नेता र नेताका पत्नीलाई उपचारका लागि विदेश जान प्रतिबन्ध गर्नुपर्छ : प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले नेता र नेताका पत्नीलाई उपचारका लागि विदेश लैजान नमिल्ने व्यवस्था गर्नुपर्ने बताए ।
आइतबार प्रतिनिधिसभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो माग गरेका हुन् ।
त्यसैगरी सांसद सुवालले मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न नचाहनेलाई सरकारले अनुमति दिने गरी कानुन निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याए । उनले शिक्षा र स्वास्थ्य उपचारमा रोक्ने काम गर्नु भनेको मानवताविरुद्धको अपराध भएको उल्लेख गर्दै मेडिकल कलेज खोल्ने र स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने कामलाई सरकारले रोक्न नमिल्ने तर्क गरे ।
सांसद सुवालले जिल्ला सरकारी अस्पतालहरूलाई जनशक्ति र उपकरणको अभाव नहुने गरी आवश्यक व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । उनले भने ‘चिकित्सा शिक्षा निःशुल्क दिने, लाखौँ चिकित्सक तयार गरी क्युबा देशले जस्तै अभाव भएको देशमा चिकित्सक पढ्न पठाउने र क्युबाले जस्तै मेडिकल टुरिजमलाई अव सुरु गर्ने बेला ढिलो भइसकेको छ । यतातिर मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । र, नेपालमा रोवर्ट सर्जरी सुरु गर्न पनि विलम्ब गर्नु हुँदैन । यसकारण मेडिकल कलेज खोज्न चाहने जतिलाई, स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाउन चाहनेजतिलाई हामीले विधेयक पास गरेर दिन जरुरी छ । स्वास्थ्य उपचारको रोक्नु, शिक्षामा रोक्नु भनेको एक किसिमको यो मानवता विरोधी अपराध हो । मान्छेले शिक्षा प्राप्त गर्न नपाउनु, मान्छेले उपचार गर्न नपाउनु भनेको मानवताविरुद्धको अपराध हो । र, अरुअरु देशमा भए यस्तो मानवता विरोधी अपराध गर्ने अधिकारीहरू विरुद्ध मुद्दा चल्छ । र, मानव अधिकार आयोगले एकदमै कडा निर्देशन पनि दिन्छ । र, प्रत्येक प्रदेशमा एउटा अन्तर्राष्ट्रिय स्तरको सरकारी अस्पताल सञ्चालन गर्नु जरुरी छ । अव उप्रान्त सरकारी नेता र नेता पत्नीको विदेशमा उपचार हुँदैन भनेर मन्त्रीले भन्नु जरुरी छ । ७७ वटै जिल्लाका सरकारी अस्पताललाई उपकरण र जनशक्तिसहित सुविधा सम्पन्न सफा सुग्घर राख्ने प्रतिबद्धता जरुरी छ । ’
सांसद सुवालले नेपालमा पनि क्युवामा जस्तै मेडिकल टुरिजमको अभियान सञ्चालन गर्न ढिलाइ गर्न नहुने बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *