नेपाली कांग्रेस आलोचनाबाट डराउने पार्टी होइन : देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन् ।

उचित आलोचनाले काम गर्न झन् उत्साह बढाउने तथा केही समस्या भए करेक्सन गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने उनको तर्क थियो । नेपाल प्रेस युनियनको ३२ औँ स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणको काममा एकजुट भएर लाग्नुपर्ने आवश्यकता पनि औँल्याए ।

प्रजातन्त्रको खिलापमा एक थरी लागि परेको उल्लेख गर्दै उनले त्यसको सुदृढीकरणमा सबै राजनीतिक दलहरू लाग्नुपर्ने बेला आएको बताए । सभापति देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने भएकाले त्यो कुरालाई सबैले बुझेर अघि बढ्नुपर्ने बताए ।

देउवा भन्छन्, ‘आलोचनाबाट डराउनुपर्ने कुरा छैन काँग्रेसले । डराउँदैन पनि । कतिपय उचित आलोचनाहरू हुन्छन् । त्यसले आगामी दिनमा काम गर्न अझ आलोचनाले कामहरू गर्न झन् उत्साह हुन्छ । केही समस्या भए करेक्सन पनि हुन्छ । त्यस कारणले केही समस्या भए समाधान गर्न पनि सहज हुन्छ आलोचनाले । अहिले बडा चुनौती आएको छ देशमा । राष्ट्रमा लामो लडाई पछि आएको प्रजातन्त्र हो । यसको खिलापमा पनि एक थरी लागेका छन् । त्यस कारणले यस्तो हुनुलाई अन्यथा लिनु हुँदैन । त्यस कारण हामी सबैले एकजुट भएर प्रजातन्त्रको सुदृढीकरण गर्ने काममा, केही कमी छन् भने सुधार्दै अगाडि बढ्नुपर्दछ । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । अरू कुनै हुन सक्दैन । यो कुरा सबैले बुझ्नुपर्दछ भन्न चाहन्छु ।’

त्यस अवसरमा सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणमा योगदान पु¥याएको भन्दै नेपाल प्रेस युनियनको पनि प्रशंसा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *