सन्दीपविरुद्धको मुद्दा पेसीको तेस्रो नम्बरमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज न्यायाधीश शंकरबहादुर राईको इजलासमा हुने भएको छ । जिल्ला अदालत काठमाडौँमा दर्ता भएको मुद्दाको अन्तिम सुनुवाइका लागि न्यायाधीश राईको इजलासमा तोकिएको हो ।
लगातार पेसी तोकिए पनि सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइपछि सर्दै गएको छ । आज भने पेसीको तेस्रो नम्बरमा परेकाले उक्त मुद्दा आजै सुनुवाइ हुने सम्भावना देखिएको छ ।
यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासमा अन्तिम सुनुवाइका लागि पेसी तोकिएपनि लामिछानेका कानुन व्यवसायीले पीडितको उमेरको विवादमा पेस गरेको जन्ममिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश भएको थियो । सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसला दिन सकिरहेको छैन ।
लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।








