विद्यालयका लेखापाल र कार्यालय सहयोगीले खरदारसरह सुविधा पाउनुपर्छ : सांसद बर्तौला
२०८० असार ६ गते

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेशकुमार बर्ताैलाले विद्यालयका लेखापाल र कार्यालय सहयोगीको खरदार सरह सेवा, सुविधा पाउनुपर्ने माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।
बुधवार प्रतिनिधिसभा दोस्रो बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो माग गरेका हुन् । सर्वोच्च अदालतको फैसला र आफैँले विगतमा गरेको सम्झौता अनुसार पनि उनीहरूको माग सम्बोधन गर्ने काममा सरकारले ढिलाइ गर्न नहुने सचेतक बर्तौलाले बताए ।
उनले विद्यालय तहका कार्यालय सहयोगीले मासिक ८ हजार र लेखापालले १३ हजार ५ सय मासिक तलब पाउने गरेको उल्लेख गर्दै यस्तो तलबले कसरी उनीहरूको गुजारा चल्न सक्छ ? भनी सरकारलाई प्रतिप्रश्न गरे ।
सचेतक बर्तौलाले भने, ‘उहाँहरुले विगत लामो समयदेखि लेखापालले १३ हजार ५ सयमा मासिक रूपमा काम गरिरहनु भएको छ । कार्यालय सहयोगीले जम्मा ८ हजारमा काम गरिरहनु भएको छ । कल्पना गर्नोस् । ८ हजारमा एउटा कर्मचारीले उसका बच्चा हुन्छ । परिवार हुन्छ । ८ हजार तलबले के गर्छ ? १० हजार छ सय तलबले एउटा कर्मचारीले बालबच्चा, पठनपाठन, सामाजिक व्यवहार कसरी टार्न सक्छ ? यो कामलाई पूरा गर्न सरकारले सहमति पनि गरेको छ । न्यूनतम तलब सुविधा उहाँहरूले खरदार सरहको माग गरेर आन्दोलन गरिरहनु भएको छ । सरकारले विगतमा पनि सो मागलाई पूरा गर्ने सम्झौता गर्याे । सर्वोच्च अदालतबाट पनि उहाँहरूको पक्षमा आदेशहरू भए । तर कार्यान्वयन भएको छैन । म विनम्रताका साथ शिक्षामन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु–ती कर्मचारीहरू जसले उठाएको माग न्यायोचित छन् । ती मागहरू पूरा गर्ने तर्फ यहाँको दृढताका साथ भूमिका रहोस् । पहलकदमी रहोस् । म यो माग गर्न चाहन्छु । उहाँहरूले उठाएको यो विषयमा म नेकपा एमालेको तर्फबाट, म एउटा जनप्रतिनिधि सांसदको तर्फबाट ऐक्यबद्धता जाहेर गर्दै छिटोभन्दा छिटो भएका सहमति र उठाएका मागलाई सम्बोधन गर्नका लागि आग्रह गर्न चाहन्छु ।’
सचेतक बर्ताैलाले विद्यालय तहका कर्मचारीको सो माग सम्बोधन गर्नका लागि तत्काल पहलकदमी लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको गम्भीर ध्यानाकर्षण समेत गराए ।
२०८० असार ६ गते
प्रतिक्रिया
सम्बन्धित








