पर्याप्त पूर्वाधार बनाउन नसक्दा राहदानी वितरणमा समस्या बढ्यो : नेता पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पर्याप्त पूर्वाधार बनाउन नसक्दा विद्युतीय राहदानी वितरणमा समस्या बढेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले केही वर्ष अघिको सरकारले नेपाली राहदानी विद्युतीय प्रणालीमा जाने निर्णय गरेपनि पर्याप्त पूर्वाधार निर्माण गर्न नसक्दा अहिले समस्या झेल्नुपरेको बताए । उनले सरकारले काम गर्न समस्या भए जनतालाई सो समस्या जस्ताको त्यस्तै राख्न सक्नुपर्ने बताए ।
नेता पुनले सरकारको नेतृत्व गर्ने मन्त्री वा नेताहरूले सकेसम्म समस्याहरूका विषयमा जनतासँग संवाद गर्न नचाहेको बताए। उनले काम गर्न समस्या भएको विषयमा जनतासँग संवाद गर्न सक्नुपर्ने बताए । उनले सरकारका समस्या, सुविधाहरू र सरकारले जनतालाई दिने सेवाहरूको विषयमा जनतासमक्ष संवाद गर्नेकुरा लोकतन्त्रको सुन्दर पक्ष भएको बताए ।
उनले सरकारले महँगोमा राहदानी खरिद गर्नुपर्ने बाध्यता सरकारले काम गर्ने तरिकाकै कारण भएको बताए । उनले राहदानी खरिदमा चलखेल हुनु राम्रो नभएको बताए । उनले जनतामा राजनीतिक व्यक्ति र प्रशासकले सेवाग्राहीलाई सधैँ हेप्छन् भन्ने भाष्य रहेको बताए ।
उनले भने, ‘केही वर्षअघि विद्युतीय राहदानीमा जाने सरकारले निर्णय गर्याे । तर त्यो समयमा प्राप्त पूर्वाधार बनाउन नसक्दा अहिले समस्या आएको हो । मन्त्रालय जनप्रतिनिधि संस्था भएकाले समस्या जस्ताको जस्तै राख्नुपर्छ । सरकारको नेतृत्व गर्ने मन्त्री वा नेताहरूले सकेसम्म समस्या बताउन चाहँदैनौँ । जनता वा सेवाग्राहीहरूसँग संवाद गर्न चाहँदैनौँ । दुनियाँभर समस्या हुन्छ । सरकारको सक्षमता पनि सीमित हुन्छ । सबै कुरा भनेकै समयमा गर्न सकिँदैन । तर आफ्ना समस्या, सुविधाहरू र सरकारले जनतालाई दिने सेवाहरूको विषयमा जनता समक्ष संवाद गर्ने कुरा लोकतन्त्रको सुन्दर र अनिवार्य पक्ष हो । सरकारले हामी नयाँ प्रणालीमा जाँदैछौं क्षमता यो प्रकारको छ । सुरुमा ५० लाख विद्युतीय राहदानी रिप्लेस गर्ने कुरा ठिकै गरेको हो । राहदानी खरिद महँगोमा ल्याउनुपर्ने कारण काम गर्ने तरिकाको कारण भइरहेको छ । निरन्तर रूपमा भेरियसनको माध्यमबाट राहदानी खरिद गर्दा पक्कै चलखेल र कमिसन होला भन्ने लागेकोले शङ्काको घेरामा रहेको हो । हामी जहिलै पनि राजनीतिक व्यक्ति र प्रशासक एक खालका हुन् । सेवाग्राही जनता जहिले पनि नेता तथा प्रशासकले हेप्छन् भन्ने भइराख्ने भएको छ । दुवै पक्ष समस्याको चुरो कुरामा नपुग्ने समस्या भइरहेको छ । सेवाग्राहीहरूले गुनासो गरिराख्ने शासनमा बस्नेहरू चुप लागेर बसेर महत्व वा आलोचना बढाउने प्रवृति रहेको छ । यो हाम्रो संस्कृत बदल्नुपर्छ । नबदल्दासम्म हामी गाली खाइराख्छौँ ।’
समिति बैठकमा नेकपा एमालेकी सांसद सुनिता बरालले राहदानी लिने भीड कम भयो भनेर सरकारले ढाकछोप गर्न खोजेको बताए । उनले राहदानी लिनको लागि विभागमा लाइन हट्यो भनेपनि अनलाइन फर्म भरेर चार महिना पर्खनुपर्ने बाध्यता सेवाग्राहीलाई रहेको बताए । उनले सरकारले विभागमा लाइन नभएर पनि चार महिनासम्म घरमा नै बसेको कुरालाई ढाकछोप गर्न नहुने बताए । उनले जनताका आवश्यकतालाई सम्बोधन गर्न राज्य तयार हुनुपर्ने बताए ।
उनले जनताका आवश्यकतालाई सम्बोधन गर्न राज्य तयार भए, नीतिगत वा अन्य सहयोग गर्न समिति तयार रहेको बताए । उनले सरकारले भएका समस्यालाई घुमाउरो बाटोबाट ढाकछोप गरेर सेवा प्रवाहलाई रोक्ने काम गर्न नहुने बताए ।








