रास्वपाको प्रगतिमा डाहा गर्नेहरूले पैसा लिएकाे आरोप लगाए : डीपी अर्याल (अन्तर्वार्ता)

'रास्वपाले नक्कली भुटानी शरणार्थी प्रकरणकाे जस्तै अन्य भ्रष्टाचार फाइल खोल्छ भनेर नेताहरू तर्सिएका छन्'

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको १० महिना पुगेको छ । बिहीबार मकालुखबरको टोली राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वसुन्धरा पुग्दा पार्टी कार्यालयमा नेताहरूको निकै चहलपहल थियो । कार्यकर्ताको बाक्लो उपस्थिति रहेको त्यहाँ पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी कार्यकर्तालाई पार्टीको आगामी कदमबारे जानकारी गराइरहेका थिए । यता पार्टी उपसभापति डोलप्रसाद अर्याल (डिपी) आफ्ना पार्टीका नेताहरूसँग अनौपचारिक मिटिङमा थिए । देशव्यापी पार्टी निर्माणको चरण तथा प्रचार प्रसारले गर्दा उनी र उनको फोन पनि निकै व्यस्त देखिन्थ्यो । मिडियामा कुराकानी गर्न कमै रुचाउने अर्याल पार्टी निर्माण हुनुभन्दा पहिले व्यवसायीका रूपमा काम गरेको सुनाउँदै मिडियामा बोल्नभन्दा आफू काम गर्ने रुचाउने बताए । उनले भने, ‘मैले बोल्नुभन्दा पार्टी प्रवक्ता तथा सभापतिले बोल्नु राम्रो लाग्छ । पछिल्लो समय त मिडियामा बोलेको भन्दा अलग कुरा जाने भएकाले त्यो कुराबाट पनि डर लाग्छ ।’

यसैबीच हामीले अर्यालसँग सभापति रवि लामिछानेको पासपोर्ट प्रकरणमा सर्वोच्च अदालतमा परेको मुद्दा, अर्याललाई रास्वपाका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले लगाएको भनिएकाे आरोप तथा रास्वपाको भावी कार्यदिशाबारे कुराकानी गरेका छाैँ । प्रस्तुत छ साेही कुराकानीकाे सम्पादित अंश :

यहाँकै पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले यहाँ र यहाँको महामन्त्री मुकुल ढकाललाई आफू समानुपातिक सांसद बन्न रकम बुझाएको भनेर मिडियाले समाचार बनाएका छन् । के याे साँचो हो ?

मान्छेको चेतनास्तर विकास नगरेसम्म समाज परिवर्तन हुँदैन । यो कारण शिक्षा चाहिएको हो । हाम्रो समाज कस्तो हो भन्ने कुरा शिक्षाले बुझाउने गर्दछ । आज हामी मान्छेले राम्रो गर्दा उसलाई सहयोग गर्नुको साटो खुट्टा तान्नेतर्फ उन्मुख भइरहेका छाैँ । यो कुरा सामान्य रूपमा पनि बुझिएको छ । जनताले बुझेका छन् । राम्रो गाडी, राम्रो घर र स्ट्याटस भयो भने समाजले कहाँबाट कमायो भनेर हेर्न थाल्छ । तर त्यो कसरी र कहाँबाट गरेको हो सिक्न र छलफल गर्ने चाहँदैन । आजको समाज तपाईँ हामीले लागाएकाे, खाएको र तपाईँको प्रगति लुछ्ने समाज छ । त्यस्तै, आज रास्वपा जन्मँदै गर्दा देशमा भएका सबै राजनीतिक दल र ठुला दललाई औडाहा भएको छ । जसको कारण ठुला दल र षड्यन्त्रकारी मान्छेको निन्द्रा हराएको छ । हामीले ६ महिनाको बिचमा २० जना सांसद लिएर सानो दलले संसद प्रवेश गरेको इतिहास संसारमा कहीँ पनि छैन । यो सफलता र उचाइ देखेर हामीलाई खुट्टा तान्ने र गलत भनेर आफू राम्रो बन्ने कोसिस गरिरहेका छन् । जो मान्छेले हाम्रो प्रगतिमा डाहा गरिरहनु भएको छ, उहाँहरूले सिद्ध्याउन खोजेका छन् । ती मानिसले हामीलाई पैसा खायो र भ्रष्ट्राचार गर्‍यो नभनीकन उनीहरू आफू राम्रो हुन कसरी सक्छन् र ? विश्वास हराएपछि मान्छेले कि सिद्ध्याउने कि मिल्न आउने हो । मिल्ने नेचर र चेतना नभएपछि सिध्याउन लाग्ने हो । नेगेटिभ चेतना भएका मानिसले गरेको प्रयास मात्र हो । यो मिडियामा आएका कुरा हुन् । नेपालको अध्ययनशील मिडियाले हाम्रो गल्ती कहीँ पनि भेट्दैन । तर हामीभित्र पनि सबै मान्छे राम्रा मात्र छन् भनेको चाहिँ होइन । एउटा फूलबारीमा केही गन्ध आउने फूलहरू पनि हुन्छन् । काँडाका फूलहरू पनि हुन्छन् । त्यो गन्ध आउने फूल र बास्ना आउने फूल छान्न केही समय लाग्छ । अब त्यो सुन्दर फूल छान्ने मालीहरू तयार गर्दैछौँ । रास्वपाभित्र गन्ध आउने फूल नपर्लान् भन्न सकिन्न, समय आउँदै छ । त्यो गन्ध भएको फूल हटाउने हाम्रो नेतृत्वमा तागत छ ।

