सन्दीपका वकिललाई न्यायाधीशले भने– नरिसाई बहस गर्नुस्

शरणार्थी प्रकरणमा चर्को बहस गरेका अधिवक्ता बाबुराम दाहाललाई न्यायाधीशले इजलासमा नरिसाउन भनेका छन्।
बहसको सुरुवात बाटै आक्रोसित देखिएका दाहाललाई न्यायाधीश प्रेमप्रसाद न्यौपानेले भने, ‘नरिसाई बहस गर्नुस्। म यहिँ अगाडी छु सुन्छु।’
न्यायाधीशले यति भनिसकेपछि भने दाहालले नरम श्वरमा बहस गरेका थिए।
सन्दीप निर्दोष भएको र उनलाई फसाइएकाले आफ्नो मनैबाट चर्को श्वर आएको बताए।
‘कतिपय अवस्थामा मनैबाट आउँदो रहेछ श्रीमान, रिसाएको होइन। तर वास्तवमै सन्दीप पीडित छन् श्रीमान’, उनले भने।
बाबुले कसुर गरेकै भए पनि छोरालाई प्रतिवादी बनाउन नमिल्ने र सानु भण्डारीको डायरीलाई तरबारका रुपमा प्रयोग गरिएको गुनासो उनले गरे।
त्यसअघि वरिष्ठ अधिवक्ता ईश्वरी भट्टराईले टोपबहादुरको छोरा भएकैले प्रतिवादी बनाइएको हो कि भन्ने शंका व्यक्त गरे।
सानु भण्डारीले नाम लिएका जति सबैलाई प्रतिवादी नबनाइ छानिछानि प्रतिवादी बनाईको गुनासो उनले गरे।
सन्दीपले सानु भण्डारीबाट लिएको रकम ठगी गरेको नभई कम्पनीका नामको शेयर सानु भण्डारीलाई दिए त्यसबापतको भएको उनले दाबी गरे।
अधिवक्ता अवतार न्यौपाने त सन्दीपलाई पुर्पक्षका लागि पठाउँदा राज्यलाई ठूलो क्षति हुने दाबी गरे।
‘सन्दीपले व्यवसाय गरेर राज्यलाई ट्याक्स तिरिरहेका छन्। सन्दीपलाई थुनामा पठाउँदा राज्यले राजश्व पनि गुमाउनु पर्ने हुन्छ। उनी थुनामा गएपछि कम्पनी बन्द हुन्छ। कम्पनी चलेन भने त्यहाँबाट आउने राजश्व गुम्छ। राज्यलाई पनि घाटा हुने भएकाले सन्दीपलाई थुनामा पठाउनु हुन्न, साधारण तारेखमा छाड्न पर्छ’, न्यौपानेले भने।
अन्तिमा अधिवक्ता प्रविण सुवेदीले पनि उनको पक्षबाट बहस गर्दै साधारण तारेखमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्न माग गरे।








