भौतिक मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रको छुट्टै स्थलगत अनुगमन गर्ने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रको छुट्टै स्थलगत अनुगमन गर्ने बताएका छन् ।
बुधवार सिंहदरबारमा मनसुनजन्य विपत्बाट विभिन्न जिल्लामा भएको क्षेतीको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन् । उनले बाढी पहिरोको कारण क्षति भएको सडक, पुल क्षति भएको स्थानमा पुगेर वास्तविक स्थितिको अवस्था बुझेर त्यसका निम्ति सरकारले योजना बनाउने बताए ।
उनले बिहीबार सम्बन्धित जिल्लाका जनप्रतिनिधिहरूसँग छलफल गरेर सडक तथा पुलसँग सम्बन्धित विषयमा ठोस निर्णय लिने बताए । उनले जनप्रतिनिधिहरूसँगको छलफलमा तत्काल गर्नुपर्ने कामको प्राथमिकता हेरेर ठोस योजना बनाउने तयारी रहेको बताए ।
उनले भने, ‘पूर्वी जिल्लाहरूमा आएको बाढी पहिरो प्रभावित क्षेत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टिम चाँडै स्थलगत अनुगमनमा जाँदैछौ । प्रधानमन्त्रीसँगको अनुगमनमा स्थलगत रूपमा प्रभावित क्षेत्रमा पुग्न सकेनौ । बाढी पहिरोले सडक, पुल क्षति भएको स्थानमा पुगेर वास्तविक स्थितिको अवस्था बुझेर त्यसका निम्ति सरकारले के कदम चाल्नुपर्ने काम गर्छौं । बिहीबार सम्बन्धित जिल्लाका जनप्रतिनिधिहरूसँग सडक तथा पुलसँग सम्बन्धित विषयमा ठोस निर्णयको लागि बैठक बस्दैछौं । बैठकले तत्काल गर्नु पर्ने कामको प्राथमिकता हेरेर ठोस योजना बनाउँछौँ । बाढी पहिरोले अहिलेसम्म सडक पुलहरूमा बढी क्षति गरेको छ । बाढी पहिराले हेवाखोलाको पुल बगाउँदा ताप्लेजुङ जिल्ला जोडिने सडक मार्ग पूर्णरुपमा बन्द भएको छ । त्यही स्थानमा तत्काल पुल निर्माण गर्ने भनेर काम भइरहेको छ । सबै भन्दा पहिला मेची राजमार्ग खोल्नुपर्छ ।’
उनले बाढी पहिरोले अहिलेसम्म सडक पुलहरूमा बढी क्षति गरेको भन्दै हेवाखोलाको पुल बगाउँदा ताप्लेजुङ जिल्ला जोडिने सडक मार्ग पूर्णरुपमा बन्द भएको बताए । उनले हेवाखोलमा तत्काल पुल निर्माण गर्ने भनेर काम भइरहेको बताए ।