यहाँले समय आउँछ भन्नु भयो । यहाँलाई नै समानुपातिक सांसद बन्न पैसा बुझाएको भनेर आरोप लागेको छ नि ? याे कुराले त यहाँलाई पनि त असर गर्छ नि हैन ?

म माथि लागेको कुनै पनि आरोपको खण्डन गर्ने सक्ने अवस्थामा छु । मसँग हाँसेर खण्डन गर्ने सक्ने क्षमता छ र म त्यो क्षमता राखिरहन्छु । गलत छैन समाजलाई विश्वस्त बनाउन म तयार छु । आज मात्र हैन हिजो र भोलि पनि समाजलाई हानी गर्ने परिवारलाई हानी गर्ने काममा म लाग्ने छैन र लागेको पनि छैन । यो कुरा मैले भनेको होइन भनेर ढाका जीले पनि साथीहरूसँग भनिसक्नु भएको छ । हामी देशलाई बिगार्ने र दाग लगाउने तत्त्वलाई हामी हटाउने खोजिरहेका छौँ । म गलत छैन । हामीले रकम लिएको छैन । न कसैसँग डिल गरेका छैन । बरु हामीले सहयोग गर्न मन भएका साथीलाई सार्वजनिक रूपमै भनेका छौँ । तर कसैलाई मन्त्री बनाउन सांसद बनाउन पैसा लिएको भन्ने कुरा गलत हो । यो पुष्टी गरेर देखाउन सक्नु पर्छ ।

तपाईँको सभापतिले पासपोर्टको निस्सा त्याग नगरेको भनेर सर्वोच्च अदालतमा फेरि मुद्दा दर्ता भएको छ । तपाईँहरूले कानुन मिच्दै हुनुहुन्छ ?

पार्टी सभापतिमाथि लागेकाे मुद्दाबारे चिन्ता लिनुपर्ने छैन । गल्ती गरेको छैन । अमेरिकाको पासपोर्ट र नागरिकता लिएको पनि हो । यसका सबै डकुमेन्ट छुटेको भए नेपालको कानुनले भनेअनुसार दिने कुरा भइरहेको छ । फेरि चुनाव हुने हो कि भन्ने भाष्य छ त्यो कदापि हुँदैन । हाम्रो सभापतिले निस्सा त्यागे, त्यागेनन् । पासपोर्ट लिए, लिएनन् । भिसा लिए, लिएनन् भन्ने कुरा सम्बन्धित निकायलाई बुझाउने काम गरेका छन् ।  तर मुद्दा मामिला गरेर हामी र देशलाई दु:ख दिने काम भएको छ । सभापतिको कारणले देशको भूगोल संस्कृति र राजनीतिलाई कुनै असर गरेको छैन र गर्ने पनि छैन तर उहाँमाथि जो खनियो जो आफू गलत भए पछि अरूलाई सिद्ध्याउन गरिएको खेल मात्र हो । पासपोर्ट त्यागेको निस्सा नबुझाएको भनेको छ । अमेरिकाको पासपोर्ट त्यागेको निस्सा जिल्ला प्रशासन कार्यमयलाई बुझाइँदैन । यो त अध्यागमन विभागमा बुझाइन्छ । यो २०१८ सालमा नै अध्यागमन विभागमा बुझाइएको छ । त्यो कुरा पटक पटक बहसमा आएको छ । सर्वोच्च अदालत आफैँले निर्णय गरेको कुरामा यो उल्लेख छ । तीन दिनअगाडि पनि उहाँले आफूसँग भएको कपि समेत सर्वोच्च अदालतमा बुझाउनु भएको छ । जिल्ला प्रशासनले जे जे मागेको थियो त्यो कुरा दिइसकेको छ । हामीलाई सक्ने खेलमा मान्छे लागेकोभन्दा पनि कुनै पार्टी तथा समूह लागेको होलान् हामी जनताको काम गर्ने हो । हामीलाई कसैले गलत वा सही भनेर केही हुने छैन । हामीसँग भएको चिज दिने हो । हामीलाई मुद्दा मामिलामा तनाव भएन । यो कुरा मिल्यो अब रविको काण्ड सकियो भनेर नबुझ्नु होला रास्वपालाई यस्तो आइरहन्छ । यस्तो खेप्न हामी तयार छौँ । हामी को हो भन्ने कुरा जनता र हामीलाई थाहा छ । त्यो कारण कसैसँग प्रतिवाद गरेर बस्ने समय छैन । यो केश यहाँभन्दा अगाडि जाँदैन । केही पनि हुँदैन । अब छिट्टै हामी विन्दवासिनी कंसकारलाई पनि संसद बनाउँदै छौँ । २१ सांसदका साथ संसदमा उपस्थित हुने छौँ ।

रास्वपाका बारेमा किन बेला-बेला गलत कुराहरू बाहिर आइरहन्छन् नि ?

७० वर्षदेखि भ्रष्टाचार गरेर लुटेर आफ्नो परिवार आफन्त पालेर आएको राजनीतिक दलले जनताको काम गर्न आएका दललाई काम गर्न दिन्छन्  र ? भ्रष्ट र कुकाममा लागेका मान्छेले अरूको प्रगति देख्न सक्दैन । समाज यसरी हुर्किएको छ । पार्टीहरू जुन नीति र सिद्धान्तमा जन्मिएका थिए अहिले भएका नेताहरू त्यो नीति र सिद्धान्तभन्दा फरक छन् । रास्वपाले विभिन्न केसहरू खोलिरहेको छ । भुटानी शरणार्थीको केस पनि रास्वपाले नै खोलेको हो कुनै दिन यसको व्याख्या गरौँला । यो एउटा फाइल हो । यस्ता दर्जन फाइलहरू छन् । यस कारण दलहरू भित्रभित्रै गुम्सिएर डराएर बसेको अवस्था छ । सदनमा पनि सबैको अनुहार हामीतिर मात्र हुन्छ । यिनीहरूले के गर्छन् के बोल्छन् के उठाउँछन् भनेर तर्सिएका छन् । सदनलाई इभेन्टको रूपमा हेर्नुपर्छ भन्ने हाम्रो माग छ । यस्ता यस्ता कुराहरू गरेपछि हामीलाई आरोप नलागे कसलाई लाग्छ त ? तर, जनताको आजको आवश्यकता भनेको रास्वपासँग केही छ । जे जस्ता आरोप लगाए पनि रास्वपालाई राजनीतिक दल मिडिया, समूह, कसैले पनि सिध्याउन सक्ने छैन । सबैले इमानदारीताका साथ जनताहरूले यो देशमा के खोजेको छ । त्यसबारे सोच्न जरुरी छ । जनताको अपेक्षा रास्वपासँग छ । यो कुरा मिडियाले पनि बताइदिनु पर्छ । पहाडी, हिमाली क्षेत्रमा आज पनि पुरानै समस्या छ । मान्छेको खुट्टामा चप्पल छैन । अस्पतालमा बेड छैन । खानेपानी छैन । स्कुलमा बच्चा भर्ना गर्ने पनि पाएका छैनन् । राज्यबाट पाउनु अधिकार खोसिएको छ । सरकार भएर पनि बेवास्ता छ । यस्ता कुरा हामीले उठाउँदा अरूलाई टाउको दुखेर हामीलाई मिथ्या आरोप लाग्छ भने हामी सामना गर्ने तयार छौँ ।

भुटानी शरणार्थीको विषयमा संसदमा विशेष समिति बनाएर छानबिन गर्नुपर्छ भनेर यहाँहरूले आवाज उठाइरहनु भएको छ यसको सुनुवाइ होला त ?

हामी प्रतिपक्षमा छौँ । त्यो कारण हामीले गर्ने यही नै हो । हामी कोसिस गर्दै छौँ । छानबिन समिति बनाउँदा आफू पनि फसिन्छ भनेर कतिपयले नबनाऊँ पनि भन्लान् । नफस्नेले नबनाऊँ भन्लान् । समय लाग्छ हामी कोसिस गरिराखेका छौँ । पार्टीहरूमा आएका नामहरू हेर्दा कोही पनि चोखो छैन जस्तो देखिएको छ । यो विषयमा हामीले पहिलादेखि नै आवाज उठाएका थियौँ । कि सबै पुराना फाइल खोलौँ भनेर । टेकनाथ रिजालले भ्रष्टाचार गरेको होला भनेर कसैले सोचेको थियो र तर आज समातियो । यो कारण यसभित्र व्यापक चलखेल छ भन्ने स्पष्ट छ । भ्रष्टाचार कहाँ र कोबाट भएको छ भन्ने सबै थाहा छ । हामीले थाहा पाएका छौँ । बिस्तारै खोलिँदै जान्छ । हामी एउटा प्रयासमा छौँ । यस्ता फाइल धेरै खोल्नुपर्ने छ । युटिएल, स्मार्ट सेलका फाइल पनि खोल्नु पर्ने छ । ती फाइल खोल्दा पूर्व प्रधानमन्त्री जस्ता पदमा रहेका मानिसहरू कतुर्त पनि पर्न सक्ने सम्भावना छ कि को र कस्ता मान्छे फस्छन् त्यो पछि थाहा हुन्छ ।

शरणार्थी प्रकरणका जस्तै अन्य फाइल खोल्यो भने पूर्वप्रधानमन्त्रीको कतुर्त पनि खोलिन सम्भावना छ भन्नुभयो । यो फाइल अहिले किन खोल्न सक्नुभएन अथवा चाहनु भएन ? फाइल खोलिन्छ भनेर नै तपाईँहरूलाई सरकारमा नलगिएको हो ?
अब सरकारमा किन लगिएन भन्ने कुरा चाहिँ उहाँहरूको विषय हो । हामीले ४६ सालपछिको सबै फाइल खोलौँ भनिरहेका छौँ । हामीले सरकारमा जाँदा पनि यो कुरा गरेकै हो । हामीलाई पछिल्लो समय सरकारमा नलगिएको कारण उहाँहरूलाई नै थाहा होला । तर हामी सरकारमा नगएको कारण चाहिँ अरू पनि छ । जुन कुरा जनताको पक्षमा छन् । अहिलेको सरकारमा गएर जनतालाई कति डेलिभरी दिन सक्छौँ भन्ने पनि हेर्नु पर्छ । जनताको काम गर्न नसक्ने मन्त्रालयमा गएर फाइदा पनि छैन । फाइल खोल्ने कुरामा अहिले हामी खोल खोल भन्छौँ । उनीहरूले खोलेनन् भने एक दिन हामी आफैँ खोल्ने छौँ ।
त्यो एक दिन कहिले आउँला त ?
समय टाढा छैन । काम गर्न दिनुहोस् न । समय नजिकिएको छ । तपाईँ हामीले देख्न भोग्न पाउँछौँ ।
सरकारमा जान चाहे पनि गृह मन्त्रालय नपाउँदा यहाँहरू जान पाउनु भएन बाहिर बसेर जनताका काम गर्न सकिन्छ त ?
जनताले आज पनि सुरक्षा र सुशासनको प्रत्याभूति गर्न पाएका छैनन् त्यो हामी जनताको सुरक्षा र सुसंस्कार स्थापना गर्न हामी गृहमा जान चाहेका छौँ । रास्वपा पार्टी जन्मिएकै गृह मन्त्रालय चलायमान बनाउनका लागि हो । यो देशमा सुशासन गृह मन्त्रालयबाट मात्र सम्भव छ । तर हाम्रो टार्गेट गृहमा मात्र होइन प्रधानमन्त्रीमा पनि हो । हामी अरू केही गर्न चाहँदैनाैँ । देश बनाउन चाहन्छौँ । म श्रम मन्त्री भएँ, मलाई श्रम मन्त्री हुन ठुलो कुरा थिएन । मलाई पर्यटन मन्त्रालय लिएर नेपाल एयरलाइन्सलाई जोगाउने रहर थियो । हामीमा काम गर्ने हुटहुटी छ, मन्त्री हुने हुटहुटी छैन । हामी मन्त्री पदलाई महत्त्व दिने पक्षमा छैनाैँ । सुशासनको लागि गृह मन्त्रालयबाट सुरुवात गर्नुपर्छ भन्ने हाम्राे धाराणा छ । अब रास्वपाले एकलौटी सरकार बनाउँछ । दुई तिहाइ मत ल्याएर जनताको आजको आवश्यकता संविधानले वाचा गरेको कुराहरू पूरा गर्नुपर्छ । नेपाललाई नेपालजस्तो बनाउनु छ । औचित्य नभएको कुरा नेताहरूले गरेर काम छैन । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर’ भनेर बुढा पाकाले भनेको जस्तो गर्नु नै छैन । हामी क्रिटिकल बेसमा गएर काम गर्न चाहेका छौँ । भन्ने होइन गरेर देखाउने चरणमा छौँ । सरकार बाहिर भए पनि हामीले निरन्तर खबरदारी गरेर सरकारलाई जनताको हितमा काम गर्न लगाउने छौँ । हामी जनताको दुःखसुखका कुरा सडक र सदनबाट पनि उठाउने छौँ । केही समय मन्त्री भएर मात्र जनताको आशा पूरा गर्न नसकिने रहेछ ।
वर्तमान सरकारको आयु छोटो देखेर यसो भन्नु भएको हो ? फरक नीति र सिद्धान्त भएका दलहरू मिलेर बनेको सरकार टिक्ने सम्भावना कस्तो हुन्छ ? यहाँ त सरकारमा पनि जानु भएको थियो ?
अहिले हामी सरकारमा छैनाैँ । सरकार ढाल्ने र जोड्ने खेलमा हामी छैनाैँ । अहिले जो जो मिलेर सरकार बनाउनु भएको छ । उहाँहरूको सम्बन्ध राम्रो भयाे भने टिक्ने हाे । कुनै अरू पार्टीले चाहेर ढाल्ने भत्काउन कुरा हुँदैन । फरक दल भएकाले सबैको विचार मिल्दैन । विचार नमिलेपछि मन्त्रालय–मन्त्रालयको जनसम्पर्क हुँदैन । त्यो कारण जनताले दुःख पाउँछन् । मैले पहिलो मन्त्रिपरिषद् बैठकमा यो कुरा प्रधानमन्त्री पुष्पकमल दाहाललाई राखेको हो । मन्त्रालय मन्त्रवालबिचको जनसम्पर्क राम्रो गराउँ भनेर भनेका थियाैँ । सबै मन्त्रालयको जनसम्पर्क राम्रो भयो भने कार्यकारी प्रधानमन्त्री भएको देशमा चाहाना भयो भने समन्वय गराउन सकिन्छ ।
यहाँहरू एमालेतिर मिलेको भन्ने कुराहरू पनि आएका छन् नि ?
यो कुरा सरसर गलत हो । रास्वपा कोहीसँग ढल्किएको छैन । रास्वपा ढल्किएको छ भने जनतासँग मात्र ढल्किएको छ ।
उसो भए यही कार्यकालमा यहाँहरू फेरि सरकारमा जाने सम्भावना छैन त ?
अब चार वर्ष बाँकी छ, यस कारण यही नै जाँदैनौँ भन्न मिल्दैन । देशलाई आवश्यक पर्याे भने जाने कुरा पनि हुन्छ । चौथो ठुलो राजनीतिक दल भएकाले देश नै अनिर्णयको बन्दी बन्ने अवस्था आयो भने लथालिङ्ग भयो भने हामी हेरेर बस्न सक्दैनौँ । तर अहिले हामी त्यतातिर लागेको छैन । त्यो हाम्रो प्राथमिकताको विषय होइन ।
आउने निर्वाचनमा यहाँहरू बहुमतसहितको देशको पहिलो दल भएर संसदमा उपस्थित हुन्छौँ भनेर भनिरहनु भएको छ, यसका आधारहरू के के हुन् ?
जनतालाई काम गर्ने पार्टी रास्वपा चाहिएको छ । सुशासन र परिवर्तन जनताले चाहेका छन् । जनताको मन र अपेक्षा हामीसँग छ । सुशासन र समृद्धिसहितकाे परिवर्तन गर्ने लक्ष्य छ । भ्रष्टाचारविरुद्ध हामीहरू लागेका छौँ । पार्टी स्थापना गरेको पनि यसैका लागि हो । हामी नडग्मगाइकन काम गर्छाैँ । र अबको परिणाम के हुन्छ, त्यो परिणाम आएपछि तपाईँहरूसँग फेरि बसेर कुरा गरौँला । पाँच वर्षको परिणाम हाम्रो पार्टीको लागि महत्त्वपूर्ण र गैरवशाली हुने छ । दश महिनाअगाडि बगैँचामा बिरुवाहरू रोपिएको छ अब त्यो बिरुवा हुर्किरहेका छन् । देशमा समस्याको चाङ र ७० वर्षको फोहोरबाट एउटा सानु सुनको औँठी निकाल्न खोजिरहेका छौँ । यसमा जनताको साथ चाहिन्छ । जनताले टेस्ट गर्नलाई रास्वपाबाहेक अरू पार्टी छैन । किन हामीलाई टेस्ट गर्नेभन्दा एक पटक हामीलाई विश्वास गरेर मतदान दिने र पाँच वर्ष रास्वपालाई सरकार चलाउन दिने अनि रास्वपाले के गर्छ काम गर्न दिनुपर्छ । समस्याको चाङबाट हामी आएको हुनाले जनताको ठुलो साथ र अपेक्षा छ हामी यसलाई ठाउँमा पुगेर गर्छौँ । कायापलट काम गर्ने देशको कार्यकारी प्रधानमन्त्री हुनुपर्छ त्यो कारण जनताले हामीलाई अबको निर्वाचनमा विश्वास गर्नुहुने छ । अन्य पार्टीले राज्यलाई दोहन गरे हामी यो गर्न दिने छैन । जनताले आफूलाई नै एक पटक विश्वास गर्ने बेला आएको छ । रास्वपा यतिकै जन्मेको छैन । अब हामीले १५ वर्ष काम गर्न पायौँ भने ७० वर्षमा देशले नपाएको विकास गर्छाैँ ।
तपाईँहरूको बाचा पत्रमा भएका कुराहरू वर्तमान सरकारले नीति तथा कार्यक्रममा समेटेको छ ?
हाम्रा कुराहरू धेरै हदसम्म नीति तथा कार्यक्रममा परेका छन् । तर पर्नु कुरा महत्त्वपूर्ण होइन कार्यान्वयन हुनु कुरा महत्त्वपूर्ण हो । कार्यान्वयन पाटो हेर्छौँ । हामी यसको लागि एक एक कुरा हेर्छौँ । हामी यो नीति तथा कार्यक्रम पनि नकारात्मक छैनौँ । नीति तथा कार्यक्रम १० वर्षको एक ठाउँमा राखेर हेरे पनि त्यसमा खासै फरक पाउनु हुन्न ।
सन्तुष्ट हुनुहुन्छ यो नीति तथा कार्यक्रम प्रति ?
हालको नीति तथा कार्यक्रममा भएका कुराहरू ५० प्रतिशत मात्र कार्यान्वयन हुन सक्यो भने हामी सन्तुष्ट हुन्छौँ । देशको स्रोत र साधनले भ्याउने सम्म गर्ने सक्यो भने पनि राम्रो हुन्छ । केही पार्टीले पुनःलेखन नै गर्नुपर्छ । यो खत्तम हो भन्ने गरेको पाइयो तर हामी त्यो पक्षमा छैन । अरूले ल्याएको नीति तथा कार्यक्रम पनि तुलना गरेर हेरेका छौँ । कार्यान्वयन भए यो पटकको राम्रो नै छ । अर्काे वर्ष भयो भएन हामी समीक्षा गर्ने छौँ । कानुनले समीक्षा सहितको नीति तथा कार्यक्रम ल्याउन कहीँ पनि रोकेको छैन । अब हामी यो बानीको पनि विकास गर्नेछौँ । पहिले भएको थिएन अब हामी जस्ता नयाँ साथीहरू आएका छौँ । यसलाई अभ्यास गर्छौं । गत निर्वाचनको संसद र अहिलेको संसद हेर्दा पनि थाहा हुन्छ कति परिवर्तन र कति विकास भएको छ भनेर । सरकारले नीति कार्यक्रम कार्यान्वयन गरेन भने सदन, आवश्यक परे जनताको साथमा जान पनि हामी तयार छाैँ । हाम्रो चाहाना राजनीति गर्नु होइन देश बनाउनु हो ।
यहाँहरू पार्टी निमार्णका लागि देशव्यापी अभियानमा हिँडिरहनु भएको छ । कस्तो छ, देशमा रास्वपाकाे जनलहर ?
संगठन विस्तार हिँडेका बेला जनताको ठुलो अपेक्षा छ । विश्वास घात नगर्नेका लागि धेरै काम गर्नु पर्ने छ । इमानदार भएर हिँड्नुपर्ने छ । सभापतिको देशभर माग छ । उहाँलाई देशभर लानुपर्ने छ । अनलाइनमा सदस्यता दिने सिस्टम भएकाले देश विदेशबाट लिइरहनु भएको छ । दीनमा १० हजार जति सदस्यता आउँछ ।
रास्वपाका जो कोहीलाई प्रवेश मनाइछ भन्छन् नि हो ? व्यक्ति पनि हेरेर दिनु हुन्छ ?
सदस्यतामा त्यस्तो होइन । सदस्यता लिन नेपालको कानुनले दिए मापदण्ड अनुसार पाइन्छ । कुनै मापदण्ड छैन । नेतृत्वमा बस्ने साथीहरू र विभागीय जिम्मेवारी, समितिको जिम्मेवारी लिने साथीहरूको चाहिँ आर्थिक अवस्था, पारिवारिक अवस्था, सामाजिक अवस्था हेरेर मात्र दिन्छौँ । उहाँहरूको हितको लागि नै यसो गरेको हो । भोलि राजनीतिमा आएर उहाँको अवस्था नबिग्रियोस् भनेर गरेको हो । यस्तो बुद्धि रास्वपा जस्तै अन्य पार्टीले गरेको भए देश आज यस्तो अवस्थामा पुग्ने थिएन ।
रास्वपाका आगामी योजनाहरू के के छन् ?
पार्टी संगठन बिस्तार गर्ने याेजना छ । त्यस्तै जनतालाई सुसूचित गर्छौं । अबको हाम्रो राजनीतिबारे चेतना दिन्छौँ । देशभरि परेका समस्याहरूको समाधानका लागि २१ जना सांसदले सदनबाट आवाज उठाउने तयारीमा छाैँ । कुनै पनि ठाउँबाट जनताको समस्याका बारेमा बोल्छौँ र गर्छौं । सरकारी कार्यालयमा जनताका रोकिएका फाइलहरूको काम पनि हामी गराएर जाने छौँ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *