योग र ध्यानको विषय प्राथमिक तहदेखि नै पाठ्यक्रममा समावेश हुन्छ : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्ने उद्देश्य राखेको बताएका छन् ।

बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग र ध्यानको महत्व, परम्परा र विरासतलाई आत्मसाथ गरेर नै सरकारले यस्तो निर्णय लिएको बताए । उनले यो निर्णयले आध्यात्मिक चिन्तनको महत्वलाई स्थापित गर्न गुणात्मक र दीर्घकालीन भुमिका खेल्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले नेपालका पुराना शहर र भवनको निर्माणमा पनि योगको ज्ञान, विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग भएको पाइने बताए ।

‘यहाँका पुराना शहर र भवनको निर्माणमा पनि योगको ज्ञान, विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग भएको देखिन्छ । मठ, मन्दिर, मूर्तिकलामा होस् वा चित्रकला, थांका होस् वा सबैतिर योगको जबरजस्त प्रभाव देखिन्छ । ढुंगेधारा, कुवा, इनार र राजकुलाका निर्माणमा पनि योग र तन्त्रको ज्ञानलाई प्रयोग गरेको हामी सबैले देख्न सक्दछौँ । त्यसैले योग नेपालकै अमूल्य सम्पति पनि हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘प्राकृतिक वातावरणको हिसाबले पनि नेपाल संसारभरका मानिसका लागि योग अभ्यासका लागि एउटा सुन्दर भूमि पनि हो । यो देश योगसम्बन्धी ज्ञान विज्ञानको अध्ययन गरिरहेका विश्वभरका अध्येताहरूका लागि नेपाल मुल गन्तव्य बन्नसक्ने प्रचुर सम्भावना छ । हामीले परिकल्पना गरेको योगमाया आयुर्वेद विश्वविद्यालयले भोलिका दिनमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्नुपर्दछ भन्ने हामीले ठानेका छौँ ।’

उनले योगमाया आयुर्वेद विश्वविद्यालयले भविष्यमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्ने पनि विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले योग शारीरिक अभ्यास मात्रै नभइ निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली र जीवनपद्धति भएको बताए ।

‘स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र मनोवैज्ञानिक रुपमा सबल बनाउन योगले महत्वपूर्ण सहयोग पुर्‍याउँछ । शरीरलाई स्वस्थ र फुर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सबैभन्दा राम्रो उपाय योग हो भन्ने इतिहास सिद्ध छ । योग र ध्यानको महत्वलाई हाम्रो परम्परा र विरासतलाई, धरोहरलाई आत्मसाथ गरेर नै योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्नेकुरा गरिएको छ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले योगसम्बन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा पर्याप्त ध्यान दिने हो भने नेपालमा योग पर्यटनमा गुणात्मक विकास गर्न सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 4 =