गुडिरहेको बसबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

२०८० जेठ २० गते

गुडिरहेको बसबाट खसेर आज भक्तपुरमा एक महिलाको मृत्यु भएको छ।
भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा. २१ च. ५३०१ नंको गाडीको पछाडि सवार एक महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए।
करिब ४३ वर्षीया मृतक महिलाको पहिचान हुन नसकेको र पहिचानको प्रयास भइरहेको उनले बताए। गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाद्वारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए।
गाडी चालक काभ्रे भुम्लु गाउँपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३० वर्षीय सूर्यबहादुर पहरीलाई पक्राउ गरी प्रहरी वृत्त जगातीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। रासस

२०८० जेठ २० गते
प्रतिक्रिया
सम्बन्धित