उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गरौँ, किसानलाई अनुदान दि‌औँ : सांसद कार्की

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोसन कार्कीले उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गरेर लम्पिस्किन महामारीको मारमा परेका किसानहरूलाई अनुदानको रूपमा दिन आग्रह गरेकी छिन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद कार्कीले उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गर्न माग गरेका हुन् । उनले प्रशासनिक खर्च कटौती गरेर लम्पिस्किनको महामारीबाट प्रभावित किसानहरूलाई अनुदानको रूपमा दिनुपर्ने बताइन् । उनले  उपराष्ट्रपतिको प्रभावकारी भूमिका हुन नसकेको बताइन् । उपराष्ट्रपतिको काम उद्घाटन गर्ने र देवताको दर्शन गर्ने मात्रै भएको टिप्पणी गरिन् । ।
उनले भनिन्, ‘हामीले सोच्नुपर्ने दिन आएको छ, अब हामीहरूले यो बजेटलाई संशोधनसहित पास हुने व्यवस्था यहाँ लागु हुनुपर्छ । नत्रभने हामी नाटकका पात्र मात्र हुनेछौँ । यहाँ आयो बोल्यो । जनतालाई छक्याउने काम मात्र हुनेछ । उपराष्ट्रपति महिला हुनुपर्ने ठाउँमा संविधानको ‘वा’ भन्ने शब्दले पुरुष बनाइदियो । यो महिलाहरूको लागि विडम्बना भयो । उपराष्ट्रपतिलाई सल्लाहकार प्रशस्त चाहिने, बजेट प्रशस्त चाहिने, त्यो बजेट के का लागि ? उपराष्ट्रपतिको भूमिका के हो ? उहाँले यो देशको लागि के गर्नुहुन्छ ? खालि रिबन काट्ने, केही चिजहरूमा उद्घाटन गर्ने र कहिलेकाही देवताको दर्शन गर्न जाने । त्यो बाहेक उहाँको भूमिका नै केही छैन । हामीले यत्रो बजेट किन उहाँको लागि खर्च गर्ने ? जबकि आज यो देशमा अनुदान कम आएको छ । राजस्व कम उठिराखेको छ । कर्मचारीहरू तलब खान नपाउने स्थिति छ । यस्तो स्थितिमा हामीले उपराष्ट्रपतिलाई यत्रो खर्च गर्नु आवश्यक छैन । उपराष्ट्रपतिको प्रशासनिक खर्चमा कटौती गरौँ । सल्लाहकार एउटा मात्र राखिदिउँ । र त्यो खर्च बरु लम्पिस्किन महामारीबाट पीडित किसानहरूलाई अनुदानका रूपमा दिऊँ म यो अनुरोध गर्न चाहन्छु ।’
उनले बजेट संशोधनसहित पास गर्ने व्यवस्था गर्नुपर्ने बताइन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *