भोट कम आएको ठाउँमा कम र बढी आएको ठाउँमा बढी विकास हुँदैन : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेले जनताको धन र ज्यानको रक्षा गरेर विकास निर्माणका काम गर्नुपर्ने बताएका छन् ।
भरतपुर महानगरपालिका–१२ कालिका टोलमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जनतालाई उठिबास लगाएर गरिने विकासको अर्थ नभएको बताए ।
‘जनताको धन र ज्यानलाई सुरक्षित राखेर गरिने विकास नै दिगो विकास हो’ उनले भने ‘विकास निर्माणका काम गर्दा राज्यले विवेक प्रयोग गर्नुपर्छ ।’ उनले पार्टीका कार्यकर्तालाई झन्डा बोकेर नभई आम नागरिक बनेर जनताको सेवक बन्न आग्रह गरे ।
सभापति लामिछानेले पाँच वर्षमा आफ्नो पार्टीले उल्लेख्य काम गर्ने भन्दै राज्यबाट नै  विकासमा विभेद भएको गुनासो गरे । ‘भोट हालेको र नहालेकै आधारमा हामीले जनतालाई विभेद गर्न हुँदैन’ उनले भने ‘कम भोट आएको ठाउँमा कम विकास र बढी भोट आएको ठाउँमा बढी विकास भन्ने हुँदैन ।’
उनले आफूले आश्वासनभन्दा पनि आवश्यकता हेरेर विकास निर्माणका काम गर्ने बताए । जहाँ शिक्षा, स्वास्थ्य र खानेपानीको प्रबन्ध छैन, त्यहाँ पहिला विकासका काम गर्नुपर्ने भन्दै उनले सिङ्गो देशको समस्यालाई प्रमुख विषयवस्तु बनाएर अघि बढ्ने बताए ।
देश विदेशका सबै नेपालीको समस्या हाम्रै समस्या रहेकाले एक–एक गरेर समाधान गर्दै जाने उनले  प्रतिबद्धता जनाए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =