दुई दिन कृषि जमिन सम्म्याउन अनुमति, ४ महिनासम्म फेवाताल पुर्दा पनि भएन कारबाही

पोखरा । महानगरपालिकाले २०७९ फागुन २ गते देवेन्द्र केसीलाई कृषि प्रयोजनका लागि डोजर चलाउन अनुमति दियो । वडा नम्बर २४ का अध्यक्ष भरत अधिकारीले पनि सोही प्रकृतिको अनुमति दिएका छन् । दुई दिनका लागि दिइएको अनुमति अहिलेसम्म सकिएको छैन । ४ महिनासम्म डाँडा खारेर फेवातालको सिमसार पुर्दा पनि सरोकारवाला चुपचाप छन् ।

तालको सिम क्षेत्र रातारात पुरिएको छ । रातको समयमा व्यापारीहरूले डोजर लगाएर पुरेका हुन् । कृषि प्रयोजनका नाममा अनुमति लिएर घडेरीका रूपमा जमिन सम्म्याउने र प्लटिङको तयारी गरिएको छ । वडाध्यक्षको अनुमतिबाट सिम क्षेत्र पुरिएको हो । जलाधार क्षेत्रमा सधैँ डोजर चल्दा पनि सरोकारवाला निकायले वास्ता नगरेका भन्दै नागरिक समाजले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

फेवातालको माथिल्लो तटीय क्षेत्रको हरियाली डाँडा खारेर सिमसार क्षेत्र पुरिँदै आएको भन्दै नागरिक समाज कास्की र वातावरण संरक्षणका लागि महाअभियान कास्कीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई संयुक्त विज्ञप्ति बुझाएका हुन् । तत्काल सिमसार क्षेत्र पुर्ने काम रोक्न प्रदेश सरकारले एक्सन लिनुपर्ने अभियानकर्मी रामबहादुर पौडेलले बताए । उनका अनुसार फेवातालको सिरानतिर डाँडा खारेर सिम क्षेत्र पुर्ने काम गरिएकोले तालमा गम्भीर असर परेको छ ।

२०३१ सालसम्म फेवातालको पानीको भूभाग पामे नजिकैको चंखपुरसम्म फैलिएकोमा अहिले निकै घटेको छ । फेवा र ९ ताल समेटेर रामसार सूचीमा सूचीकृत पोखराका तालहरू पछिल्लो समय झन् संरक्षण हुन सकेको छैन । फेवाको उपल्लो तटीय क्षेत्रबाट ढुंगा, माटो र गेग्रानहरुले पुरिएको छ । सरकारले तालको संरक्षण र विकासका लागि पुण्य पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । समितिले तालको सीमाना एकिन गरेर सरकारलाई सिफारिस गरिसकेको छ । तर, सिमसारको अतिक्रमण रोकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *