमा पनि ५ वटा प्रदेशहरूमा यसै आर्थिक वर्षमा पूर्ण विद्युतीकरणको योजनाका साथ अहिले त्यो कार्यक्रम बनेको छ । र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आगामी २ वर्ष भित्रमा पूर्ण विद्युतीकरणको लक्ष्यसहित कामहरू अगाडि बढाइएको छ । विद्युतीय सवारी साधनको प्रयोग बढाउने र खाना पकाउने ग्याँसलाई स्वदेशमा उत्पादित विद्युत खपत गरी घटाउँदै लैजानेतर्फ नेपाल सरकारको कार्यक्रम लक्षित छन् । र, यसबाट क्रमशः एलपी ग्याँसको आयात घट्दै जानेछ भन्ने हाम्रो विश्वास छ ।’
मन्त्री बस्नेतले मुलुकलाई आत्मनिर्भर हुने गरी विद्युतको उत्पादन र बजारीकरणको कामलाई सरकारले प्राथमिकता दिएको पनि बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *