स्रोतको तीव्र दबाबबीच आज बजेट प्रस्तुत

काठमाडौँ । स्रोतको तीव्र दबाबबीच सरकारले आज आर्थिक वर्ष २०८०/८१ को आयव्ययको विवरण (बजेट) सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो सवा ४ बजे करिब १७ खर्ब हाराहारीको बजेट प्रस्तुत गर्न लागेका हुन् ।

राजस्व सङ्कुचनको सामना गरिरहेको सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति अख्तियार गर्ने तयारी गरेको छ । अर्थमन्त्री महतले विभिन्न सार्वजनिक कार्यक्रम मै सरकारलाई स्रोत व्यवस्थापनको दबाब रहेकाले अनावश्यक प्रशासकीय खर्च कटौती गर्नुपर्ने अवस्था रहेको बताउँदै आएका छन् । त्यस्तै बजेटमार्फत सरकारले विकासमा अवरोध पु(याइरहेका कतिपय नीतिगत अड्चन समाधानको नीति अख्तियार गर्ने अनुमान गरिएको छ।

बजेटमार्फत सरकारलाई अतिरिक्त दायित्व सिर्जना हुने नयाँ कार्यक्रम घोषणा नहुने सङ्केत अर्थमन्त्रीले गरेका छन् । सरकारले आफ्नो नीति तथा कार्यक्रममै पनि खर्च कटौती र अनावश्यक दायित्व सिर्जना नगर्ने उल्लेख गरेको थियो । त्यस्तै बजेटमार्फत कतिपय चालु खर्च र वित्तीय हस्तान्तरण भइजाने अनुदान पनि कटौती हुँदैछ ।

बजेट भाषणसँगै सरकारले सोमबार विभिन्न चार वटा विधेयक प्रस्तुत गर्दैछ । बजेटका अङ्क अर्थमन्त्रालयले टुङ्ग्याइसकेको छ । यद्यपि अर्थमन्त्रीले प्रस्तुत गर्ने बजेट वक्तव्य भने सोमबार बस्ने मन्त्रीपरिषद् बैठकपछि मात्रै प्रकाशनका लागि पठाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *