वन क्षेत्रमा १५ अर्ब ५६ करोड, कृषि तथा पशुपन्छी मन्त्रालयलाई ५८ अर्ब बजेट

काठमाडौँ । सरकारले वन तथा वातावरण क्षेत्रमा रु १५ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट पेश गर्दै वन, जैविक विविधता र जलाधार व्यवस्थापनमार्फत वातावरणीय सन्तुलन कायम गरिने बताए ।

वन सम्पदाको दिगो उपयोग र वनजन्य उद्यम विकास गर्दै राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाइने बताए । संरक्षित क्षेत्र र सामुदायिक वनलाई पर्यापर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उल्लेख छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत सङ्घ, प्रदेश र स्थानीय तहको सहभागितामा चुरे संरक्षणको गुरुयोजना कार्यान्वयन गरिने अर्थमन्त्री महतले बताए ।  यसअन्तर्गत जल र जमिन संरक्षण गर्न बाँस रोपण, रिचार्ज पोखरी, गल्छी, पहिरो नियन्त्रणलगायत कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

सरकारले आगामी आर्थिक वर्षमा ५ करोड ६० लाख डोज भ्याक्सिन उत्पादन गर्न आवश्यक रकम विनियोजन गरेको छ ।

नेपालमा हुने पशुपालनमा आउने महामारीबाट हुने क्षती रोक्न खोप कार्यक्रम सञ्चालन गर्ने र यसका लागि उक्त खोप उत्पादनको लागि बजेट विनियोजन गरेको अर्थमन्त्रीले बताएका छन् ।

यस्तै, सरकारले कृषि क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तहको संलग्नतामा एकीकृत कार्यक्रम सञ्चालन गर्ने समेत घोषणा गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड बजेट विनियोजन भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *