ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो

काठमाडौँ । हवाई टिकट बिक्रीमा ह्याकरको अनधिकृत प्रवेश भएपछि यस्ता घटनाबाट जोगिन सम्बन्धित सेवा प्रवाह गर्ने निकायलाई सचेत गराउन थालिएको छ ।
उक्त घटना सार्वजनिक भएपछि प्रहरीको साइबर ब्युरोले नेपाल पर्यटन बोडलाई पत्र नै काटेर सचेतनाका लागि आवश्यक समन्वय गर्न अनुरोध गरेसँगै बोर्डले सचेत गराउन थालेको छ । ‘पछिल्ला दिनमा हवाई टिकट बिक्रीमा ह्याकरको अनधिकृत प्रवेशका घटना बढी रहेको हुँदा सो सम्बन्धमा सुरक्षित रहन सम्बन्धित टिकेटिङ गर्ने ट्राभल एजेन्सीलगायतका कार्यालयलाई समयमै सचेतनाका लागि जानकारी गराई दिनुहुन अनुरोध छ’ ब्युरोले बोर्डलाई पठाएको पत्रमा भनिएको छ ।
अनुसन्धानको सिलसिलामा आवश्यक सूचना माग गरेको बखत यथाशीघ्र तोकिएको ढाँचामा उपलब्ध गराउनका लागि सम्बन्धित एयरलाइन्स तथा सोसँग सम्बद्ध सफ्टवेयर कम्पनीसँग समन्वयकारी भूमिकाका लागि अनुरोध गरिएको छ ।
सोही आधारमा नेपाल पर्यटन बोर्डले आवश्यक सचेतनाका क्रियाकलाप अघि बढाएको छ । सेवाप्रदायक निकायलाई आवश्यक सचेत गराउने, सुरक्षित रहन तथा जथाभाबी आफ्नो गोप्य जानकारी शेयर नगर्न र यकिन गरेर मात्रै कारोबार गर्न सम्बन्धित निकायलाई सचेत गराइएको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।
उनले सबै निकाय तथा सम्बद्ध व्यक्तिलाई सावधानीका समग्र उपाय अपनाउन सुझाव दिएको लामिछानेले बताए । घटनाका विषयमा अहिले साइबर ब्युरोले अनुसन्धान पनि गरिरहेको छ । ब्युरोमा परेको जाहेरीका आधारमा अनुसन्धान थालिएको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए । उनले घटना थप नघटोस् भनेर पर्यटन बोडलाई पत्राचार गरेरै सचेत गराउने भनिएको पनि बताए ।
केहीअघि कस्मो नेपाल ट्राभल्सलगायत तीन वटा संस्थाको ‘युजर नेम’बाट अनधिकृतरुपमा लाखौँको टिकेट काटिएको सार्वजनिक भएको छ । हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्षित गरी ह्याकरले ‘फिसिङ’का माध्यमबाट लग इन नेम र पासवर्डमा अनधिकृत पहुँच पुर्‍याइ विदेशी टिकट ‘इस्यु’ गरेको पाइएको थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + six =