संसद्मा रास्वपा प्रमुख सचेतक- प्रेम चलाउनेलाई न्याय देऊ, नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता नलेऊ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै प्रमुख सचेतकले यस्तो बताएका हुन् ।
उपप्राध्यापक चलाउनेलाई न्याय दिन र पीडक नेविसंघका विद्यार्थीहरूलाई दण्डित गर्न पनि सरकारसँग माग गरे । त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक चलाउनेलाई विश्वविद्यालय परिसरमै मरणासन्न हुने गरी कुटपिट गर्नेहरूलाई कडा भन्दा कडा कारबाही गर्नुको सट्टा उनीहरूमाथि लगाइएको मुद्दा समेत फिर्ता लिने काम गरेर सरकारले अन्याय गरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।
प्रमुख सचेतक परियारले भने, ‘२०७७ साल असोज २० गते त्रिभुवन विश्वविद्यालय समाजशास्त्रका प्रोफेसर आफ्नो एटिएममा भएको पैसा झिक्न जान्छन् । तत्समयमा नेविसंघ निकट विद्यार्थीहरूले फलामको रडले मरणासन्न हुने गरी कुट्छन् । ३ वर्षसम्म धेरै ठाउँ जान्छन् ती प्राध्यापक न्याय माग्न । भौँतारिएर हिँड्छन् । अहिले अन्ततः जेष्ठ ३० गते सरकारको मन्त्रीपरिषद्ले उक्त मुद्दा फिर्ता लिने निर्णय गर्छ । हामी कुनै बेला नेपाललाई शान्ति क्षेत्र भन्दथ्यौ । आज कमसेकम विश्वविद्यालयहरू शान्ति क्षेत्र हुन भन्ने हाम्रो अवधारणगत बुझाई हो । प्रहरीले पनि भित्र जान पाउँदैन भन्ने हाम्रो शान्तिको मान्यतालाई गुण्डागर्दीको शैलीमा दिनदहाडै त्यसरी कुटपिट गरेर मरणासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो । न्याय चाहिन्छ । न्यायलाई मर्न नदिऊ । न्याय पनि म-यो भने हाम्रो आशा रहँदैन । विश्वविद्यालयजस्तो क्षेत्रमा त्यसरी गुण्डागर्दी शैलीमा मरणासन्न हुने गरी कुट्नेहरुलाई नछोडौँ । म सम्माननीय सभामुखमार्फत नेपाल सरकारको गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु । कृपया, यो गल्तीलाई सच्याउनुस् । पीडितलाई न्याय दिनुस् ।’
प्रमुख सचेतक परियारले शैक्षिक संस्थाहरू शान्ति क्षेत्र हुने मान्यतालाई समेत तिलाञ्जली दिने काम गरेका नेविसंघका ती विद्यार्थीहरूमाथि लगाइएको ज्यान मार्ने उद्योग अन्तरगतको मुद्दा सरकारले फिर्ता लिन नमिल्ने जिकिर गरे ।








