किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी छ : अर्थमन्त्री महत
२०८० जेठ ३२ गते

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताएका हुन् ।
बिहीबार अर्थ मन्त्रालयमा नेपाली किसानहरूले अर्थमन्त्रीलाई आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको किसानहरूको टोलीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले विगतमा कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले अनुदान नपाएको भन्दै उत्पादन हेरेर अनुदान दिने व्यवस्था बजेटले गरेको बताए ।
अर्थमन्त्री महतले सरकारले तरकारीमा कर स्थानीय उत्पादन वृद्धि र संरक्षण गर्नकै लागि लगाएको दाबी गरे । उनले सरकारले आयातित आलु, प्याज रोक्ने र स्थानीय उत्पादनको प्रोत्साहन र संरक्षण गर्ने मुख्य उद्देश्य रहेको भन्दै बजेट आएपछि स्वार्थ समूहले गलत प्रचार गरिरहेको बताए । उनले आलु प्याजमा लगाएको करले उपभोक्ता मूल्यमा वृद्धि नहुने उल्टो मूल्य घट्ने बताए । उनले करको व्यवस्थाले मुलतः आयातित वस्तु मात्रै महँगो हुने भन्दै स्थानीय उत्पादनलाई महँगो नबनाउने बताए ।
अर्थमन्त्री महतले सुपर मार्केटमा त्यही खालका उपभोक्ताहरू पुग्ने भएकाले त्यहाँ कर लगाएको बताए । उनले सरकारसँग स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न कर लगाउनुको विकल्प नभएकाले कर लगाएको बताए । उनले तरकारीमा कर लगाउने सरकारको कदम मुलुकलाई आत्मनिर्भर उन्मुख गराउने उद्देश्य रहेको बताए ।
उनले भने ‘ ज्येष्ठ १५ गते संसदमा प्रस्तुत आर्थिक विधेयकमा आलु प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई नै प्रोत्साहन र संरक्षण गर्ने हो । कृषि लगायत अन्य उत्पादक कृषकलाई एक तहको संरक्षण दिनुपर्छ भन्ने मान्यताका साथ प्रस्तुत गरिएको हो । यो करको व्यवस्थाले मुलतः आयातित वस्तुलाई नै महँगो बनाउँछ । स्थानीय उत्पादनलाई महँगो बनाउँदैन । सुपर मार्केटमा त्यही खालका उपभोक्ताहरू पुग्ने गर्छन् । अहिले दैनिक उपभोग्य खाद्यवस्तु पनि आयात गर्नु पर्ने भन्ने बहस भइरहेको छ । त्यसमा आयातको सट्टा मुलुकभित्रै उत्पादन बढौँ । त्यसले रोजगारी पनि सिर्जना पनि हुन्छ । उत्पादनकर्ता पनि उत्साहित हुन्छन् । नेपाल आत्मनिर्भरता तर्फउन्मुख हुन्छौँ भनेर प्रस्ताव गरिएको हो । तर यहाँ जो सङ्गठित समूहहरू छन् । उनीहरूको आवाज ठूलो हुन्छ । हरेक तहमा उनीहरू नै पहिला पुग्छन् । धेरैलाई उपभोक्ता मूल्य बढ्ने भयो उपभोक्तालाई मर्का पर्ने भयो भन्ने प्रभावमा परेका छन् । सरकारले उपाय स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने हो । प्रोत्साहन गर्ने धेरै उपायहरू छन् । त्यसमध्ये एउटा कर लगाउनु पनि एउटा उपाय हो। अरू उपायहरू थिएन । सरकारले कृषि क्षेत्रमा दिने अर्बौंंको अनुदानको सदुपयोग भएन । दुरुपयोग भयो । कागज देखाएर मात्रै अनुदान लिएका थिए अब त्यसरी हुँदैन । उत्पादनमा नै अनुदान दिने हो । त्यसमा पनि नयाँ टेक्नोलोजी प्रयोग गरिरहेको छ । उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी छ ।’
उनले सरकारले नयाँ टेक्नोलोजी प्रयोग गर्ने कृषकहरूलाई प्राथमिकतामा राखेर उत्पादन अनुदान दिने बताए । उनले नेपाली किसानहरूले ढुक्क भएर उत्पादन बढाउन आग्रह गरे ।
२०८० जेठ ३२ गते
प्रतिक्रिया








