कसैको फाइदा, बेफाइदाका लागि करका दर परिवर्तन गरेको छैनः अर्थमन्त्री महत

अर्थमन्त्री डा.प्रकाशशरण महतले कसैलाई फाइदा र बेफाइदा पुग्नेगरी करका दर परिवर्तन नगरेको बताएका छन्।
सोमवार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि त्यसको जवाफ दिँदै उनले कसैले फाइदा उठाइरहेको ठाउँमा फाइदा उठाउन नपाएर
रिसाएर यस्तो प्रचार गरेको हुनसक्ने बताए।
उनले आफूले समग्र अर्थतन्त्रलाई केन्द्रबिन्दुमा राखेर कसैलाई फाइदा र बेफाइदा पुग्नेगरी काम नगरेको स्पष्ट पारे। उनले इमान्दार भएर काम गर्दा हिलो छाप्ने काम भएको बताए।
उनले कसैले नियोजित रुपमा समाचारहरु लेखिरहेको भन्दै इमान्दारको काम नभएको बताए। उनले बजेटमा उद्योग व्यवसायलाई राम्रो हुने काम मात्रै गरेको बताए।
उनले समग्र अर्थतन्त्र र उद्योग व्यवसाय राम्रो बनाउने गरी इमान्दार भएर काम गर्दा पनि हिलो छाप्ने काम भएको भन्दै असन्तुष्टि जनाए। राम्रो काम गर्दापनि आक्षेप आइलाग्ने हो भने नेपालमा इमान्दार मान्छेहरुको काम छैन भनेर घोषणा गरिदिए हुने बताए।
उनले एकाध मानिसहरुको फाइदाको लागि अर्थमन्त्री र राज्य संयन्त्रले काम गर्न नमिल्ने बताए। उनले करका दर हेरफेर गर्दा अर्थसचिव, राजश्व सचिव,आन्तरिक राजश्व विभाग प्रमुख,भन्सार प्रमुख र उपसचिव मात्रै बसेर निर्माण गरेको बताए।








