टिप्पणी

दिनदहाडै ठग्ने माता/झाँक्रीमाथि कसले राख्ने निगरानी ?

एक्काइसौँ शताब्दीमा आइसक्दा पनि नेपालमा अन्धविश्वास कायमै छ । अन्धविश्वासको पछि लागेर ज्यान गुमाएको घटनाहरू निरन्तर बाहिर आइरहँदा पनि नेपालीको चेत खुल्न सकेको छैन । सरकारले नदेख्दा र सञ्चारमाध्यमले कलम नचलाउँदा माताहरूको ठगीधन्दा मौलाएको छ ।

विश्व आधुनिकीकरणको दौडमा छ तर नेपाली जनता अझैपनि अन्धविश्वासबाट माथि उठ्न सकेका छैनन् । उपचार गर्ने नाममा लुट्ने, श्रीसम्पत्ति सबै खाइदिने क्रम जारी नै छ । माताले उपचार गर्ने भन्दै काटीकुटी मारेको घटनाहरू निरन्तर सार्वजनिक भइरहेका छन् । उपत्यकासहित मुलुकका हरेक जिल्लामा यस्ता ढोँगी माताहरूको बिगबिगी छ । माताकै कारण कतिपयको घरव्यवहार बिग्रिएको छ । माताहरूले दिनदहाडै लुटिरहँदा पनि सरोकारवाला निकाय हात बाँधेर बसेको छ । मुलुकको चिकित्सकीय क्षेत्रमा धेरै विकास भइसकेको छ । थुप्रै सरकार र निजी अस्पताल खुलेका छन् । वरिष्ठ स्वास्थ्यकर्मीहरू यहाँ छन् । तैपनि आम नागरिक किन माताकै पछाडि लागिरहेका छन् ?

स्वास्थ्यकर्मीहरूलाई चुनौती दिएर माताहरूले रोग निको पारिदिने दाबी गर्दै आएका छन् । कोही आँखाले हेरेर रोग निको पारिदिने भन्छन्, कोही हात हेरेर । स्वास्थ्य क्षेत्रमाथि हिलो छ्यापेर माताहरूले यसो भनिरहँदा सरकार के हेरेर बसिरहेको छ ? किन त्यस्ता माता भनिनेहरूलाई कारबाही हुँदैन । कि त सरकारले माताहरूले आँखा हेरेर, हात हेरेर रोग निको पारिदिने भनेको सही हो भन्नुपर्‍यो । कि त त्यस्ता माताको नाममा भइरहेको ठगीधन्दालाई बन्द गराउनुपर्‍यो ।

शरीरमा अनेक रोग हुन्छन् तर माताहरू भूतप्रेत छ भन्दै कुटपिट गर्छन् । रोगले थलिएकाहरूलाई त्यसरी पिट्दा उनीहरूको त्यही ज्यान जान्छ । माताको कुटपिटका कारण केही समयअघि एक बालिकाले ज्यान गुमाएको घटना बाहिर आएको थियो । हालैमात्र पनि अर्की एक बालिकाको पनि ज्यान गएको छ । सर्पले टोकेको बालिकालाई अस्पताल लैजानुको साटो परिवारले माताकोमा लगेपछि ती बालिकाले अकालमा ज्यान गुमाइन् । आफू कमाउनका निम्ति माताहरूले नभएको आरोप लगाउँदै आएका छन् ।

अहिलेको जमानामा पनि माताहरूले ‘बोक्साबोक्सी’ भएको बताउने गरेका छन् । रोगले च्यापेको व्यक्तिलाई ‘बोक्साबोक्सी’ लगाइदिएको छ भन्दै माताहरूले आफ्नो कमाउधन्दा चलाउँदै आएका छन् । आफूलाई ‘बोक्साबोक्सी’ लगाइदिएको भन्दै रिसको झोकमा आएर एकले अर्काले कुट्छ । एउटाको ज्यान जान्छ, अर्को जेल जान्छ । मातालाई त पैसा आइहाल्यो । देशमा तीन तहको सरकार छ । जुनसुकै सरकार होस्, कसैले माताको गैरकानुनी काममा रोक लगाउन सकेनन् ।

वडाध्यक्ष, मेयरलगायतका जनप्रतिनिधिहरूले जनचेतना फैलाउन सकेनन् । अहिले हरेक इलाकामा प्रहरी चौकी छ । तर, आफ्नै अगाडि यस्तो अवैध धन्दा चलिरहँदा पनि प्रहरी प्रशासन निरीह भएर टुलटुल हेरेर बसेको छ । न प्रहरीले त्यस्ता माताको ठगीधन्दा चलाउने ठाउँमा ताला लगाउन सक्छ न मातालाई कारबाहीको दायरामा ल्याउन । राजनीतिक दलहरूले पनि यसतर्फ चासो देखाएका छैनन् । उनीहरूले माता कहाँ नजानु, तिनको विश्वासमा नपर्नु भनेर जनमानसलाई जागरूक बनाउन सकेका छैन ।

विद्यार्थीले पढ्ने पाठ्यपुस्तकमा अन्धविश्वासको बारेमा उल्लेख छ । उनीहरूले त्यो पढेका पनि हुन्छन् । यद्यपि, त्यो व्यवहारमा उतार्न सकिएको छैन । किन कि शिक्षक शिक्षिकाले किताबमा भएको घोकाउँछन् मात्र । त्योबाहेक बाहिर भएको घटना त उनीहरूलाई पनि थाहा छैन । भक्तपुरको सिर्जनानगर चोकमै एउटा ठूलो घर छ । त्यस भवनलाई ‘सत्य देवीस्थान’ भन्ने गरिएको छ । त्यहाँबाट मातालाई ‘भगवान्’ भन्ने गरिन्छ । अचम्म त के भने, माता को हुन् र कस्ती छिन् ? भन्ने कसैलाई पनि थाहा छैन ।

उक्त भवनमा बुधबार र शनिबार ठूलो मेला लाग्छ । हरियो लुगा, हरिया अबिर लगाएका माताका अन्धविश्वासीहरू त्यहाँ नाचगान गरिरहेका हुन्छन् । मातालाई आफ्नो समस्या सुनाउनका निम्ति १२ सयदेखि डेढ लाखको टिकट काट्नुपर्ने हुन्छ । गेटमा पाँच-सात जना हट्टाकट्टा व्यक्ति राखेर टिकट काट्ने गरिन्छ । भित्र माता कोही पनि छैनन् । माइक राखेर ठगीधन्दा चलिरहेको छ । भक्तपुरका स्थानीयलाई त्यहाँ माताको नाममा लुटको धन्दा मच्चिरहेका छ भन्ने राम्ररी थाहा छ ।

तर, कसले उसको विरोधमा बोल्ने ? ‘बोल्यो कि पोल्यो’ भनेजस्तै छ यहाँ । माताको ‘भुसतिघ्रे’हरूले हातखुट्टा भाँच्दिहाल्छन् । माताको प्रवेश गर्दा टन्न फलफूल लिएर जानुपर्छ । माताको दर्शन गर्न आएकाहरू फलफूल बोकेर आउँछन् । त्यही फलफूल बाहिर ल्याएर बेच्ने अनि कमाउने । सिर्जनानगरमा माताको भव्य महलजस्तो भवन छ । अरूलाई ठगेको पैसाले माताले पचासौँ ठाउँमा घरजग्गा जोडेकी छिन् । तर, माताको छन्दभेषका ठगहरूलाई कसले कारबाही गर्ने ?

माताको भवन र नेपाली कांग्रेसका सांसद दुर्लभ थापाको घर नजिकै छ । तर, थापाले माताको ठगीधन्दा देख्दैनन्, किन ? नेकपा एमालेबाट पूर्व सांसद महेश बस्नेत पनि भक्तपुरकै हुन् । उनले पनि अनदेखा गरिरहेका छन् । अहिलेसम्म कसैले नदेखेको माताको माइती गुन्डुको किवाचोक हो । उनको घरचाहिँ भैरवथाननेर हो । स्थानीय ज्यापु महिलाले यसरी दिनदहाडै ठग्दा जनप्रतिनिधिदेखि सांसद किन मौन छन् ? सूर्यविनायक नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजकुमारसहित अन्यले यहाँबाट मोटो रकम बुझिरहेका छन् ।

माताले पहुँचकै आडमा ठगीधन्दा चलाएको त सबैलाई थाहा नै छ । यसरी माताहरूले उपचार गर्ने हो भने जनताले तिरेको करबाट किन स्वास्थ्यकर्मीहरूलाई तलबभत्ता खुवाउने ? स्वास्थ्य मन्त्रालय किन चाहियो ? स्वास्थ्य विभागको के काम ? अस्पतालहरू बन्द गराएर मातालाई उपचार गर्ने जिम्मा दिए पनि हुन्छ । सरकारी अस्पतालका कर्मचारीहरू समयमा आफ्नो ड्युटीमा आउँदैनन् । आएकाहरू पनि हाजिर गरेर कुलेलम ठोक्छन् । निजी अस्पतालको महँगो उपचार सबैले ‘अफोर्ड’ गर्न सक्दैनन् । अनि विकल्प नै माताजस्ता ठगहरू रह्यो ।

सरकार र सरकारी कर्मचारीकै कारण माताहरूको ठगीधन्दा चलेको छ । धर्मको नाममा व्यापार गर्दा र उपचार गर्ने नाममा लुट्दाखेरि पनि सरकार कहाँ छ ? हिजो केही नभएको महिलाले अकुत सम्पत्ति जोडेकी छिन् । तर, कसले छानबिन गर्ने ? स्थानीयका अनुसार माताले दुई नम्बरी धन्दा पनि चलाउँदै आएकी छिन् । राज्यले त्यो मातालाई छुनसमेत सकेको छैन । भक्तपुरमै थुप्रो स्थानीय मिडिया छ । तर, उनीहरूले किन कलम चलाएनन् ? उनले लाखौँलाई ठगिन् तर कसलै चुइँक्क बोल्न सकेनन् ।

माताको नाममा व्यापार गरिरहेकालाई सरकारले तुरुन्तै समात्नुपर्छ । तिनले ठगेर कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । पछिल्लो समय उपत्यकाका गल्लीगल्लीमा यस्ता ठगीधन्दा चलिरहेको छ । देशभर सटर खोलेर माताहरूले आफ्नो लुट मच्चाइरहेका छन् । न यिनीहरूको दर्ता छ । माताको ठगीधन्दाबारे जानकारी गराउँदा पनि भक्तपुरका सिडिओ खडकप्रसाद अधिकारीले बेवास्ता गरेका छन् । तर, अहिलेसम्म सिडिओले त्यसलाई बन्द गराएका छैनन् । कि सिडिओले तत्काल माताको ठगीधन्दा बन्द गर्नुपर्‍यो ।

होइन भने गृहमन्त्री नारायणकाजी श्रेष्ठले तिनलाई सरुवा गरेर काम गर्न सक्ने पठाउनुपर्‍यो । सर्वसाधारण पनि सचेत हुन जरुरी छ । बिरामी भएको बेला माता कहाँ होइन, अस्पताल जानुपर्छ भन्ने ज्ञान सर्वसाधारणमा आओस् । जनस्तरबाटै माता, धामीझाँक्रीको विरोध गरेमा मात्र यो ठगीधन्दा बन्द गर्न सम्भव छ । सरकारले पनि गरिब जनताका लागि निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ । स्वास्थ्य सेवा छिटोछरितो बनोस् । स्वास्थ्यकर्मीहरू बिरामीको स्वास्थ्यप्रति गम्भीर बने भने माताहरूको ठगीधन्दा बन्द हुन्छ ।

माता, धामीझाँक्रीहरुले समेत राजनीतिक पार्टीको सदस्यता लिएका छन् । राजनीतिक दलहरूले पार्टी चलाउनसमेत यिनीहरूबाट चन्दा उठाउने गरेका छन् । सबै जना चेतनशील हुने हो भने माताहरूको धमिलो पानीमा माछा मार्ने धन्दा बन्द हुन्छ । राजधानीमै माताले ठगेको सरकारले देख्दैन भने दुर्गम जिल्लामा के देख्छ ?

प्रतिक्रिया

One thought on “दिनदहाडै ठग्ने माता/झाँक्रीमाथि कसले राख्ने निगरानी ?

  1. माता र धर्म को नाम मा परिवार बाँडिएका छन् । बाउ एउटा को अन्धो भक्त, आमा अर्कोको, छोरा छोरी अर्को को । बाँके मा सामुदायिक बन् मा मन्दिर बनाएर माता को धन्दा छ। सच्चाई भन्ने धर्म ले अस्पताल मा पाइला नटेक्नू भन्छ । सत साहेब भन्ने ले उस्तै , अर्चना बाबा भन्ने अर्को तिर, देशका जनता हामी कता जान लाको अच्चम्म लाग्छ। युवा खाडीमा , महिला , वृद्ध माता र बाबा को पछि। छोरा छोरी लाई स्कुल होइन तंत्र मन्त्र पढाउन बेर छैन हामी नेपाली ले । बाँके मा पनि यी बाबा माता ले ठूलो आर्थिक अपचलन गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *