स्वास्थ्य बिमा कार्यक्रममा देखिएको कमीकमजोरी हटाउँदै लगिनेछ : स्वास्थ्यमन्त्री बस्नेत
२०८० असार ११ गते

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्री बस्नेतले निजी क्षेत्रका कतिपय अस्पतालहरूले नवीकरण समेत नगरेका कारण ती अस्पतालहरूमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न नसकिएको पनि स्पष्ट पारे । सोमबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो प्रस्टीकरण दिएका हुन् ।
मन्त्री बस्नेतले सो कार्यक्रममा देखिएका कमीकमजोरीहरूलाई हटाउने गरी कार्ययोजनाहरु बनाउने काम भईरहेको समेत बताए । उनले भने ‘यो बिमाको सम्बन्धमा धेरै कुरा उठेको छ । यो प्राइभेट हस्पिटल, मेडिकल कलेजहरूले पनि यो सम्झौता अवधि सकिएकाहरूले सुरुमा रिन नगरेको अवस्थाले पनि केही समस्या परेको छ । साँढे १० वर्ष यो वर्ष यस क्षेत्रमा भुक्तानी भइसकेको छ । ७० लाख नागरिक बिमामा आबद्ध छन् । ४६० निकायहरूले निजी, सरकारी र सामुदायिक सबैसँग सहकार्य गरेर काम गरेको अवस्था हो । र, यो बिमा बुझ्ने सम्बन्धमा अनलाइन सेवालाई पनि व्यवस्था गरिएको अवस्था हो । जनताका लागि यो धेरै ठूलो सेवा हो । तर व्यवहारिक रूपमा यसलाई व्यवस्थापन गर्दै लैजाने कुरामा केही कमीकमजोरीहरू भएको कुरालाई सुधार गर्दै यसको उद्देश्यलाई व्यापक रूपमा अगाडि बढाउने कार्ययोजनाहरु चाहिँ तयार भईरहेको कुरा पनि म यहाँ निवेदन गर्न चाहेँ ।’
मन्त्री बस्नेतले स्वास्थ्य उपचारमा गरिब जनताको पहुँच वृद्धिका लागि आफूले निःशुल्क बेडहरूको व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि पटक पटक दोहोर्याए ।
२०८० असार ११ गते
प्रतिक्रिया
सम्बन्धित








