दुग्ध विकास बोर्डको काम सन्तोषजनक नभएकाले खारेज गर्न लागेका हौँ : मन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले दुग्ध विकास बोर्डले गरेको कामप्रति सरकार सन्तुष्ट नभएकाले खारेज गर्न लागेको बताएका छन् ।
आइतबार ललितपुरमा भएको डेरी दर्पण विमोचन कार्यक्रममा बोल्दै कृषिमन्त्री डा. भुसालले यस्तो बताएका हुन् । उनले सरकारले जुन उद्देश्य लिएर बोर्डको स्थापना गरेको थियो बोर्डले त्यो उद्देश्य अनुसार काम गर्न नसकेको बताए । उनले दुग्ध विकास बोर्ड दुधको विकास र अनुसन्धान तथा समन्वय गर्ने भनेर स्थापना भए पनि त्यस्तो काम गर्न नसकेको बताए । उनले बोर्डको काममा सरकार सन्तुष्ट नभएर र खर्च कटौती पुनरावलोकन आयोगको सिफारिसको आधारमा खारेजको सूचीका परेको बताए ।
उनले सरकार दुध विकासको पक्षमा रहेको भन्दै  दुग्ध विकास बोर्ड खारेज भए पनि अन्य संरचनाबाट भए पनि काम गर्ने बताए । उनले दुग्ध विकास बोर्ड खारेज गरेर सरकार दुध विकासबाट हात झिक्न नखोजेको भन्दै पहिलाको भन्दा अझ बढी विकास गर्ने पक्षमा रहेको बताए । उनले सरकारले दुध विकास गर्नको लागि भारतबाट मुर्रा राँगा ल्याउन लागेको बताए । उनले सरकारले नसल सुधार गरी दुधको विकास गर्ने तर्फ प्रतिबद्ध रहेको बताए ।
उनले बोर्ड खारेज हुँदैमा डेरी व्यवसायीहरू आतिहाल्नु पर्ने अवस्था नरहेको बताए । उनले सरकारले दुग्ध विकास गर्न कै लागि बोर्डको पुनः संरचना गर्न खोजेको बताए । उनले बोर्ड खारेज गर्ने विषय मन्त्रालयबाट गएको प्रस्ताव नभएको पनि बताए ।
उनले भने, ‘नेपाल सरकार दुधको विकासको प्रति प्रतिबद्ध छ । कुन संरचना अनुसार काम गर्ने हो भन्ने विषयमा सरकारलाई काम गर्ने अवसर दिनुहोस् । दुग्ध विकास बोर्ड खारेज विषयमा आत्तिइहाल्नु पर्ने,दुःखी हुनुपर्ने अवस्था देख्दिन । सरकारले कुनै न कुनै हिसाबले व्यवस्थापन गर्छ । व्यवस्थापन गर्ने विषयमा सबैसँग छलफल भईरहेको छ । मन्त्रालयको प्रस्तावमा खारेज भएको होइन । खर्च कटौती आयोगले गरेको सिफारिसका आधारमा भएको छ । अहिलेको सरकारले नै गरेको भनेर जुन खालको प्रचार भएको देख्छु । त्यो उपयुक्त छैन । सरकारले दुध विकास गर्न नचाहेको भए अस्तीभर्खर मुर्रा राँगा किन ल्याउँथ्यो होला र ? दुध विकासको निम्ति मुर्रा राँगा ल्याउन लागेको हो । नसल सुधारको कुरा व्यवसायीहरूले भन्नुभएको छ । विकसित नसल सुधार ल्याउने काम सरकारले गरिरहेको छ । कृषिलाई कसरी अझ राम्रो गर्न सकिन्छ भन्ने कुरा हो । कामको हिसाबले भन्ने हो भने दुग्ध विकास बोर्डले गरेको कामसँग सरकार सन्तुष्ट छैन । बोर्ड जसरी जे गर्ने भनेर स्थापना गरिएको थियो । जसरी अनुसन्धान, समन्वय गर्नेगरी जुन ढङ्गले स्थापना गरिएको थियो । त्यो अनुसार काम भएको छैन । सरकारले बोर्ड पुनः संरचना गर्न खोजेको मात्रै हो । दुध विकासबाट हात धुन सरकारले खोजेको होइन । दुध विकासको पक्षमा सरकार छ । अहिले भन्दा राम्रो गर्नुपर्छ भन्ने पक्षमा सरकार छ ।’
कार्यक्रमका नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले सरकारले दुग्ध विकास बोर्ड खारेज गर्ने प्रस्ताव फिर्ता लिनुपर्ने बताए । उनले जिडिपीमा ८ प्रतिशत योगदान दिने क्षेत्रको बोर्डलाई खारेज गर्न नहुने बताए । उनले दुग्ध विकास बोर्डलाई सुधार गरेर शसस्त बनाउनु पर्नेमा खारेज गर्ने सूचिमा राख्नु उचित नभएको बताए । उनले  सरकारले बजेट संशोधन गरेर बोर्ड खारेज गर्ने विषय फिर्ता लिनुपर्ने बताए । उनले नेपालमा सिजन नभएको बेलामा ३० प्रतिशत पाउडर दुध र चिज बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको बताए ।
उनले केही उद्योगहरूले लभिङ गरेर बाहिरबाट पाउडर दुध र चिज ल्याउन रोक लगाएको भन्दै त्यसको कारण दुधको मूल्य बढेको बताए । उनले सरकारले कोटा सिस्टममा भएपनि पाउडर दुध र चिज आयात गर्न खुला गर्नुपर्ने बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =