पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न व्यवसायीको माग
२०८० जेठ २६ गते

काठमाडौँ । पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न व्यवसायीहरूले माग गरेका छन् ।
शुक्रवार काठमाडमौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान), होटेल एशोसिएशन अफ नेपाल (हान), वायुसेवा सञ्चालक सङ्घले सरकार समक्ष यस्तो माग राखेका हुन् । व्यवसायीहरूले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि व्यवस्था गरेका करका दर खोरज गर्नुपर्ने माग गरेका छन् ।
व्यवसायीले पर्यटन तथा हवाई क्षेत्रमा सरकारले व्यवस्था गरेका करका दरप्रति असन्तुष्टि जनाउँदै नयाँ प्रस्ताव राखेका छन् । व्यवसायीहरूले पर्यटन क्षेत्रसँग सम्बन्धित सबै सङ्घ/सङ्गठन सम्मिलित विज्ञ समूह/समिति बनाएर गहन अध्ययन गर्नुपर्ने र घोषित करहरू १ वर्षपछि मात्र लागु हुनेगरी व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।
व्यवसायीहरूले कोभिड १९ महामारीबाट भर्खरै लयमा फर्कंदै गरेको पर्यटन क्षेत्रको पुनरुत्थानलाई सहज बनाउन भन्दै बजेटमा भएका घोषणाले पर्यटन उद्योगमा गम्भीर र नकारात्मक असर गर्ने भन्दै सरकारले यसतर्फ ध्यान दिनुपर्ने समेत बताए । कार्यक्रममा बोल्दै नेपाल पर्यटनका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालमा फ्लाइट भाडा महँगो भएको बताए ।
उनले सस्तो गन्तव्य भनिरहँदा भाडादर भने महँगो भएको बताए । उनले सरकारले करका दर हेरफेर गर्दा केमा बढाउने र केमा घटाउने भन्ने कुनै छलफल बिना नै भ्याट बढाइएकोप्रति असन्तुष्टि जनाए ।
उनले भने ‘नेपालमा फ्लाइटमा आउन महँगो भएको छ । नेपाल हिजो सस्तो डेस्टिनेशनको कुरा गर्दथ्यौँ तर आज महँगो भइरहेको छ । सरकारले कुनमा भ्याट लगाउने के गर्ने भन्ने छलफल नगरी एकैपटक भ्याट बढाइएको छ । हाम्रो सिस्टम, कर्मचारी संयन्त्र नै अस्थिर छ, यसरी कसरी मुलुकले पर्यटनमा परिवर्तन गर्न सकिन्छ ।’
पत्रकार सम्मेलनमा बोल्दै ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपालका अध्यक्ष निलहरि बाँस्तोलाले सरकारले देशलाई लगिरहेको गतिले व्यवसाय सञ्चालन गर्न नसकिने बताए । उनले पर्यटन व्यवसायीहरूले चाबी सरकारलाई बुझाएर बस्नुपर्ने स्थिति सिर्जना भएको बताए ।
उनले भने ‘सरकारले देशलाई जुन गतिमा लैजान खोजिरहेको छ । त्यो देखिँदैन । यसको आशय के बुझिन्छ भने तपाईँहरूलाई व्यवसाय गर्नबाट वञ्चित गराउने र पलायन गराउने, व्यवसाय बन्द गराउने बाटोमा सरकार हिँडेको आभास भएको छ । हामी ताल्चा साँचो सरकारलाई लगेर बुझाउने अवस्थामा पुगेका छौँ ।’
सरकारले नेपालमा हवाई टिकटका भ्याट लगाउँदा विदेशी एजेन्सीबाट टिकट बुकिङ बढ्न सक्ने चेतावनी समेत व्यवसायीले दिएका छन् । भ्याट लगाउँदा विदेशी पर्यटकको टुर प्याकेज महँगो हुने भन्दै व्यवसायीले नेपाल भ्रमणबाट निरुत्साहित हुने बताएका छन् । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, टुर तथा सफारी प्याकेज कम्तीमा १ वर्ष अगाडीबाटै बुकिङ गरी सोअनुसारको मूल्य राखिने गरेको भन्दै नयाँ थप भएका कर र शुल्कले व्यवसायी मारमा पर्ने उनीहरूको भनाइ छ ।
व्यवसायीले पर्यटकको सवारीको हकमा सवारी साधनको पूर्ण फिटनेस जाँच गरी ३० वर्षे आयु कायम गर्न समेत माग गरिएको छ । पर्यटन व्यवसायीले माफ्नो माग पुरा नभए दबाबमूलक कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन् । आफूहरूको माग सरकारका विभिन्न निकायमा बुझाएको भन्दै व्यवसायीले माग सम्बोधन नभए दबाबमूलक कार्यक्रम गर्ने चेतावनी दिएका हुन् ।
२०८० जेठ २६ गते
प्रतिक्रिया








