असार ४ गते समाजवादी मोर्चा घोषणा हुन्छ : राजेन्द्र पाण्डे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा रहेका र सरकार बाहिर रहेका कम्युनिष्ट दलबीच कार्यगत एकता असार ४ गते हुने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन नेपाल चितवनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले असार १ गते घोषणा गर्ने भनिएको समाजवादी मोर्चा प्राविधिक कारणले केही दिन ढिला हुन पुगेको बताए । उनले यस विषयमा छलफल जारी रहेको जानकारी दिए ।

उपाध्यक्ष पाण्डेले भने, “कम्युनिष्टबीच कार्यगत एकता गर्दै देशको राजनीतिक अस्थिरता रोक्नका लागि मोर्चा गठन गर्न लागिएको हो ।” सरकारमा रहेका र बाहिर रहेका कम्युनिष्ट पार्टीबीच भएका छलफल टुङ्गिए पनि केही प्राविधिक समस्याका कारण घोषणामा ढिलाइ भएको उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, “सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर अगाडि बढ्न सहज होस् भनेर मोर्चा गठनको पहल एक वर्षअघिदेखि भएको थियो ।”

सरकारमा रहेका दलले सरकार सञ्चालनमा सहयोग गर्ने र बाहिर रहेका दलले बाहिरी वातावरण तयार गर्ने गरी मोर्चा गठन गर्न लागिएको उपाध्यक्ष पाण्डेले बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपी पुर्पक्षमा जानुले भ्रष्टाचार विरुद्धको अभियान सुरु भएको उनले बताए । सुरुआतीमा पक्राउ परेका मात्रै नभई आरोपितलाई समेत कानुनी कठघरामा ल्याउनुपर्ने उपाध्यक्ष पाण्डेले पत्रकार सम्मेलमा जानकारी दिए ।

उनले भने, “नक्कली भुटानी शरणार्थीका विषयमा अनुसन्धान जहाँदेखि रोकिएको छ त्यहीँबाट पुनःसुरु गर्नुपर्छ । जो संलग्न भए पनि कारबाहीको दायरामा ल्याउनुपर्छ ।”

फरक प्रसङ्गमा उहाँले बजेट हरेक निर्वाचन क्षेत्र र जिल्लामा समानुपातीक हुन जरुरी रहेको बताए । अहिलेको बजेटमा विभेद देखिएको भन्दै यसलाई सच्याएर जानुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *