कर्णालीमा लैंगिक हिंसाको अवस्थाबारे युवाहरूसँग छलफल

सुर्खेत । कर्णाली प्रदेशमा अझै पनि विभिन्न हिंसाहरू व्याप्त रहेका छन् । शिक्षा, स्वास्थ्य र सचेतनाको कमीले कर्णालीमा परम्परादेखि चल्दै आएका विभिन्न हिंसाले बेला बेलामा भयावह अवस्था समेत उत्पन्न हुने गरेका छन् । वीरेन्द्रनगरमा आज कर्णालीका यस्तै समस्याका बारेमा विभिन्न जिल्लाका युवाहरूसँग छलफल भएको छ ।

भिएसओ नेपाल तथा एक्टिभ परियोजनाको आयोजनामा भएको कार्यक्रममा युवाहरूले कर्णालीमा प्रमुख सामाजिक समस्याको रूपमा रहेका लैङ्गीक हिंसा, बालविवाह, छाउपडी प्रथाका बारेमा यहाँको वर्तमान अवस्था, यसबाट परेको प्रभाव, न्यूनीकरणका उपाय र युवा तथा युवा संस्थाहरूले गरेका प्रयासका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा बोल्दै बास नेपाल कर्णाली प्रदेशका संयोजक धिरेन्द्र शाहीले कर्णाली प्रदेशका विभिन्न जिल्लामा अझै पनि बालविवाह र महिला हिंसा व्याप्त रहेको बताए । यसको न्यूनीकरणका लागि समुदाय स्तरबाटै लाग्नुपर्ने बताउँदै समाजमा पछि परेका वर्गहरूमा यस्ता समस्याहरूले झनै विकराल रहेको बताए । यसको न्यूनीकरणका लागि आफू तथा आफू संलग्न विभिन्न युवाहरूको समूहबाट काम गर्दै आएको पनि उनले बताए ।

यस्तै, कार्यक्रममा सहभागीहरूले लैङ्गीक हिंसा पनि कर्णालीको एक प्रमुख समस्या रहेको बताए । हिंसाको स्वरूप फेरिए पनि हिंसा अझै रहेको बताउँदै लैङ्गीक हिंसाको न्यूनीकरण थप जटिल बन्दै गएको बताए । सामाजिक सञ्जालको प्रयोग बढेसँगै महिला हिंसाले अर्कै स्वरूप लिएको पनि सहभागीको भनाइ थियो । छाउपडी प्रथा कर्णालीका सहरहरूबाट न्यूनीकरण भएको देखिए पनि गाउँघरमा अझै उस्तै रहेको कार्यक्रममा सहभागी युवाहरूको भनाइ थियो ।

छाउपडी प्रथाको पहिलेजस्तो विकराल रूप नरहेको भए पनि कर्णालीका हिमाली जिल्लाहरूमा यो प्रथा व्याप्त रहेको र अझै पनि महिलाहरू महिनावारी हुँदा घरभन्दा बाहिर बस्नुपर्ने बाध्यता रहेकाेबारे पनि कार्यक्रममा छलफल भएको थियो । कर्णालीमा विद्यमान यस्ता समस्याहरूको समाधानका लागि युवाहरूले नै सक्रिय भएर लाग्नुपर्ने युवाहरूको निष्कर्ष थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *