वीरेन्द्रनगरले ल्यायो- ‘हेलो मेयर’देखि ‘बुबाआमासँग सन्चो बिसन्चो’ कार्यक्रम

सुर्खेत । कर्णाली प्रदेशको राजधानी तथा कर्णालीको आर्थिक, सामाजिक, शैक्षिक, प्रशासनिक र व्यापारिक केन्द्र वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिकाको रूपमा विकास गर्ने लक्ष लिइएको छ ।

वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले आइतबार आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिका भए पनि उपमहानगरपालिकाका लागि आवश्यक पर्ने राजस्व संकलनको लक्ष्य लिइएको जनाउँदै उक्त पूरा गरेपछि उपमहानगरपालिका बनाइने उल्लेख गरिन् ।

राजस्वको क्षेत्रमा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि स्वीकृत कर दस्तुरलाई समय सापेक्ष संशोधनसहित आवश्यकता र औचित्यको आधारमा छुट एवं सहुलियत दिने नीति लिइने नगर प्रमुख ढकालको भनाइ छ । सम्पत्ति कर, भूमि कर, घरजग्गा बहाल कर, व्यापार व्यवसाय कर, जडीबुटी, कवाडी तथा जीवजन्तु कर, सवारी साधन कर, विज्ञापन कर, मनोरञ्जन कर, पार्किङ शुल्क, विभिन्न सेवा शुल्क तथा दस्तुर क्षेत्रलाई फराकिलो पार्दै कर एवम् शुल्क तिरेको अनुभूति हुने गरी कर संकलन कार्यलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्षभन्दा झण्डै १ अर्ब बढीको बजेट प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/८१ को लागि ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९ सय ६७ रुपैयाँको बजेट विनियोजन गरेको छ । बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख नीलकण्ठ खनालले चालुतर्फ १ अर्ब ८३ करोड ४६ लाख ९९ हजार, पुजिगततर्फ १ अर्ब २५ करोड ८९ लाख ९ सय ६७ र वित्तीयतर्फ ३ करोड २५ लाख बजेट विनियोजन गरेको जानकारी दिए ।

‘शैक्षिक, प्रशासनिक, पर्यटकीय शहर, स्वच्छ, समुन्नत वीरेन्द्रनगर’ भन्ने मूल नाराका साथ नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम तथा बजेट ल्याएको छ । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वीरेन्द्रनगरका वर्तमान आवश्यकता र दिगो विकासलाई ध्यानमा राखेर बजेट ल्याएको बताइन् ।

नीति तथा कार्यक्रममा वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउनका लागि पहल गर्नेदेखि उपत्यकाको खानेपानी समस्या समाधानका लागि भेरी पम्पिङ आयोजना अघि बढाइने वीरेन्द्रनगरमा कर्णाली बसपार्क निर्माणको योजना पनि नगरपालिकाले अघि सारेको छ । यस्तै नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि अनलाइन माध्यमबाटै गुनासो प्रणाली गर्ने हेल्लो मेयर कार्यक्रम सञ्चालन गर्ने पनि जनाएको छ । नगरभित्रका जेष्ठ नागरिकको लागि ‘बाबुआमासँग सन्चो बिसन्चो’ कार्यक्रम गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *