वीरबहादुरको पिडा : बिक्दैनन् फलफूलका बिरुवा

गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उनी बिरुवा उत्पादनमा सक्रिय छन् ।

कार्की भन्छन्, “बाहिरी जिल्लाबाट बिरुवा भित्रिन्छन् । तर जिल्लाभित्रका बिरुवा बिक्री नहुँदा नर्सरीमा बिरुवा खेर गइरहेका छन् । ” उनले सुन्तला, कागती, टिमुर, अनार, किवी, चिया पत्ती, अम्बा, कुरिलो र धुपीलगायत दर्जनौँ बिरुवा उत्पादन गर्दै आएका छन् । विभिन्न कार्यालयले किसानलाई विभिन्न प्रकारका बिरुवा वितरण गर्दै आए पनि ती बिरुवा जिल्ला बाहिरबाट भित्रिएका छन् । सदरमुकाममै नर्सरी रहे पनि उनी बिरुवा बिक्री नभएपछि पिरलोमा छन् ।

कार्कीको नर्सरीमा हाल सुन्तला, कागती, टिमुर, अनार, किवी, चिया पत्ती, अम्बा, कुरिलो, धुपी, मौसम, गुलाफ, मनकामना, श्रीखण्ड, रुद्राक्ष, स्ट्रबेरी, सुगर फ्री, अङ्गुर र तरकारीजन्य सबै बिरुवा पाइन्छन् । बिरुवाबाट वार्षिक रु सातदेखि १७ लाखसम्म आम्दानी गर्ने कार्की यस वर्ष बिरुवा बिक्री नहुने चिन्तामा छन् ।

छपन्न वर्षीय कार्कीले बजारीकरणको ‘ग्यारेन्टी’ भएमा उत्पादन बढाउने बताए । तर बिरुवा बिक्री नभएपछि लगानी घटाउँदै गएको उनको गुनासो छ । “किसानलाई बिरुवा वितरण गर्ने कार्यक्रम गुल्मीमा बर्सेनि चल्छन्”, उनले भने, “माटो सुहाउँदो बिरुवा भए पनि हाम्रो बिक्री हुन्न, बाहिरी जिल्लाबाट खरिद हुन्छ”, सामुद्रिक सतहबाट एक हजार पाँच सयको उचाइमा उत्पादित बिरुवा होचो वा अग्लो दुवै स्थानका लागि उपयुक्त हुने भए पनि बिरुवा बिक्रीमा समस्या देखिएको हो ।

कार्कीसँग अहिले कागती रु ४० हजार, सुन्तला ३० हजार, टिमुर १५ हजार, अनार सात हजार, कुरिलो पाँच हजार, धुपी तीन हजार र अन्य बिरुवा एक हजारभन्दा माथिका रहेका छन् । उहाँले सुन्तला २३, कागती २५, टिमुर ६०, किवी एक सय ५० र अम्बा प्रतिबिरुवा रु ५० मा विक्री गर्छन् ।

उनले विसं २०६४ मा रु २० हजारबाट सुरु गरेको नर्सरी अहिले रु ४६ लाखको पुगेको छ । विगत १६ वर्षदेखि प्रत्येक वर्ष लगानी बढाउँदै गएका व्यवसायी कार्की बिरुवा बिक्री नहुन थालेपछि लगानी घटाउने सोचमा छन् । उनले हाल सात रोपनी जग्गामा बिरुवा उत्पादन गरिरहनुभएको छ । यसमा दुई रोपनी निजी र पाँच रोपनी जग्गा भाडामा छन् । भाडामा लिएको जग्गाको वार्षिक १५ हजार भाडा उहाँले तिर्दै आएका छन् । कार्कीलाई श्रीमती रेणुले नर्सरीमा सघाउँने गर्छिन् । नर्सरीबाट औसतमा दैनिक पाँच जनाले रोजगारी पाएका जनाइएको छ ।

उनले दुई वर्ष अगाडि एउटा टनेल घर निर्माण गर्न रेसुङ्गा नगरपालिकाबाट एक लाख अनुदान लिएको नर्सरी सञ्चालक कार्कीले बताए । “अनुदान नपाएको भन्ने मेरो गुनासो नै छैन”, उनले भने, “उत्पादित बिरुवाको बजार ग्यारेन्टी भए पुग्छ ।” उनी मालिका गाउँपालिका–५ छापहिलेका स्थायी बासिन्दा हुन् । राजनीति र कृषि पेसामा सक्रिय उहाँ विगत १६ वर्षदेखि जिल्ला सदरमुकाम तम्घासमा बस्दै आएका छन् । उनी नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इन्चार्जको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + three =