भारतीय नक्सामा नेपाली भूमि समेटिएकोबारे कूटनीतिक नोट पठाउनुपर्छ : सांसद पन्त
२०८० जेठ ३२ गते

काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले भारतको संसद भवनमा अखण्ड भारतको नाममा नेपालको भूमि समेटिएको नक्सा राखिएको सम्बन्धमा सरकारले कूटनीतिक नोट पठाउनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले नेपाली भूमि भारतीय नक्सामा समेटिँदा समेत राज्य मौन भएको भन्दै यस्तो मौनता देशको स्वाधीनताप्रतिको बेवास्ता भएको बताए । उनले सो नक्साप्रति नेपालले विरोध जनाउँदै भारत सरकारलाई तत्काल कूटनीतिक नोट पठाउन सरकारसँग माग गरे । उनले कूटनीतिक नोट पठाएर सांसदलाई जानकारी गराउन समेत माग गरे ।
उनले भने ‘यस्तो नक्साप्रति हाम्रो मौनता देशको स्वाधीनताप्रति को बेवास्ता हो । त्यसैले यस्तो नक्सा प्रति विरोध जनाउँदै नेपाल सरकारले भारत सरकारलाई तत्काल कूटनीतिक नोट पठाएर सांसदलाई जानकारी दिन माग गर्दछु ।’
उनले नेपालको परराष्ट्र नीतिमा खलबल उत्पन्न हुन थालेको बताए । केही दिनअघि एक सञ्चार माध्यमसँगको अन्तर्वार्तामा भारतका लागि नेपाली राजदूत शंकर शर्माले हिन्दु राष्ट्रको पक्षमा वकालत गरेको भन्दै उनले यसबारेमा सरकारको स्पष्ट धारणाको माग गरे । उनले इपिजी प्रतिवेदनको सम्बन्धमा राजदूतले दिनुभएको वक्तव्यको पनि विरोध गरे ।
उनले भने ‘के इपिजि प्रतिवेदनको बारेमा राजदूतले व्यक्त गरेको विचारले नेपाल सरकारको प्रतिनिधित्व गर्छ ? गर्छ भने यो अत्यन्त आपत्तिजनक र खेदजनक छ । इपिजी प्रतिवेदनबारे नेपाल सरकारले सांसदलाई आफ्नो स्पष्ट दृष्टिकोण बताउनुपर्याे । के सरकारको दृष्टिकोण हिन्दु राष्ट्रको नारालाई प्रोत्साहन दिने हो ? धर्म निरपेक्ष बारे नेपाल सरकारको दृष्टिकोण के हो ? यो सांसदलाई स्पष्ट पारियोस् । के नेपाल हिन्दु राष्ट्र भएमात्र दुई देशको सम्बन्ध राम्रो हुने हो ? त्यसो हो भने २०४६ सालभन्दा अगाडीदेखि हिन्दु राष्ट्र थियो । ०४६ सालमा किन नाकाबन्दी लगाएको ? किन त्यो बेलामा राम्रो सम्बन्ध हुन सकेन ? यसको जवाफ चाहियो ?’
उनले राजदूत शर्माले १४ महिनापछि मात्रै भारतीय विदेशमन्त्रीलाई भेट गर्न पाएको भन्दै नेपाललाई हेपिएको कारण समयमै भेट हुन नसकेको उल्लेख गरे । उनले सो हेपाइप्रति प्रतिरोध गर्नुपर्ने बताए ।
२०८० जेठ ३२ गते
प्रतिक्रिया
सम्बन्धित








