जडीबुटीको ७५ प्रतिशत बजार भारतमा

नेपालगञ्ज । कुनै जमाना थियो, पहाडी जिल्लामा सङ्कलन भएका जडीबुटी लामो समय लगाएर डोकोमा बोकी नेपालगञ्ज ल्याइन्थ्यो । नेपालगन्जमा हाटबजारमार्फत यसको कारोबार हुन्थ्यो । तर अहिले ढुवानीमा धेरै सहज भएको छ । पहाडबाट मोटरगाडीमा नेपालगञ्ज आइपुग्ने जडीबुटी बिक्रीका लागि पहिले जस्तो हाटबजार लगाउनुपर्ने अवस्था पनि छैन ।
२० वर्षदेखि जडीबुटीको कारोबारमा संलग्न नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टंक शर्माका अनुसार पछिल्लो समय जडीबुटीको व्यावसायिक खेती पनि बढ्न थालेको छ । खासगरी टिमुर, तेजपत्ता, रिट्ठा, अमला, मेन्था लेमनग्रास अशोगन्धा, पिपलाको व्यावसायिक खेती हुन थालिसकेको छ ।
जडीबुटीको बजारको सम्भावनालाई हेर्दा यसको उत्पादन, प्रशोधन र निकासीबाट मात्रै  ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिने उनको बुझाइ छ । हाल जडीबुटी सङ्घमा देशभरका तीन सय ५० व्यवसायी आबद्ध छन् । जसमध्ये नेपालगन्जमा मात्रै एक सय २० जना  व्यवसायीले मात्रै वार्षिक रु एक अर्बको कारोबार गर्दै आएका छन् ।
‘जडीबुटीको अपार सम्भावना छ, यसलाई नीति निर्माण गरेर व्यवस्थित गर्न सकिन्छ’ शर्माले भने ‘हरेक वर्ष जडीबुटीको माग बढ्दो  छ । पछिल्लो एक वर्षमा मात्रै चार सयदेखि सात सय टन जडीबुटीको उत्पादन र बजारीकरण भएको छ ।’
कर्णालीको हुम्ला, जुम्ला, डोल्पा, कालिकोट, दैलेख, रोल्पा, रुकुम, जाजरकोट, डोटी, अछाम, डडेलधुरा, बैतडीमा उत्पादन भएका जडीबुटी नेपालगञ्ज ल्याएर विभिन्न बजारमा पुर्याउने गरिएको छ ।
‘यहाँ उत्पादन हुने जडीबुटीमध्ये आन्तरिक बजारमा पाँच प्रतिशत मात्रै खपत हुने गरेको छ भने ७५ प्रतिशत भारतीय बजारमा र बाँकी २० प्रतिशत युरोप र अमेरिकालगायतका मुलुकमा खपत हुने गरेको छ’ उनले भने ।
उनका अनुसार भारत निकासी हुनेमा जटामसी, कुडकी, पमदचाँल, अमलावाद, बिख, चिराइतो, शेतकचिनी, रिट्ठा, दालचिनी, तेजपत्ता, सुगन्धवाल, घुच्ची च्याउ, यर्सागुम्वा लगायत ८० प्रकारका जडीबुटी पर्छन् । त्यसमा पनि विशेष गरी ३० प्रकारका जडीबुटीको माग बढी हुने गरेको उनको भनाइ छ ।
अध्यक्ष शर्माले कोरोनाकालमा जडीबुटीको वास्तविक पहिचान भएको उल्लेख गर्दै अदुवा, बेसार, मेथी, गुर्जो लगायतका जडीबुटीको सबैले उपभोग गरेको बताए । उनले सरकारले यसको व्यावसायिक खेतीका लागि नीतिगत तहबाटै प्रोत्साहन गर्नुपर्ने बताए । जडीबुटीको व्यावसायिक खेती गर्न सके यसबाट राम्रो आर्थिक लाभ लिन सकिने उनको बुझाइ छ ।
पहाडी जिल्लाका किसानसँग सङ्कलन गरिएका जडीबुटी वन कार्यालयको अनुमति लिई व्यवसायीले नेपालगन्जसम्म ल्याउँछन् । यसका लागि निश्चित मूल्य तोकिएको हुनाले किसानले पनि सोही अनुसार मूल्य प्राप्त गर्ने उनको भनाइ छ । यसरी विभिन्न जिल्लाबाट सङ्कलन गरिएका जडीबुटी खजुरा गाउँपालिका–४ मा रहेको छ हजार पाँच सय टन क्षमताको गोदाममा भण्डारण गरिन्छ ।
तर वन कार्यालयसँग अनुमति लिनका लागि कहिलेकाहीँ समस्या हुने भन्दै सल्यानका व्यवसायी हरि न्यौपानेले यसका लागि नीति नभएको गुनासो गरे ।  जसका कारण बिक्रीमा पनि समस्या हुने गरेको उनको भनाइ छ । उनका अनुसार सल्यानबाट मात्रै वार्षिक रु एक करोड ५० लाख बराबरको जडीबुटीको कारोबार हुने गरेको छ । न्यौपाने १८ वर्षदेखि यस व्यवसायमा संलग्न छन् ।
‘जडीबुटी सङ्कलन गर्न मात्र तीनदेखि चार महिनासम्म लाग्छ’ जडीबुटी सङ्घ सल्यानका महासचिवसमेत रहेका न्यौपानेले भने ‘निकासीमा समस्या आउँदा दररेटमा समेत असर पर्छ ।’ सल्यानका किसान मोहन न्यौपाने जडीबुटीको गुणस्तरीय उत्पादनका लागि ग्रेडिङ आवश्यक भएकोमा बत्ताउँछन् । त्यसो भएमा किसानले पनि लाभ लिन सक्ने उनको बुझाइ छ ।
उनले सल्यानबाट टिमुर, अदुवा, सुठोलगायतका जडीबुटीको कारोबार हुने गरेको उल्लेख गर्दै जिल्लाको छत्रेश्वरी गाउँपालिकामा टिमुरको व्यावसायिक खेती भएको क्षेत्रका रूपमा परिचित भएको बताए ।
जडीबुटी विकास बोर्ड गठनको माग
गणतन्त्रको स्थापना भएको पन्ध्र वर्ष पूरा भइसक्दा पनि यसबाट जडीबुटीको क्षेत्रमा तात्विक परिवर्तन नभएको व्यवसायीले गुनासो गर्दै आएका छन् । जडीबुटी सङ्घका अध्यक्ष शर्मा वि.सं २०४५ मा बनेको ऐन अनुसार नै अहिले काम भइरहेको बताए ।
उनले भारतीय बजारमा निकासी गर्न अझै पनि सहज अवस्था नरहेको बताउँदै जडीबुटी निकासी नीति खुकुलो नहुँदा व्यवसायीले सास्ती खप्नु परेको बताए ।
जडीबुटी प्रशोधनका सम्बन्धमा पनि नीति नभएको र व्यवसायीले कोरा निकासी गरिरहेको उनको भनाइ छ । अध्यक्ष शर्मा सरकारलाई यसको विकास र विस्तारका लागि जडीबुटी विकास बोर्ड गठन गर्न आग्रह गरेका छन् । जसमा समावेशी प्रतिनिधित्व हुने गरी नीतिगत तहका विज्ञसमेत समावेश हुनुपर्ने उनको बुझाइ छ ।
शर्माले जडीबुटीको सम्भावना, अध्ययन र अनुसन्धान केही नभएको गुनासो गरे । पश्चिम क्षेत्रका किसानलाई अनुदानसम्बन्धी नीति कार्यान्वयन नभएको र जडीबुटीमा बिमा कार्यक्रम पनि प्रभावकारी रूपमा कार्यान्वयन नभएको उनको बुझाइ छ ।
उनले बाँके, बर्दिया, दाङ, प्युठानलगायतका जिल्लामा पकेट क्षेत्र निर्धारणमा  जडीबुटी खेतीको सम्भाव्यता अध्ययन भएको र त्यसबाट किसानले सामान्य लाभ लिएको बताए ।
नेपालमा करिब ८५ प्रतिशत जडीबुटी जङ्गली वासस्थानबाट सङ्कलन हुने गर्दछ । भएको जडीबुटी पनि बिना प्रशोधन, बिना मूल्य अभिवृद्धि निर्यात हुने गरेको व्यवसायीको भनाइ छ ।
जैविक विविधताको हिसाबले नेपालमा ११८ प्रकारका परिस्थितिकीय प्रणाली, ७५ प्रकारका वनस्पति वर्ग, ११ हजार नौ सय ७१ वनस्पति प्रजाति भएकोमा करिब सात सय प्रकारका औषधिजन्य जडीबुटी पाइन्छन् ।

नेपाल व्यापार सूचना पोर्टलले नेपालबाट एक सयभन्दा धेरै प्रकारका वनस्पति वार्षिक रूपमा व्यापार भइरहेको देखाए पनि जडीबुटीबाट राष्ट्रिय आयमा भएको योगदान सन्तोषजनक देखिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seventeen =