फालेलुङको दु:ख : ‘बाटो बिग्रन एकछिन, बनाउन एक दिन’  

काठमाडौँ । पहिले पाँचथर फालेलुङ गाउँपालिकामा घरघरै पुग्ने बाटा थिएनन् । बाटा नबन्दा गाउँले समस्यामा थिए । गाउँमा भएको स्थानीय उत्पादनले उचित मूल्य पाउँदैनथे । उत्पादनले उचित मूल्य पाए पनि बोकेर करिब १ देखि डेढ घण्टा हिँड्नु पर्दथ्यो । नत्र कृषिजन्य उत्पादन गाउँमै कुहिन्थ्यो ।

अहिले फालेलुङमा घरघरै बाटो पुगेको छ । घर नजिकै बाटो आएपछि सबै गाउँले खुसी भएका छन् । पहिले कुटी डाँडासम्म पुग्ने जिपहरू अहिले तल हिम खोलासम्मै पुग्छन् । गाउँमा किसानले धान, गहुँ, कोदो, मकै, आलु, फाफरका साथै अलैँची, अम्रिसो, अदुवा, लसुन र अन्य नगदेबालीहरू पनि उत्पादन गर्छन् ।

बाटो बनेपछि जिपले ती उत्पादनलाई घरघरै लिन जाने गरेका छन् । स्थानीय हर्क तामाङका अनुसार उक्त जिपले उनीहरूको उत्पादन प्रतिकिलो ९ रुपियाँको दरले झापासम्म पुर्याउँछ । ती उत्पादनलाई उनीहरूले झापामा लगेर बेच्ने गरेका छन् ।

गाउँमा बाटो आएपछि किसानको जीवनस्तर फेरियो । उनीहरूले शान्तिको आभास गर्न थाले । तर उनीहरूको यो सुखमा बेलाबेला तुषारापात हुन्छ ।

फालेलुङ गाउँपालिकाका स्थानीय इन्द्र चौहानका अनुसार बर्खामा पर्ने प्रत्येक झरीले त्यहाँको बाटोलाई बिगारिदिन्छ । ठुलो पानी परेर भल फुट्ने हुँदा बाटोमा खाल्डाखुल्डी बन्छन् र गाडी गुड्न नसक्ने अवस्था हुन्छ ।

उनी भन्छन्, ‘कत्राे पानी पर्छ अनि । यो पानी पर्दा भल फुट्छ । भलले बाटो बिग्रन्छ । खाल्डाखुल्डी बन्छ । खाल्डाखुल्डी भएपछि गाडी आउन मान्दैन् ।’

उनले गाउँमा गाडी ल्याउन सबैजना मिलेर बाटो मर्मत गर्ने गरेको बताए ।

उनका अनुसार झरीले बिग्रेको बाटो बनाउन एकदिन नै लाग्छ । उनले बाटो बनाउन सबैजना एका बिहानै जम्मा हुने गरेको बताए । दिउँसो खाना खाएपछि पुनः उनीहरूको काम सुरु हुन्छ । साँझमा जसोतसो उनीहरूको काम सकिने उनले बताए । अब आउने झरीले फेरि बाटो बिगार्ने हो कि भन्ने डर लागिरहने उनी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *