शिक्षा मन्त्रालयमा बजेटको ७५ प्रतिशत तलबभत्तामा खर्च

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयअन्तर्गत विनियोजन गरेको बजेटमध्ये झण्डै ७५ प्रतिशत तलब भत्तामा खर्च हुने भएको छ ।

करिब साढे ३ लाखको हाराहारीमा रहेका बालविकास, पूर्वप्रावि, आधारभूत र माध्यमिक तहका शिक्षक, ११ वटा विश्वविद्यालयमा कार्यरत १ हजार ४ सय ४० र करारका समेत गरी १० हजार ८ सय १० प्राज्ञिक तहका शिक्षक र कर्मचारीका साथै मन्त्रालयका १ हजार ५४ कर्मचारीसहितको तलबवापत बजेटको १ खर्ब ४७ अर्ब रुपियाँ खर्च हुने भएको छ ।

तथ्याङ्कअनुसार विद्यालयका कर्मचारीका लागि ९ अर्ब रुपियाँ, उच्च शिक्षा तहका कर्मचारीका लागि १८ अर्ब र पेन्सन, निवृत्त सुविधा र उपदान शीर्षकमा १९ अर्ब रुपियाँ खर्च हुने भएको छ । त्यसैगरी मन्त्रालय र सोमार्फत संघका कर्मचारीको तलबवापत १ अर्ब रुपियाँ खर्च हुनेछ ।

बजेटको अधिकांश रकम तलब भत्तामा खर्च हुने गरेको जानकारी दिँदै मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘शिक्षक, कर्मचारी र विश्वविद्यालय तहका कर्मचारीको तलबमा अत्यधिक खर्च हुने भएकोले शिक्षामा विकास गर्न समस्या हुने देखिएको छ ।’

सरकारले आर्थिक वर्ष २०८०/०८१ को लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब ९७ अर्ब २९ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । विनियोजित रकममध्ये तलबबाहेक ५० अर्ब रुपियाँ विश्वविद्यालयसहित नेपालको शिक्षा क्षेत्रमा खर्च हुनेछ । उनले बजेटको आकार ठूलो भए पनि शैक्षिक सुधारमा अत्यन्तै न्युन बजेट रहेको टिप्पणी गरे ।

चालु आबमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि झण्डै ८ अर्ब रुपियाँ विनियोजन गरेको थियो । आगामी आबमा सो शीर्षकमा बजेट घटाएर १ अर्ब ७२ करोड मात्र छुट्याइएको छ । तलब भत्ताबाहेक सबै विद्यार्थीको हातमा शैक्षिक सत्रअगावै पाठ्यपुस्तक उपलब्ध गराउन करिब ३ अर्ब ५८ करोड रुपियाँ विनियोजन गरिएको छ । पाठ्यपुस्तकसँगै डिजिटल पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा पनि गरिएको छ । –नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *